coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

वर्चस्ववादको विजय

झन्डै एक शताब्दीअघि रूसका क्रान्तिकारी नेता भ्लादिमिर लेनिनले साम्यवादलाई सोभियत शक्ति एवं पूरै देशको विद्युतीकरणका रूपमा परिभाषित गरेका थिए। साम्यवादलाई जोगाइराख्न विद्युतीकरणमात्रले नपुग्ने रहेछ। लेनिनपछि रूसमा स्टालिनको उदय भयो र साम्यवादको सुस्त तर सुनिश्चित क्षयीकरणको प्रक्रिया आरम्भ भयो। सोभियत सर्वसत्तावाद स्थापित भयो। स्टालिनवाद नामको निकृष्ट शासनव्यवस्था (क्याकिस्टोक्रेसी) आफ्ना सबै भौतिक एवं सैनिक उपलब्धिहरूका बाबजुद शताब्दी पुर्‍याउन सकेन। र, सोभियत संघको विघटन भयो। मानव सभ्यताको उत्कर्ष ठहर्‍्याइएको साम्यवादको विकृत रूप उत्तर कोरियामा अझै देख्न सकिन्छ। त्यस अपवादबाहेक साम्यवादको गुण गाउनेहरूमा नेपालका नारायणमान बिजुक्छेजस्ता समसामयिक विश्वमा अब थोरैमात्र बाँकी छन्।

एमालेको विजय अभियान ओरालो लाग्ने निश्चित छ। ओरालोको बेगले उत्तेजित तुल्याउनु स्वाभाविक हो। जोखिमचाहिँ एमाले कथंकदाचित दुर्घटनामा पर्‍यो भने त्यसको दुष्प्रभावबाट देश मुक्त रहन सक्ने छैन।

रसियाली क्रान्तिको लगभग आधा शताब्दीपछि चीनमा साम्यवादलाई पूर्णता दिन माओत्से तुङले सांस्कृतिक क्रान्तिमार्फत् 'चार पुराना' बन्धन(परम्परा, संस्कृति, आदत एवं विचार) विरूद्ध युद्धघोष गरेका थिए। राष्ट्रपति सि जिनपिङ अहिले 'राष्ट्रिय कीर्ति' भन्दै तिनै पुराना चिनियाँ चलन बेच्न व्यस्त छन्, जसका विरूद्ध माओले मुख्यालयमा हमला गर्न युवाहरूलाई अह्राएका थिए। विचाराधाराका रूपमा माओवाद अब भारतका केही जंगली इलाकाका अधिकारवादी योद्धाको परिकल्पनामा मात्र जीवित छ। नेपालका मोहन वैद्य एवं विप्लवहरूसमेत व्यवहारवादी राजनीतिमा अल्झेको धेरै भयो। माओवादका बहानामा एक दशक लामो सशस्त्र संघर्ष गरेका एकताकाका 'प्राधिकार' एवं 'प्रमुखहरू' अब सत्ताधर्मको मठमन्दिरका पन्डा र पुजारीमा रूपान्तरित भइसकेका छन्।

हिजोआज आफ्नो छोटकरी नाम 'एमाले' बाट बढी चिनिने कुनैबेलाको नेपाल कम्युनिस्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) पनि मूलतः माओवादी ऊर्जाले गर्दा नै फैलिन पाएको हो। सन् १९७० दशकका झापालीहरू सीमापारिका नक्सलीको नेपाली संस्करणजस्ता थिए। वर्ग शत्रु सफायाका नाउँमा निरर्थक हत्या र हिंसाको राजनीति गर्ने गर्थे। सन् १९८० सम्म आइपुग्दा त्यो समूह साम्यवादीभन्दा पनि तत्कालीन पन्चायत पाराको 'राष्ट्रवादी' भइसकेको थियो। सन् १९९० पछि त झन् साम्यवादको सपनासमेत परित्याग गरेर समाजवादको भ्रम बिक्री गर्न सुरू गरिसकेको थियो। लेनिनले साम्यवादलाई विद्युतीकरणसँग जोडेपछि साम्यवाद आउँछ भनेजस्तै नाजीहरूले जर्मन फासिवादलाई सहज ढंगले परिभाषित गरेका छन्। समाजवाद र राष्ट्रवादलाई सँगै राख्ने हो भने फासीवादको अवधारणा उब्जिन्छ। त्यसमा माओका 'चार पुराना' बन्धनहरू जोडेपछि फासिवादको परिभाषा पूरा हुन्छ। सुन्दा जति नै नमिठो लागे पनि एमालेले राष्ट्रवाद, समाजवाद, परम्परा, संस्कृति, धर्म, भाषा, भेषभूषा एवं जीवनशैलीलाई मिसाएर तयार पारेको एकल जातीय राजनीतिक कार्यदिशा रूप र सार दुवै किसिमले छद्म फासिवाद नै हो।

