८ वैशाख २०८१ शनिबार
समाज

अवैध सम्बन्धले गयो ज्यान

बाग्लुङ-  अवैध सम्बन्धका कारण यहाँको एक युवाले ज्यान गुमाएका छन्। जिल्लाको पैयुँपाटाका २५ वर्षीय विनोद हरिजनले नातामा आफ्नै भाउजुपर्ने सँग अवैध सम्बन्धका कारण ज्यान गुमाएका हुन्। गत शुक्रबार पैयुँपाटामा आफ्नै ठूलो बुबा ठूली आमाको घरमा झुण्डीएको अवस्थामा मृत भेटिएका हरिजनको हत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरीले हरिजनको हत्यामा संलग्न भएको आरोपमा २६ वर्षीय नेपाली र अर्का स्थानीय टेकबहादुर थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक समेत गरेको छ। जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रमुख एसपी चन्द्रकुवेर खापुङका अनुसार आफ्नै ठूलो बुबाको छोराकी श्रीमतीसंगको अवैध सम्बन्धका कारण उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ।

‘मृतक हरिजनको सबै परिवार भारतको मद्रासमा बस्ने रहेछन्,’ एसपी खापुङले भने,‘यहाँ ठूलो बुबा ठूली आमालाई भेट्न आउने बहानामा भाउजुसंग अवैध सम्बन्ध बसेछ। त्यसैको कारण हत्या भएको देखिन्छ।’ ति महिलाको स्थानीय टेकबहादुर थापासंग पनि अवैध सम्बन्ध रहेको थापा र नेपालीले मिलेर हरिजनको हत्या गरेको प्रहरीको भनाई छ। ‘पहिले त झुण्डीएर आत्महत्या गरेको भन्ने खबर आएपछि सईसा’बको नेतृत्वमा गएको टोलीले मुचुल्का बनाएर पोष्टमार्टमका लागि अञ्चल अस्पताल पठायो,’ खापुङले भने,‘पछि तस्विर हेर्दा संकास्पद देखिएपछि थप अनुसन्धान गर्दा हत्या भएको देखियो ।’ आफ्नै भाउजुसंग नाजायज सम्बन्ध बढेपछि हरिजन बेला बखत नेपाल आईरहने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘भाउजुसंग सम्बन्ध बढेपछि नियमित रुपमा यहाँ आईरहने गरेको खुलेको छ,’ उनले भने,‘उ भारत फर्केपछि यहाँ भाउजु चाँही गाउँमै मिस्त्री काम गर्ने टेकबहादुरसंग लागेपछि यस पटक भेट्न आउँदा हत्या भएछ।’

हरिजनको जेठो बुबा जेठी आमा तातोपानी गएको बेला शुक्रबार दिउँसो देवर भाउजुबीच सामान्य झगडा भएको बताईएको छ। ‘दिउँसो सामान्य झगडा भएको भन्ने छ, त्यही कारणले मृतक हरिजनले साँझ रक्सीले मातेर आएको बेला आफुले घाँटी थिचेर हत्या गरेको आरोपी नेपालीले स्वीकार गरेकी छिन्,’ प्रहरी उपरीक्षक खापुङले भने । हत्या गरेपछि उनले थापाको सहयोग लिएर झुण्डीएर आत्महत्या गरेको देखाउन आफ्नै कोठामा सलको पासो लगाई दिएर झुण्डाएको प्रहरीको भनाई छ। ‘हत्या गरेर झुण्डाएपछि नेपालीले नै हार गुहार गरेर छिमेकीलाई बोलाएपछि प्रहरीसम्म जानकारी आयो,’ उनले भने । घटना रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय बाग्लुङका इन्सपेक्टर खड्गनारायण शाहको नेतृत्वमा गएको टोलीले हत्या भएको प्रमाण जुटाएको हो।

हत्यामा संलग्न थापाको श्रीमती र नेपालीको श्रीमान वैदेशिक रोजगारीमा मलेसिया रहेको बताईएको छ। ‘महिलाको श्रीमान चार वर्षदेखि मलेसियामा रहेको भन्ने बुझिएको छ,’ शाहले भने,‘थापाको पनि श्रीमती मलेसियामा भएको भन्ने छ ।’ ‘थापा र नेपालीको सम्बन्धमा बढ्दै गएपछि उनीहरुको सम्बन्धमा बाधक बन्न आएका हरिजनको हत्या भएको पुष्टी भयो,’ शाहले भने।

 

प्रकाशित: १ चैत्र २०७३ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App