७ वैशाख २०८१ शुक्रबार
समाज

'सबै अधिकार गाउँमै आउँछ रे'

जाजरकोट- अर्छानी ८ तांगाचौरकी सरस्वती शाहीलाई कहिले स्थानीय तहको चुनावमा भोट हाल्न  निकै हतार भएको छ। निर्वाचन मिति घोषणा भएपछि जिल्ला परिषद् स्थगति हुँदा आफूलाई चिन्ता लागेको उनले बताइन्। तर तोकिएकै समयमा चुनाव हुनुपर्ने  उनको माग छ। जिल्ला परिषद् नगरेर चुनाव पनि नगरी  जनतालाई झुक्याउने हो कि भन्ने चिन्ता लागेको उनले बताइन्।

झाप्रा ८ सल्लीभीरका नरबहादुर वली पनि  चुनाव भए सबै अधिकार गाउँमै आउने भएकाले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताउँछन्।

उनले भने, 'चुनाव भए सानो कामका लागि पनि एकदुई दिन हिँडेर सदरमुकाम जान पर्दैनथ्यो कि?' उनले सबै अधिकार गाउँमै आउँछ भन्ने हल्ला सुनेकाले आफूलाई भोट हाल्न हतार भएको बताए।

 सरस्वती र नरबहादुर मात्र होइनन् जिल्लाका अधिकांश बस्तीका बासिन्दा चुनाव भए सरकारी सेवाका लागि सदरमुकाम र  सहरतिर धाउनु नपर्नेमा आशावादी छन्।

'स्थानीय तहको चुनाव भएपछि जनताले धेरै अधिकार गाँउमै पाउँछन् रे, त्यसैले नेताले समयमै चुनाव गराउनुपर्‍यो',  भेरीमालिका  १ मैदेका डन्डवीर रानाले  भने। उनले  जनताकै लागि भनेर लडाइँ गर्ने नेताहरूले अब चुनाव तोकेकै मितिमा गराउँछन् कि गराउँदैनन् हेर्न  बाँकी रहेको बताए।

सर्वसाधारण स्थानीय निकायमा आफ्ना प्रतिनिधि नहुँदा निकै दुःख पाएकाले चुनाव छिट्टै भइदिए धेरै राहत मिल्ने आसमा छन्। 'जनताले पाएको दुःखको अनुभूति भए नेताहरू गम्भीर भएर समयमै चुनाव गर्न जुट्लान्', रामीडाँडा आगरकी देवी ज्योतिले भनिन्। 

गाविस सचिव पनि चुनाव भए ठूलो बोझ घट्ने बताउँछन्।  गाविसको कार्यालयमा कार्यरत सचिव  टीकाराम रावतले समयमै चुनाव भए ठूलो तनावबाट मुक्ति मिल्ने बताए। 'जनप्रतिनिधि नहँुदा एकैजनाले दुईतीन गाविस हेर्नुपर्छ,  कसरी जनताको काम सजिलै गर्न सकिन्छ?' उनले भने।

जनताका प्रतिनिधि नभएर आफूहरूलाई काम गर्न निकै समस्या परेको र जनताले पनि गतिलो सेवासुविधा पाउन नसकेको उनको अनुभव छ।

प्रकाशित: २४ फाल्गुन २०७३ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App