द्वितीय विश्वयुद्धपछि हाकाहाकी फासिवादी भएको दाबी अब कुनै पनि राजनीतिक समूहले गर्न सक्दैन। तर, फासिवादसँग मिल्दोजुल्दो राजनीतिक कार्यक्रमले अहिले पनि ग्रामीण एवं सहरी मध्यमवर्ग, ऋणमा चुर्लुम्म डुबेको निम्छरो पँुजीपति, तिरष्कृत सम्भ्रान्त, भुइँफुट्टा व्यवसायी, तलबजीवी कर्मचारी एवं समाजमा अटाउन नसकेका लम्पट सर्वहारालाई आकर्षित गर्न छोडेको छैन। आफ्नो जीवनको दिशाहीनता, लक्ष्यविहीनता तथा निरूद्देश्य अस्तित्वबाट उत्पन्न चरम हताशालाई यो सामाजिक प्रवर्गले सांस्कृतिक राष्ट्रवादभित्र छोप्न खोज्छ। दुनियाँका सबैजसो 'राष्ट्रवादी' जनरन्जक(डिमागग) यही प्रवर्गलाई उत्तेजित पारेर राजनीति गर्ने गर्छन्।

लेनिन एवं माओ पनि आआफ्ना कालखण्डका जनरन्जक राजनीतिकर्मी नै थिए। त्यसो हुँदाहँुदै पनि तिनलाई राजनीतिको पथप्रदर्शक मान्ने गरिन्छ। तिनले वैकल्पिक जीवनदर्शनको परिकल्पना गरेका थिए। जीवन र जगत जे छ, त्योभन्दा राम्रो हुन सक्छ। र, राम्रो बनाउन सक्ने उपायहरू छन्। कालक्रममा त्यस्ता विधिहरू विनाशकारी ठहरिए। स्टालिनवादले रूसलाई जारशाहीको क्रूरता बिर्साउने अवस्थामा पुर्‍याएको थियो। माओका 'लामो अग्रगामी छलाङ' वा 'सांस्कृतिक क्रान्ति' आफ्ना उपलब्धिभन्दा पनि विध्वंशका लागि कुख्यात छन्। त्यसको सम्पूर्ण दोष भने परिकल्पनाकारको थाप्लोमा हाल्न मिल्दैन। भविष्य अनिश्चित नै हुन्छ। राजनीतिक दर्शनको प्रयोगका जोखिम उठाउन सक्ने साहस थोरै व्यक्तिमा मात्र हुन्छ। लेनिनवाद वा माओवाद असफल दर्शन साबित भइसकेकाले तिनको प्रयोग समसामयिक विश्वमा राजनीतिक अपराधसरह ठहरिएला। जारशाहीबाट भर्खरै मुक्त भएको रूस वा वैदेशिक नियन्त्रणबाट छुट्कारा पाएको चीनमा त्यस्ता विचारधाराको आवश्यकता रहेकाले नै तिनको आकर्षणले सामान्यजनलाई सम्मोहित गरेको थियो।

