८ वैशाख २०८१ शनिबार
विचार

पाँच शताव्दीअघिको ताम्रपट्ट शासन

हिजोआज नेपालमा कुनै समुदायलाई बिनाप्रमाण मात्र नभई प्रमाण विपरितसमेत आलोचना गर्दा तात्कालिक परिवेशका ऐतिहासिक कुनै व्यवस्थित शासकलाई कहिले कविला वा गुरिल्ला त कहिले हिन्दु चक्रवर्ती विजेता सम्राट भनेर मनपरी अपव्याख्यामात्र होइन, कुव्याख्या गर्दै समाज भाँड्ने र गोजी भर्ने चलन खुबै चलनचल्तीमा छ।  त्यस्तालाई अर्काथरी गोजी भर्ने व्यवसायीले सबैभन्दा उच्चकोटिका र कुनै पनि कार्यक्रममा अपरिहार्य उपस्थित गराउनैपर्ने लाटाले पापामा मग्न भएजस्तो दुष्प्रयास र परम्परा पनि राम्रैसँग बसेको छ। त्यसैले त हाम्रो समाज र राजनीति एक चौथाई शताब्दी बितिसक्दा पनि दिशाविहीन भएर रल्लिरहेको अवस्थामा गुजँ्रदैछ।  द्वन्द्व समाधानवाला र द्वन्द्व निम्त्याउने तथा रित्याउनेवालाका निम्ति खेती खुवै फष्टाएको छ, जनता टाक्सिए पनि। 

हिजोआज इतिहासकै राम्रो अध्ययन नगरिकन लहैलहैमा वा सतही ढंगले अघिको व्यवस्थाप्रति एकोहोरो नकारात्मक ढङ्गले व्याख्या गर्ने चलन नेपालमा चलेको छ जुन अत्यन्त दुर्भाग्यपूर्ण र देशको र परम्पराको इज्जत लुटाहा पद्धति हो।

यस्तो अप्ठेरो परिवेशमा हामी जस्ता न समाजमा द्वन्द्व निम्त्याउनमा तालिम पाएका न त्यस्ता कुराको समाधानको नामका खेतीमै लाग्ने आकांक्षा भएकालाई भने हाम्रो समाजको र शासन व्यवस्थाको इतिहासका तथ्यले हिजोआज 'गोजीभर अभियान' मा लागेका कुव्याख्याकारले भन्ने गरेका र अभियोग लगाउने गरेका कुरा स्वीकार गर्न दिन्छ/दिँदैन भन्ने र के थियो त हाम्रो अघिको थिति भन्ने बुझ्ने/बुझाउने कामले नै व्यस्त बनाइराखेको स्थिति छ। के नेपाली इतिहासका वा यस धर्तीमा चलेका अघिका शासन, चालचलन, सामाजिक व्यवस्था सधैं कविला वा क्रुर विजेता शासकअन्तर्गत चलेका मुर्खताका उदाहरणमात्र थिए त भन्ने पनि हाम्रो खोजीको लक्ष्य बनाउन बाध्यसमेत हुनुपरेको छ। किनकि मेरो देश र माटो, मेरो मातृभूमि र त्यसका प्रिय बासिन्दा र शासक के/कस्तो कारणले त्यस्तो कविला र क्रुरमात्र भए वा त्यस्तो कुरा अहिलेका सतही युगका पुरै मिथ्या आरोपमात्र हो भन्ने कुराको खोजी गर्नु भनेको जन्म दिने माता वा असल पुर्खाको विषयको तथ्य इतिहास खोज्नु जस्तै भएको छ आज हामीलाई यस अपव्याख्या वा कुव्याखाको जंगलमा।

