१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नृत्यमा रमाउँदै रोमा

काठमाडौं-गएको आइतबार नृत्यांगना रोमा न्यौपाने निकै हतारोमा थिइन् । अन्तर्राष्ट्रिय नारी दिवसका दिन पर्वतमा आयोजना हुने महोत्सवमा जानु थियो उनलाई। उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सम्मानित हुन लाग्दा रोमामा नयाँ किसिमको उत्साह देखिन्थ्यो। ‘गाउँमा हुने मेला महोत्सवमा सहभागिता जनाउँदा छुट्टै किसिमको खुसी लाग्छ,’ आठ वर्षको उमेरदेखि एउटा खुट्टाले नृत्य गरिरहेकी रोमाले भनिन्, ‘गाउँमा मजस्तै अपांगहरू छन्, उनीहरूको अगाडि आफूले प्रस्तुति दिँदा उनीहरूमा नयाँ जोस आओस् भन्ने मेरो चाहना हो ।’

आठ वर्षअघि सडक दुर्घटना नभएको भए सायद रोमा कला क्षेत्रमा आउने थिइनन् । ‘त्यो दुर्घटनापछि नै मेरो जीवन बदलियो,’ २९ वर्षीया उनी दुर्घटनालाई सकारात्मक रुपमा लिन्छिन्, ‘दुर्घटनापछि ६ महिनासम्म कोसी अञ्चल अस्पतालमा बस्नुप¥यो । त्यसपछि झन्डै एक वर्षसम्म घरमै बसेपछि मलाई नृत्यमा रहर जाग्यो । त्यो दुर्घटना नभएको भए सायद म कसैको घरमा गृहस्थ जीवन बिताइरहेकी हुने थिएँ ।’

इटहरीको जनता मावि कक्षा १ मा पढ्दै गर्दा रोमा सडक दुर्घटनामा परिन् । दुर्घटनामा एउटा खुट्टा गुमाएपछि उनी घरमै बस्न थालिन् । आमाको चियापसल थियो भने बाबु गाडी चलाउँथे । घरमा उनीसहित ६ दिदीबहिनी । सुरुसुरुमा परिवारका सदस्यले उनको स्याहारमा ध्यान दिए । पछिपछि भने सबै घरबाहिरकै काममा व्यस्त हुन थाले । एक्लै हुँदा उनी बैसाखीको सहारामा घरायसी काम गर्थिन् । 

‘घरको काम छिटो गर्थें । काम सकेपछि टेलिभिजन हेर्ने, रेडियो सुन्ने गर्थें । टेलिभिजनमा अरु नाचेको देख्दा म पनि कुनै दिन यसरी नै टेलिभिजनमा देखिन्छु भन्ने कल्पना गर्थें, अनि रेडियो र टेलिभिजनमा आएका गीतमा नाच्ने कोसिस गर्थें,’ उनी भन्छिन्, ‘खाट र पलङ समातेर नाच्थें । नाच्न सिक्दा कतिपटक लडें, भनिसाध्यै छैन ।’

एसएलसी दिएपछि उनी काठमाडौं आइन् । एक संस्थामार्फत कम्प्युटरको तालिम लिइन् । तालिम लिइरहँदा एक साथीले रोमाको नृत्य गर्दै गरेको फोटो फेला पारे । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको एक सांगीतिक कार्यक्रमका आयोजकको हातमा त्यो फोटो पुगेछ ।

त्यसपछि उनले प्रतिष्ठानको कार्यक्रममा नृत्य गर्ने अवसर पाइन् । दर्शकले भरिभाउ हलमा ‘गुराँस फूल्दा वनै रमाइलो’ बोलको गीतमा कम्मर मर्काइसक्दा उनलाई सबैले तारिफ गरे  । ‘ढाकाटोपी लगाएका अगुवा व्यक्तिले टाउकोमा हात राख्दै आशीर्वाद दिए,’ उनी सम्झन्छिन् ।

त्यसपछि उनले केशव सापकोटालाई गुरु मान्दै स्टेज कार्यक्रममा नृत्य गर्ने शैली सिकिन् । झन्डै १५ वर्षअघि नेपाल चलचित्र कलाकार संघले नयाँ वर्ष अवसरमा राजधानीस्थित टुँडिखेलमा कार्यक्रम ग¥यो । त्यहाँ अभिनेत्री वसुन्धरा भुसालले रोमालाई नाच्न प्रोत्साहन गरिन् । तत्कालीन इजरायली राजदूतको समेत उपस्थिति रहेको कार्यक्रममा उनले लेहेंगा लगाएर नृत्य गरिन् । लेहेंगाले खुट्टा देखिएको थिएन । उनले एउटै खुट्टाले नाचेको कुरा नायिका जल शाहले राजदूतलाई सुनाइछन् । ‘त्यसपछि राजदूतले आर्टिफिसियल खुट्टा लगाइदिने भन्दै इजरायल जाने प्रस्ताव गर्नुभयो,’ रोमा भन्छिन्, ‘इजरायलमा एक महिना बसेर खुट्टा लगाउने कामसँगै स्थानीय सांस्कृतिक कार्यक्रममा पनि सहभागिता जनाएँ ।’

त्यसयता तीन पटकसम्म इजरायल पुगेकी रोमाले हालसम्म कतार, अस्ट्रेलिया, मलेसिया, दुबईलगायत १७ मुलुकमा आफ्नो नृत्यकला देखाइसकेकी छन् । स्वदेशका प्रायः सबै जिल्लामा हुने मेला र महोत्सवमा पनि पुगिसकिन् । महोत्सवमा जाँदा आयोजकको व्यवहारबाट भने दुःखी छन् उनी । ‘आयोजकले गाडीमा यात्रा गर्न सक्ने कलाकारलाई प्लेनमा पठाउँछन्, हामीलाई चाहिँ गाडीमा यात्रा गराउँछन्, पारिश्रमिकको सवालमा पनि भेदभाव हुन्छ,’ उनले गुनासो पोखिन्, ‘तर गाउँघरमा हुने कार्यक्रममा धेरैको माया पाउँदा त्यो पीडा पनि भुल्नु पर्दोरहेछ ।’

एउटा खुट्टाले नृत्य गर्ने रोमा नेपालकै पहिलो नृत्यांगना हुन् । उनीपछि निलम ढुंगाना र रश्मी खरेल एकल खुट्टाको सहारामा नृत्य गर्न माहिर छन् ।

गाउँका छिमेकी चिरञ्जीवी पोखरेलसँग गाउँकै एक विवाहमा भेट भएपछि उनकै सहयोगमा रोमा काठमाडौं आएकी हुन् । केही समयको प्रेमपछि उनले चिरञ्जीवीसँग विवाह गरिन् । अहिले उनीहरूको आठ वर्षको छोरा छन् ।

नृत्यसँगै रोमा अभिनयमा पनि रुचि राख्छिन् । फिल्म ‘मैदान’मा अभिनेता राजेश हमालकी बहिनीको भूमिकामा उनले अभिनय गरेकी छन् । त्यस्तै, मदनबहादुर हरिबहादुर, कदम, डा. सुनिता लगायत टेलिसिरियलमा पनि अभिनय गरेकी छन् । आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनलाई अब विज्ञापनमा खेल्ने रहर छ । उनलाई युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरिसकेको छ ।

 

प्रकाशित: २५ फाल्गुन २०७३ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App