जनरन्जकता भने शुद्ध प्रियतावादमा अडेको हुन्छ। अमेरिकामा डोनाल्ड ट्रम्पको सिद्धान्त उनका १४० अंक, अक्षर वा संकेतमा सीमित रहेको 'टि्वट' बाट व्यक्त हुन्छन्। तिनमा गहिरो अर्थको खोजी मुर्ख्याइँमात्र ठहरिन्छ। जनरन्जक राजनीतिकर्मीहरूले बहुसंख्यक समुदायको अन्तर्मनका शंका, डर, चिन्ता एवं व्याकुलताको आगोलाई हावा दिन्छन्। र, त्यसपछिको आक्रामकतालाई अल्पसंख्यक, तिरष्कृत, बहिष्कृत वा अन्य कमजोरविरूद्ध तेर्स्याउँछन्। संसारका लगभग सबै जनरन्जक राजनीतिकर्मीले राष्ट्रवाद, नृजातीयता, देशांकार तथा अन्य घृणालाई आफ्ना रणनीतिक कार्यसूचीको मूल आधार मान्दै आएका छन्। वर्चस्वको राजनीति जनरन्जकताको केही परिष्कृत रूप हो। गहिरो असुरक्षाभावले ग्रस्त बौद्धिक, कार्यकुशल एवं मौकापरस्त बुद्धिजीवी, नाम कनाउने हतारमा रहेका चिन्तक र विश्लेषक, छिटो प्रभाव पार्न व्यग्र साहित्यकार र कलाकार तथा प्रशंसाका भोका पत्रकार सहजै नृजातीयय जनरन्जकताको(एथ्निक डिमागगी) अग्रपंक्तिका सिपाही बन्न तयार हुन्छन्। एमालेको राजनीति एवं जनरन्जक राजनीतिकर्मी खड्गप्रसाद शर्मा ओलीको कार्यनीतिलाई वर्चस्ववादको साँचा(टेम्प्लेट) बेगर अर्थ्याउन सकिँदैन। अंग्रेजीमा 'नेटिभ कनिङ' भनिने धरातलीय धुत्याइँका उस्ताद अध्यक्ष ओलीले उखानटुक्कामार्फत् एमालेको फासिवादलाई फगत वर्चस्वको राजनीतिका रूपमा प्रस्तुत गर्न सफल भए। तर, वर्चस्वकै राजनीति पनि कम विध्वंशक हुँदैन।

विभक्ति बिन्दु

प्रत्येक भाषाका शब्दहरूको आफ्नो खास अनुभवको इतिहास हुन्छ। तिनका अव्यक्त एवं अन्तर्निहित अर्थ पनि हुन्छन्। त्यसैले भनिएको होला, जस्तोसुकै अनुवाद पनि सन्निकट अनुमानमात्रै हो। अंग्रेजी भाषाको 'क्राइसिस' अभिव्यक्तिलाई सामान्यतया 'संकट' भनेर अर्थ्याइन्छ। तर, क्राइसिस नाजुक मोड वा संगीन अवस्थामात्रै होइन। म्याकियाभेलिले उहिले नै राजनीतिकर्मीलाई असल संकटले ल्याउने अवसरलाई खेर नफाल्न सल्लाह दिएका थिए। दक्षिणमा मुग्लानको विघटन एवं उत्तरतिर चिनियाँ सम्राजको स्खलन हिमालवारपार व्यापारमा आधारित तत्कालीन नेपाल उपत्यकाका लागि संकटको समय थियो। महत्वाकांक्षी गोर्खाली राजा पृथ्वीले त्यस विपदालाई आफ्नो राज्य विस्तारका लागि प्रयोग गरे। दरवारको संकटलाई तरवारले साम्य गरेर नेपालको इतिहासमा राणाशाहीको उदय भयो। शीतयुद्धको संकटले राजा महेन्द्रलाई गोर्खाली शाह परिवारको 'स्वर्ण युग' बनाउन सघायो। यस्ता सबै जोखिमपूर्ण राजनीति(पोलिटकल ऐडभेन्चरिज्म) प्रायः व्यक्तिप्रधान हुने गर्छ। ट्रम्पबेगरको 'ट्रम्पिज्म' कल्पनाबाहिरको कुरा हो।

