८ वैशाख २०८१ शनिबार
समाज

दुई भूमाफियासित जनही ३५ लाख धरौटी माग

भू माफियाहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै विजयपुरका स्थानीय बासिन्दाहरु प्लेकार्डसहित जिल्ला अदालत रौतहटको मुख्य गेटमा मंगलवार धर्ना दिँदै। तस्बिरः मदन ठाकुर

रौतहट– सिंगो बस्ती नै आफ्नो नाममा पास गराउने रौतहटका दुई भूमाफियासित रौतहट जिल्ला अदालतले जनही ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ। सरकारी कागज कीर्ते गरेर ठगी गरेको आरोपमा पक्राउ परेका रौतहट हालको फतुवा विजयपुर गाउँपालिका तत्कालिन फतुवाहर्षाहा गाविसका सुरेन्द्र राययादव र नवलकिशोर राय यादवलाई अदालतले मंगलबार जनही ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो। 

भारतीय नागरिक जयन्तकृष्ण मैत्रको हदबन्दी भन्दाबढी जग्गा सरकारी करण भए पनि कानुनी आधारलाई झुक्याउँदै भू माफिया यादवद्वयले नक्कली नागरिकताको प्रमाणपत्रको आधारमा काठमाडौं जिल्ला अदालतसमेतलाई झुक्याएर सरकारीकरण भएको लक्ष्मिनियाँ गाविस वडा नम्बर २ (क) विजयपुरको कित्ता नम्बर १०८ र २४६ को २ बिघा ९ कट्ठा १३ धुर जग्गा फतुवा हर्षाहा–६ का नवलकिशोर राय यादवको नाममा पास गराएका थिए। बस्तीसहितको जग्गा व्यक्तिगत नाममा पास गराएको खबर नागरिक दैनिकमा प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले गत फागुन २ गते सुरेन्द्र र नवलकिशोरलाई कटहरीया बजारबाट पक्राउ गरेको थियो।

नक्कली कागजातको आधारमा नेपाल सरकारलाई समेत ठगी गरेको आरोपमा दायर भएको ठगी मुद्दामा जिल्ला न्यायाधीश लक्ष्मीराम ढुंगानाको एकल इजलाशले मुलुकी ऐन अदालती बन्दोबस्तको दफा ११८ को देहाय ५ र १० बमोजिम दुवै अभियुक्तसँग जनही पैतीस लाख रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला अदालत रौतहटले ठगी मुद्दामा माग गरेको यो रकम रौतहटमा हालसम्मैकै सार्वाधिक धरौटीसमेत भएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार चिन्तामणि शर्माले बताए।

धरौटी रकम जम्मा गर्न नसकेपछि आजै दुवै भू माफिया सुरेन्द्र र नवलकिशोर राय यादवलाई जिल्ला कारागार पठाइएको समेत श्रेस्तेदार शर्माले जनाए।     

अदालतमा थुनछेक मुद्दामा मंगलबार बहस चलिरहँदा विजयपुरका स्थानीय बासिन्दाहरु भू–माफियाहरु विरुद्ध कारवाहीका माग गर्दै गौरमा नाराजुलुशसमेत प्रदर्शन गरको छ। विभिन्न नारा लेखिएको प्ले कार्डसहित विजयपुरका महिला एवं पुरुषहरु नगरपरिक्रमा गरी जिल्ला अदालतको मुख्य गेटमा भुमाफियामाथि हदैसम्म कारवाहीको माग गर्दै निर्णय नहुन्जेलसम्म धर्नासमेत दिएको स्थानीय योगेन्द्रप्रसाद यादवले बताए।

 

प्रकाशित: १ चैत्र २०७३ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App