हामीले जनस्तरमा नेपालको देशभक्तीय राष्ट्रवादको बाटोबाट आधुनिक नेपाल देशको जग हाल्ने क्षेत्रीय साझा संस्कृतिका अत्यन्त कुशल अधिनायक पृथ्वीनारायण शाहबारे धेरै मन्थन गर्‍र्यौं र त्यो काम अझै निरन्तर चलिरहेकै छ, यद्यपि अहिलेको समावेशी भनिएको राष्ट्रिय दृष्टिको सरकारी धारणामा यस्तो मन्थनले ठाउँ पाउन छाडेको दुर्भाग्यपूर्ण अवस्था छ। यस परिप्रेक्ष्यमा आजको सन्दर्भ पृथ्वीनारायणभन्दा पनि २–३ सय वर्षअघिको नेपालको एउटा राज्यको गौरवपूर्ण व्यवस्थाबारे उजागर गर्ने रहेको छ। यो व्यवस्था शाके संवत् १५०८, सन् १५८६ अर्थात् विक्रमको १६४३ मा डोल्पा जिल्लाको उत्तरी सीमावर्ती इलाकाको दो ताराप क्षेत्रस्थित शादिग् (अहिले शेदिङ् वा शादिङ) गोम्बाका लामा गेल्मा र उनका शिष्यका नाममा छिनासिम राजधानीबाट जारी भएको जुम्ली राजा भान शाही र उनका छोरा शालिम शाहीसमेतको संयुक्त आदेशपत्र शैलीको ताम्रपत्रमा उल्लिखित हो।

झन्डै पाँच शताब्दीअघिको यस ताम्रपत्रमा ठाकुर अर्थात् राजाले लामा र शिष्यहरूको कुशलमंगलको कामना गर्दै आदेश गरेको प्रसंग उल्लिखित छ जसलाई त्यसबेलाको सभ्य भाषामा ठाकुरर राइर राजार वा महाराजको 'मयायेशि भैछ' भनिन्थ्यो। यसमा लामा अर्थात गोम्वाको विर्ता निकै ठूलो क्षेत्रफलयुक्त भूमिको नामसहित साँध/सिमानाको व्यवस्थाको वर्णन छ र उक्त क्षेत्र गोम्वाका लामाको थातथलो र विर्ता भएकाले त्यस क्षेत्रभित्रको जंगल, पाखो जग्गामा कसैले मृगसमेत जंगली जनावर मार्न नपाइने र चमरको स्रोतका जनावर चौंरीसमेत लुकाएर/भगाएर लैजान नपाउने बन्देज राज्यका तर्फबाट लगाइएको चर्चा छ। त्यसैगरी रुख/दाउरा काट्नेसम्बन्धी बन्दोबस्तको पनि यसमा चर्चा छ। 

यस राजकीय पत्रको साक्षीका रूपमा राइ थिग्पा उपाधिले चिनिने उपाध्याय ब्राह्मण, जसको नाम भोट भाषाको छावांङ् एगापाल पाध्या भन्नेसम्म उल्लेख छ।  यसले हिमाली क्षेत्रमा भोट र भारतीय सभ्यताको मिश्रण र खस ब्राह्मणको भोट उद्भवको इतिहाससमेत सम्झाएको छ। अहिलेसम्म ब्राह्मणको यस्तो भोट भाषा मिसिएको नामको उल्लेख अनुसन्धानको क्रममा पाइएको जानकारीमा छैन।  त्यसैगरी अरू साक्षीमा विरू र विशाम नामका राउता (राउत), किशुन नामका बिष्ट र ताम्रपत्रको विवरणका लेखक साक्षीका रूपमा करुनाकर नामका जोईशीको नाम उल्लेख छ जसलाई अघिको जस्तो पाध्या वा उपाध्याय भनिएको छैन।