वैचारिक निस्सारता(आइडोलजिकल भ्यक्युइटी) वर्चस्ववादी राजनीतिको मूल विशेषता हो। त्यो कुरा दबंग राजनीतिकर्मी ओलीका अस्थिर अभिव्यक्तिहरू केलाउँदा स्पष्ट हुन्छ। ती न तार्किक छन् न अतार्किक, फगत कुतार्किक! जस्तोसुकै कट्टर गणतन्त्रविरोधिका लागि पनि जनताको शासनको प्रस्तावना बयलगाडामा चन्द्रमामा पुग्ने सपनासरह हुन सक्दैन। प्रहरीले अनाहकमा मान्छे मारिरहँदा 'आँप झर्ने' जस्तो निकृष्ट उपमा कुनै पनि सद्दे व्यक्तिले प्रयोग गर्दैन।

नेपाली राजनीतिमा वर्चस्ववादी राजनीतिको लामो इतिहास भए पनि त्यसको विकृत स्वरूप ओलीमार्ग(ओलियोलजी) भएर गोर्खा महाभूकम्पको 'अवसर' छोपेर आएको हो। विचारविहीन राजनीतिकर्मीमा रहेको सन्निहित धूर्तता एवं स्वाभाविक कपटलाई प्रयोग गरेर १६बुँदे षड्यन्त्रमार्फत् विवादित संविधानको पृष्ठभूमि तयार भएको हो। संविधानको तात्कालिक अभिप्राय अध्यक्ष ओलीलाई कार्यकारी प्रमुखमा आसीन गराउनु थियो। समीप लक्ष सरकार प्रमुख आफ्नो अनुकूलको व्यक्तिलाई बनाउनु रहेको थियो। दीर्घकालीन उद्देश्य भने नेपाललाई 'असली हिन्दुस्थाना' बनाउनु रहेको छ। आफ्ना प्रारम्भिक दुई उपलब्धिबाट उत्साहित भएर दबंग राजनीतिकर्मी ओली तेश्रो कार्यसूचीलाई कार्यरूप दिन कटिबद्ध छन्।

एमालेको मेची–महाकाली अभियानलाई राजा पृथ्वीको बाँकी कार्यसूचीसँग दाँजिएको सार्वजनिक घोषणा खोक्रो दम्भ वा फगत शब्दाडम्बर मात्र होइन। जनरन्जक वर्चस्ववादको चरित्रलाई सहीरूपमा ठम्याउन दबंग राजनीतिकर्मीका सबै अतिरन्जना, कठोर धम्की एवं हावादारी दाबीहरू भावी कार्यनीतिका सुनियोजित अंग हुन् भन्ने मान्यतालाई स्वीकार गर्नुपर्ने हुन्छ। एमालेले सक्ने हो भने साँच्चै नै राजा पृथ्वीको बाँकी काम पूरा गर्नेछ। त्यति भनिसकेपछि एमालेको राजनीतिमा मधेसी, जनजाति, धार्मिक अल्पसंख्यक वा अन्य बहिष्कृत तथा तिरष्कृतका लागि कुनै ठाँउ हुने छैन भनी ठम्याउन धेरै कसरत गरिरख्नुपर्दैन। सरसर्ती 'दिव्योपदेश' पढे पुग्छ। 'असली हिन्दुस्थाना' विशुद्ध गोर्खाली सैनिकशासनको प्रारूप हो। राजा फालिसकिएकाले शासनतन्त्रमा पूर्ण नियन्त्रण भने ओलीमार्गी बाहुनहरूको हुनेछ। किनभने, संवैधानिकरूपले परिभाषित एकमात्र नृजातीय प्रवर्ग 'खसआर्य' समूहको वर्चस्ववादमा नेतृत्वको आक्रामक अग्रपंक्ति स्वत? धार्मिक, सांस्कृतिक, परम्परागत, भाषिक, शैक्षिक, समाजिक एवं आर्थिक सबै हिसाबले बाहुनका लागि सुरक्षित छ। भाग्यवाद, आफ्नो मान्छे, चाकरी एवं बाहुनवादजस्ता शब्दावली नृवंशशास्त्री डोरबहादुर विष्टले व्यापक प्रचलनमा ल्याए पनि त्यस्ता सबै प्रवृत्ति नेपालको 'गौरवशाली' परम्पराका रूपमा अद्यापि विद्यमान छन्।

