७ वैशाख २०८१ शुक्रबार
विचार

साख कमाउने मन्त्री

आफ्नो नेतृत्वको सरकार गठन भएयताका आठ महिना प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको काममा खासै गति देखिएको छैन । यद्यपि, दाहालको कार्यशैली पहिलोपटक प्रधानमन्त्री हुँदाको भन्दा केही हदमा भिन्न देखिन्छ । उनमा त्यतिबेलाजस्तो जोरजबर्जस्ती अहिले देखिएको छैन । विकास निर्माणका कामले गति लिन सकेका छैनन् तैपनि त्यसनिम्ति सरकारको इच्छाशक्ति देखिएको छ । खासगरी केही मन्त्रीहरूको कार्यक्षमता प्रभावकारी बनेका कारण सरकार धेरै अलोकप्रिय हुन पाएको छैन । विशेषगरी ऊर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गगन थापा, उद्योगमन्त्री नवीन्द्रराज जोशीका कामले सरकारलाई गतिशील बनाएको अनुभव भइरहेको छ । सञ्चारमन्त्री सुरेन्द्र कार्कीले आफ्ना कामबारे धेरै प्रचार नगराए पनि खराब काम गरेको सुनिएको छैन । सञ्चार मन्त्रालयअन्तर्गत नियुक्तिमा पनि धेरै विवाद देखिएका छैनन् । यस अर्थमा सरकारको नाक जोगाउने काममा यी मन्त्रीको भूमिका केही हदमा सकारात्मक छ भन्दा अन्यथा हुनेछैन । सरकार प्रभावकारी बन्न यसमा कस्ता सदस्यलाई सहभागी बनाइएको छ भन्ने पक्षले महŒव राख्छ । मन्त्रीहरूकै कामले सरकारलाई बदनाम गराउने पनि उत्तिकै खतरा रहन्छ । प्रधानमन्त्रीले जतिसुकै राम्रो गर्छु भने पनि मन्त्रालयको कामकारबाही सही हुन सकेन भने अपेक्षित परिणाम प्राप्त हुन सक्दैन । स्थानीय विकास मन्त्रालयको भूमिकाबाट भर्खरै बिदा भएका हितराज पाण्डेको भूमिकाले पनि प्रधानमन्त्री दाहाल मात्र होइन, उनको दललाई समेत सकारात्मक छवि प्रदान गरेको छ । यो सरकारकै पालामा मुलुक लोडसेडिङमुक्त भएको छ । त्यसो त पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गर्न आफ्नो भूमिका रहेको बताउने गरेका छन् । जे भए पनि वर्तमान सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले छनोट गरेका नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङका कारण हाम्रो मुलुकमा अभिशापजस्तै बन्दै आएको लोडसेडिङको अन्त्य हुन पुगेको छ । मन्त्री शर्माको सहयोग नपाएका भए सायदै घिसिङले यसरी काम गर्न सक्ने थिए । यसै पनि इन्भर्टर बिक्रेतादेखि ऊर्जा क्षेत्रका माफियाको खेल सबैले महसुस गरेकै छन् । बीचबीचमा मुलुक लोडसेङिमुक्त बनाइँदा अवरोध गर्ने तŒवहरू सक्रिय भएका पनि हुन् । प्राधिकरण सञ्चालक समिति सदस्यले समेत घिसिङलाई अवरोध गर्न खोजेका थिए । अन्ततः उनीहरू उनको बाटोबाट हटेपछि काम गर्न सकेका छन् । तैपनि उनको निरन्तरको पहल नहुँदो हो त परिस्थिति यस्तो रहने थिएन । स्वास्थ्यमन्त्री थापाले वास्तविक अर्थमा संविधानप्रदत्त नागरिक स्वास्थ्यको अधिकार सुनिश्चित गरिरहेका छन् । स्वास्थ्य क्षेत्र अहिलेसम्म भ्रष्टाचारको केन्द्रका रुपमा रहेको थियो । स्वास्थ्यमा छुट्ट्याइएको बजेटको तुलनामा प्रभावकारी काम हुन नसकेको अनुभव हामी सबैलाई भएकै हो । भर्खरै राजधानीमा सम्पन्न लगानी सम्मेलनको सफलताले मन्त्री जोशीको प्रभावकारी कामलाई समेत उजागर गरेको छ । युवा नेताहरूलाई मन्त्रीको जिम्मेवारीमा लैजाने हो भने काम देखाउनकै निम्ति पनि उनीहरूले सक्रियता देखाउने रहेछन् भन्ने अनुभव भएको छ । यसले राजनीतिमा देखिएको वितृष्णा पनि कम गर्नेछ । साथै, विगत र वर्तमान सरकारले समेत जनअपेक्षालाई ध्यानमा राख्न नसकेको गुनासोसमेत सम्बोधन गर्न सक्नेछ । 

संयुक्त सरकार चलाउने संस्कृतिले अझै आकार लिइसकेको छैन । त्यसमा पनि छोटो समयका लागि बन्ने सरकारले मुलुकनिम्ति प्रभावकारी काम गर्न सक्दैनन् भन्ने अनुभव हाम्रो मुलुकको भएको छ । एक त यहाँ सरकार परिवर्तन भइरहन्छ । अर्को, त्यही सरकारभित्र पनि मन्त्रीहरूको फेरबदल चलिरहन्छ । भर्खरै राप्रपा अध्यक्ष कमल थापा र अर्का नेता दिलनाथ गिरीलाई भिœयाउन दाहालले आफ्नो सरकारमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका स्थानीय विकासमन्त्री पाण्डेलाई हटाउनुपर्ने अवस्था आइलाग्यो । संघीयता कार्यान्वयन र निर्वाचनका लागि उनले निरन्तर भूमिका निर्वाह गर्दै आएका थिए । यतिसम्म कि नयाँ संरचना लागू भएको घोषणा गर्ने कार्यक्रममा समेत उनले सहभागी हुन नपाएको गुनासो गरेका छन् । फेरि सरकारमा नयाँ सदस्य भिœयाउन सत्तारुढ माओवादी र नेपाली कांग्रेसका केही प्रभावशाली मन्त्रीलाई हटाउनुपर्ने बाध्यतामा दाहाल देखा पर्दैछन् । पछिल्लोपटक स्वास्थ्यमन्त्री गगन थापाकै मन्त्रालय सम्भावित सत्तासाझेदार दलका तर्फबाट माग भएपछि उनलाई असजिलो परेको देखिन्छ । दाहालले आफ्नो गठबन्धन बलियो बनाउन थापालाई सरकारबाट हटाउनुपर्ने अवस्थाले भने स्वास्थ्य क्षेत्रमा हुन लागेका सुधारका काममा अवरोध हुने देखिएको छ । अतः दाहालले सत्तासाझेदार भिœयाउँदा आफ्नो सरकारमा रहेका प्रभावकारी र तुलनात्मक रुपमा स्वच्छ छवि भएका मन्त्रीलाई समेत जोगाउन सकेनन् भने उनको हातमा असफलता मात्र बाँकी रहनेछ । सरकारमा गएर मन्त्रीले कार्यक्षमता देखाउनुपर्छ भन्ने मानक बन्न लागेका बेला त्यसलाई अवरुद्ध नगर्ने दिशामा प्रधानमन्त्रीको ध्यान जानु जरुरी देखिन्छ ।

 

प्रकाशित: २ चैत्र २०७३ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App