राजाको यस ताम्रपट्ट आदेशमा उल्लेख भएबमोजिमको नियम कसैले उल्लंघन गरेमा सुनको धारोको रूपमा राजदण्ड लाग्ने र उक्त दण्ड राज्य र लामाले सझा गरेर अर्थात आधाआधा गरेर लिने व्यवस्थासमेत उल्लेख छ।  पहिलेदेखि चर्चिआएका गोम्वाका जग्गामा विर्ता थप गरेर फेरि सदर गरेको बुझिन्छ। अघिका व्राकोश्कार, नाजिछौ, नाङ् याङ्, उङ्ग्याम्जे, पङ्लुङ, शिम्चा, गाकार, उवारिकके, श्युरुउनु, क्युक्सा आदि जग्गामा राजाबाट थप गरिएका गाझो, टशितारु, इवेल्याङ्, यिगा रिताक श्यिरायाखाम, श्येरंगी, छार्कांङ्, थाङ् खाङ्कार अ•ी आदि पनि थपेर दिँदै लामाहरूको भलो सोधेर आज्ञा गर्नुभयो महाराजले भन्ने पनि उल्लेख भएको देखिन्छ।

स्मरणीय छ, यो ताम्रपत्रको बेहोरा शासनपट्टको हो, कुनै गौरवगाथा 'पेनेजेरिक' वा 'इयुलोजी' होइन। प्राचीनतम कालदेखि नै ताम्रपत्र जारी गरेर चलाइने कुनै पनि शासन पद्धतिलाई सफल र व्यवस्थित शासन व्यवस्थाको एउटा बलियो प्रमाणका रूपमा लिइन्थ्यो। प्राचीन भारत र नेपालमा लिच्छविकालदेखि नै समेत यस्तो मान्यता भएको कुरा इतिहासमा पढ्न पाइन्छ। नेपालका प्राचीन अभिलेखमा पनि ताम्रपट्ट शासनको उल्लेख पाइएको छ। राजआदेशलाई यसरी जारी गरिने पद्धतिलाई तिनताका ताम्रपट्ट शासन भनिन्थ्यो र यस्तो शासन पद्धतिलाई कविलाराजसँग तुलनासम्म पनि गर्न सकिँदैनथ्यो। वास्तवमा ताम्रपट्ट आदेश परम्परा भएको अवस्थालाई एक व्यवस्थित र उच्च राज्य व्यवस्थाको शासन मानिन्थ्यो।

यस आधारमा नेपालको हिमाली क्षेत्रमा वन्यजन्तु, बौद्धिक धार्मिक परम्परा, वनजंगलको सुरक्षा तथा त्यसको प्रयोगको सुव्यवस्था जस्ता परम्पराको इतिहास प्राचीनकालदेखि निरन्तररूपमा चलेको प्रमाणित हुन्छ।  बुद्धधर्म मान्ने खस वा याचे सम्राज्य टुक्रिएर बाइसी चौबीसी राज्य बन्ने क्रममा जुम्ला, पर्वत, डोटी जस्ता राज्यले राजकीय धर्म हिन्दु अपनाए तापनि बौद्ध गोम्पा र बौद्ध परम्पराको संरक्षकको भूमिकाबाट जुम्ला जस्ता राज्य अलग भएका थिएनन् भन्ने विषयको थप प्रमाणका रूपमा पनि यस ताम्रपत्रलाई मान्न सकिन्छ। 

खस याचे महाराजा क्राचाल्ल, क्राधिचाल्ल, क्रशिचल्ल, अशोकचल्ल, जितारी मल्ल, प्रताप मल्ल, आदित्य मल्ल, पुण्य मल्ल जस्ता शक्तिशाली शासकले जुम्लीभन्दा अघि शताब्दियौंसम्म बुद्ध धर्म र बौद्ध परम्पराको संरक्षण र उठानका निम्ति निर्वाह गरेका भूमिका यस सन्दर्भमा उल्लेखनीय छ।  खस साम्राज्यका पछिल्ला उत्तराधिकारीका रूपमा जुम्ला जस्ता राज्यले आफूलाई स्थानीय धर्मरक्षक महाराजाका रूपमा स्थापित गर्न जोडदार कोसिस गरेको इतिहासलाई यस ताम्रपत्रले र अरु अनेकौं स्रोतले समेत स्पष्ट पारेको छ।  तिब्बती भाषामा भनिने 'छो क्योङ्ग्यी ग्याल्पो' अर्थात् धर्मरक्षक महाराज जस्ता गौरवशाली उपाधि खस याचे र जुम्ली तथा मुस्तांगी राजाहरूका प्रशस्तिमा बाक्लै किसिमले जोडिएको देखिन्छ।  खस सम्राट आदित्य र पुण्यमल्लका गोर्खाको रुइभोट छेउको तागावा गोम्वामा पाइएका दुई ताम्रपत्र र अशोकचल्लको समयका बोधगयामा पाइएका २ अभिलेख तथा क्राचल्लका गढवालमा पाइएका अभिलेखले यस कुराको पुष्टि गरेका छन्। खस याचे र जुम्ली आदि राजाका विषयमा लेखिएका सारा तिब्बती सामग्रीमा यी राजाहरूलई छोक्योङ्ग्यी ग्याल्पोका रूपमा नै सम्बोधन गरिएको पाइन्छ।