वर्चस्ववादको एमाले कार्यसूचीले व्यापकता पाउँदै गयो भने नेपाली कांग्रेसको पनि खैरियत छैन। अहिले नै नेका पंक्तिभित्र लोकप्रियताको प्रतिस्पर्धा गराउने हो भने अध्यक्ष ओलीसामु शेरबहादुर देउवा टिक्न सक्दैनन्। कमोवेश त्यही हाल सुस्तरी अध्यक्ष पुष्पकमल दाहालको पनि हुनेछ। एमालेको अभियान सफल हुँदैगयो भने उनका सामु केवल तीन विकल्प बाँकी रहने छन्। कुनैबेलाका कट्टरपन्थी सीपी मैनालीजस्तै अध्यक्ष दाहाल पनि आफ्नो सानो राजनीतिक पसल थापेर एमालेलाई बाहिरबाट सघाउन स्वतन्त्र हुनेछन्। आरके मैनालीजस्तो भएर एमाले प्रवेश गर्नु अर्को विकल्प हुनेछ। र, अरू केही नभए चितवनको कुनै सानो क्षेत्रको विजुक्छे भएर राजनीति गर्नु त छँदैछ!

अहिलेका लागि एमालेको राजा पृथ्वी अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लोभलाग्दो लागे पनि वर्चस्वको राजनीतिले अन्ततः तिनलाई पनि बाँकी राख्ने छैन। पुराना पन्चहरूलाई फासिवादी राजनीतिमा एउटाभन्दा बढी दलका लागि ठाँउ हुँदैन भन्ने कुरा राम्ररी थाहा भएकै हुनुपर्छ। स्थायीसत्ताको नश्लीय चरित्रले गर्दा निशानामा अहिले मधेसीमात्रै छन्। एमालेको साम्प्रादायिक फासिवादको उन्मत्त विजय अभियान रोक्ने क्रममा कम्तीमा चार निर्दोष प्रदर्शनकारी प्रहरीद्वारा निर्मम मारिएका छन्। तर, ढिलोछिटो पालो सबैको आउने छ। धर्मनिरपेक्ष, न्यायप्रिय, समावेशिता एवं संघीयतासहितको सम्मानजनक प्रतिनिधित्वमा विश्वास राख्ने र देशको दीर्घकालीन हितप्रति समर्पित जनतान्त्रिक शक्ति अहिले चुप बस्ने हो भने निश्चित छ, फासिवादले अन्ततः कसैलाई बाँकी राख्ने छैन। जर्मन कवि पास्टर निमोलरको कालजयी कविता– 'त्यसैले म चुप रहेँ...' लघु कविताका पंक्तिहरू पढ्ने भन्दा पनि मनन् गर्ने किसिमका छन्। वर्चस्वका नाउँमा फासिवादले फणा फैलाउन लाग्दा मध्यमार्गको खोजी मझधारमा बसेर उद्धार पाउने निरर्थक आशजस्तै हो। बगाइने निश्चितप्रायः भए पनि हातखुट्टा चलाउने उपक्रमले मात्र किनारामा पुगिने आश जगाउन सक्छ।