हिजोआज इतिहासकै राम्रो अध्ययन नगरिकन लहैलहैमा वा सतही ढंगले अघिको व्यवस्थाप्रति एकोहोरो नकारात्मक ढङ्गले व्याख्या गर्ने चलन नेपालमा चलेको छ जुन अत्यन्त दुर्भाग्यपूर्ण र देशको र परम्पराको इज्जत लुटाहा पद्धति हो। यो पद्धति खासगरी राजनीतिक वृत्तमा जोडका साथ चलेको देखिन्छ र यसको असर केही मात्रामा सर्वसाधारण जनतामा समेत पुग्दै गरेको अवस्था छ। यस देश घातक र इतिहास विरोधी परम्परालाई यथाशीघ्र बिदा गर्न हामी सबै एकजुट हुन आजको यस ताम्रपत्र जस्ता ऐतिहासिक प्रमाणका स्रोतको राम्रो अध्ययन र मनन गर्ने परिपाटी चलेको खण्डमा हामीलाई यस शुभकार्यमा अवश्य सहयोग पुग्ने विश्वाश गर्न सकिन्छ।

ताम्रपत्रको उतार

१. श्री संवत् (?) शाके १५०८ मागमाशे छिनाशिम रजस्था

२. ने भान शाहि शालीम शाहिकि मया  शादिग (शेरिङ्) गेल्मा लामा

३. उपर मयायेशी भै छ।  थात विर्ति हिंउंदाग नजिछौ प्राको

४. शकार नांङ्यांङ् उङ्ग्याम्जै पंङ्लुङ् शिम्चा, उँदो गिगार (गाकर) उवा

५. रिके उवो शुरूउनु क्युक्सा माथि मिरिग (मृग) नमार्नु।  चंवर गो

६. रु नामुकाल्नु। हिंउंदाग गझो हिंउंदाग टशितारु ढाक्पाको

७. चेलो थुंडु फान्दर (दोंडुप फेंदर) इवेल्याङ् इगा रिताक मारि लैषौ शिरायाकां

८. राजाले श्यारिंगी (शेरिंगी) मया भै छ। छर कांङ्ग उंवो थान (थाङ्) षांकर पनि म

९. या भै छ। जोरो रव् घ्याल तश ठाकुरको धारणा शुनको धारो छ ा

१०. लेक ओरिपरि गाजा दारुवा जोइनु काजे व चलमल गर

११. ठाकुरले धार्न शुनको साजो लैनु।  पत्र शाक्षि राइ थिक्पा छां इ

१२. गा पाल पाध्या विरू राउत विशाम राउता लिषित शाक्षि करुनाक

१३. र जोइशि। स किसुन वीसट  (विष्ट) शुभम्

(यो ताम्रपत्रको फोटो डोल्पाका ङवाङ् ल्हुन्डुपबाट फेसबुक मेसेन्जरको माध्यमबाट पाएको हुँ। यसको पढाइ र बुझाइले उहाँहरूको स्थानीय इतिहास बुझ्न पनि केही मद्दत गर्ला। केही शब्दको अर्थ बुझ्न अझै बाकी छ, समय लाग्छ।)

प्रकाशित: ४ चैत्र २०७३ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App