संरचनागत बहिष्करण

सत्ता र सत्यबीच कुनै साइनो हुँदैन भन्ने कुरा धर्मराज युधिष्ठिरले 'अश्वश्थामा हतोहत...' वा भगवान् रामले छलद्वारा महाबली बालीको बध गरेर उहिल्यै देखाइसकेका हुन्। सबैखाले सत्ताले आफ्नो अनुकूल सत्य स्वयं निर्माण गर्छ। उत्तर सत्य(पोस्ट ट्रुथ) अभिव्यक्तिमात्र नयाँ हो, त्यसको सतत अभ्यासबेगर राणाशाही एक शताब्दीभन्दा बढी एवं शाहहरूको प्रत्यक्ष शासन तीन दशक टिक्न सक्ने कुनै कारण थिएन। दुवैथरि तानाशाही व्यवस्थामा मधेसीका लागि कुनै ठाउँ थिएन। अहिले पनि नेपालको स्थायीसत्तामा राणा र शाह परिवारका चाकर, तावेदार र चाटुकारहरूकै बोलवाला छ। स्वाभाविक हो, तिनले मधेस चिन्छन्, तर मधेसीलाई चिन्दैनन्। त्यसैले फासिवादी परम्परामा आधारित एमालेको नेतृत्व पंक्तिमा कुनै मधेसी छैन। मालिक 'कमरेडहरू' बाट निगाहबक्स भयो भने मनोनितसम्म हुन पाउँछन्, तर बराबरी गर्ने आँट कहिल्यै गर्न सक्दैनन्। राजनीतिक दललाई राज्यको प्रारूप(मिनिएचर स्टेट) मान्ने हो भने एमालेले कस्तो राज्यको परिकल्पना गरेको छ भन्ने कुरा त्यसको केन्द्रीय समितिबाट झल्किन्छ। त्यो एकल नृजातीय हुनेछ। त्यहाँ एक भाषा, एउटै भेष, एक धर्म, एक संस्कृति, उस्तै जीवनशैली र एकैखाले जीवनदृष्टिको वर्चस्व हुनेछ। पहाडका हिन्दु पुरेत प्रवर्गको जातीय एकाधिकारले गर्दा सत्ता स्वभावतः पुरूषप्रधान हुनेछ।

एमालेको अर्थराजनीतिलाई चाकर पुँजीवादले निर्देशित गर्नेछ। कार्टेल र सिन्डिकेटहरूले बजारभाउ तोक्नेछन्। हुन्डीका कारोबारीहरूले विदेशी मुद्राको विनिमय एवं बैंकको ब्याजदर निर्धारण गर्नेछन्। जनशक्ति निर्यात हुनेछ। उपभोक्ता अर्थतन्त्रले गर्दा सामाजिक सम्बन्धहरू पनि सुस्तरी व्यापारिक बन्दै जानेछन्। प्रश्न उठ्छ– के अहिले त्यही भइरहेको छैन? जे छ, त्यही ठीक छ भन्ने मान्यताको व्यापकताका कारण यथास्थितीवादीहरूको प्रतिनिधि दल एमाले बन्न पुगेको हो। स्थायीसत्ताले यथास्थितिलाई रूचाउँछ। विदेशीहरूले स्थिरता मन पराउँछन। साहित्यकार एवं कलाकारहरूले परम्पराका संरक्षकको गीत गाउँछन्। कसले भन्छ नेपाल संक्रमणकालमा छ? अहिले जतिको सहज अवस्था एमालेका लागि कहिल्यै थिएन। त्यसैले चक्रवर्ती अध्यक्ष ओलीको अश्वमेघ यज्ञको घोडा ६०० भन्दा बढी गाडी एवं ३००० जति सेनामेनाका साथ देश दौडाहामा छ। एमालेका प्रशिक्षित 'क्याडर' सामान्य समर्थकमात्रै होइनन्। ती लडाका मान्यताका पथावलम्बी हुन्। स्थायीसत्ताको सतत सुरक्षामा यात्रारत् त्यस विजय अभियानलाई रोक्न खोज्ने मधेसीहरू सायद सत्यका योद्धा थिए। राजनीतिमा सत्य सहिद हुन्छ र सत्ता कपटीले हत्याउँछन्।

एमाले अहिले जहाँ छ, त्यसभन्दा माथि उक्लिने ठाउँ एकल जातीय राजनीतिमा हुँदैन। त्यसैले विजय अभियान ओरालो लाग्ने निश्चित छ। ओरालोको बेगले उत्तेजित तुल्याउनु पनि स्वाभाविक हो। जोखिम के हो भने एमाले कथंकदाचित दुर्घटनामा पर्‍यो भने त्यसको दुष्प्रभावबाट देश मुक्त रहन सक्ने छैन। एमालेलाई सम्भावित अन्तर्ध्वंशबाट जोगाउन त्यस कारण जरूरी छ।

प्रकाशित: २७ फाल्गुन २०७३ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App