सुत्केरी व्यथाका चरण र हेरचाह

शनिबार, ०५ चैत २०७३, ०९ : ५१ नागरिक


डा. सुमनराज ताम्राकार

पहिलो चरण

पक्का खालको सुत्केरी व्यथा लागेदेखि पाठेघरको मुख पूरै खुल्नेसम्मको अवधिलाई पहिलो चरण मानिन्छ। पहिलोपटक सुत्केरी हुने महिलामा पहिलो चरण औसतमा १२ घन्टासम्म हुन सक्छ। अन्यलाई यसको आधा समय भए पुग्छ।

पहिलो चरणमा नरम हलुका तागतयुक्त झोलिलो खानेकुरा खानुपर्छ। समय समयमा पिसाब गर्नुपर्छ। यसो गरेमा प्रसव व्यथा राम्रोसँग बढ्दै जान्छ। पाठेघरको मुख खुल्न सघाउने र ध्यान पनि अन्तै जाने हुनाले सामान्य हिँडडुल गर्न सकिन्छ। पेट दुखेका बेला रुने, कराउनेभन्दा लामो–लामो सास लिनुपर्छ। पहिलो चरणको सुरुतिरै कन्नु हुँदैन। व्यथा लाग्दै गर्दा आफूलाई सजिलो लाग्ने आसनमा बस्नुपर्छ।

सुत्केरी हुँदाको अवस्थालाई चार चरणमा  बाँडिएको छ। सुत्केरी व्यथा लागेदेखि सालनाल झरिसक्दासम्म सुत्केरीलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ।

बच्चा ठूलो छ, यसअघिको सुत्केरी कष्टपूर्ण थियो, व्यथा लामो भएको थियो, फोरसेप वा भ्याकुम भन्ने औजार हालेर मात्र बच्चा जन्मेको थियो, मृत बच्चा पाएको वा सुत्केरी दौरानमा नवजात शिशुको मृत्यु भएको थियो भने पछिल्लोपटक सिजेरियन अपरेसन जरुरत पर्नसक्छ।

सहजै बच्चा जन्मन पाठेघरको मुख करिब १० सेमि खुल्नुपर्छ। पाठेघरको मुख चार सेमि खुलेदेखि प्रसव व्यथाको गति बढ्छ, प्रतिघन्टा थप एक सेमिको दरले पाठेघरको मुख खुल्दै जान्छ।

दोस्रो चरण

पाठेघरको मुख पूरै खुलेदेखि बच्चा जन्मनेसम्मको अवधिलाई दोस्रो चरण मानिन्छ। पहिलोपटक सुत्केरी हुने महिलामा यो चरण करिब दुई घन्टा हुन्छ। दोस्रो चरणमा महिलालाई सुत्केरी गराउने खाटमा सार्नुपर्छ। प्रत्येकपटक दुखाइसँगै 'ठीक तरिकाले कसरी कन्ने' भनी सिकाउनुपर्छ। मुख बन्द गरी चिउँडोले छाती छुवाई दिसा गर्ने बेलाजस्तै जननेन्द्रीयवरिपरि एकनासले बल गर्न लगाउनुपर्छ। यस्तो बेला मुख खोली रुने–कराउने गर्नु हुँदैन।

पहिलोपटक सुत्केरी हुने महिलामा योनीद्वार च्यातिने बढ्ता सम्भावना हुन्छ। योनीद्वारमा सानो घाउ बनाइदिनुपर्ने हुन्छ। त्यसैले पहिलोपटकको सुत्केरी अस्पताल वा स्वास्थ्यकर्मीबाटै गराउनुपर्छ।

तेस्रो चरण

बच्चा जन्मेदेखि साल झर्नेसम्मको अवधिलाई तेस्रो चरण भनिन्छ। करिब १५ मिनेटको यस अवधिमा सालसँगै नाल र अन्य झिल्ली बाहिर निस्कन्छ। योनीद्वार वा योनीमार्ग, पाठेघरको मुख च्यातिएको छ भने सिलाउनुपर्छ।

चौथो चरण

सालनाल झरेपछिको करिब एक घन्टा समयलाई चौथो चरण भनिन्छ। यस अवधिमा पाठेघर राम्ररी खुम्चिएको छ/छैन, योनीद्वारबाट अत्यधिक रक्तश्राव भएको छ/छैन ख्याल गर्नुपर्छ। त्यस्तै, आमाको नाडी र रक्तचाप नियमित रुपमा जाँच्नुपर्छ। सुत्केरी महिलालाई तातो, तागतिलो झोलिलो पदार्थ खुवाउनुपर्छ। पिसाब गराउन उत्प्रेरित गर्नुपर्छ। यस अवधिमा बच्चालाई स्तनपान पनि गराउनुपर्छ।

०००

सानै उमेरमा गर्भधारण गर्दाका असर

टिनएजर स्वभावैले वजन घटाउन उद्यत् हुन्छन्। अतः भोकै रहने, खाना कम खाने, जंकी खाना खाने गर्नाले पोषणको कमी हुन्छ। किशोरी अवस्थामा हुने गर्भधारणको जटिलताका कारण विकासोन्मुख देशमा बर्सेनि हजारौं युवतीको अकालमा मृत्यु भइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार किशोरी आमाको मृत्यु हुने सम्भावना दोब्बर हुन्छ।

नियमित गर्भ जाँच नगर्दा गुणस्तरीय मातृ सेवा पुग्दैन। किशोरी आमामा पुठ्ठाको हड्डी अविकसित हुने, प्रसव व्यथा कष्टपूर्ण हुन सक्ने कारण सिजेरियन अपरेसनको सम्भावना बढी हुन्छ। त्यस्तै, उच्च रक्तचाप बढ्ने, कम्पन छुट्ने, पिसाब चुहिने समस्या साथै शिशु मृत्युदर तथा मातृ मृत्युदर पनि उच्च हुन्छ। कलिलै उमेरमा अभिभावकत्व वहन गर्नुपर्दा नकारात्मक सामाजिक, आर्थिक, मानसिक प्रभाव पर्छ।

बुढ्यौलीमा गर्भवती हुँदाका असर

विशेषज्ञका अनुसार महिलाको उमेर ३५ वर्षभन्दा बढी भएपछि गर्भवती हुनु, बच्चा पाउनु राम्रो मानिँदैन। गर्भ तुहिने, उच्च रक्तचाप हुने, व्यथाअघि नै साल छुट्टिने, बच्चा सानो हुने, महिना नाघ्ने तथा उमेर ढल्केका कारण अन्य स्वास्थ्य समस्या (उच्च रक्तचाप, मधुमेह, मुटुरोग) पनि गाँसिने सम्भावना हुन्छ। त्यसैगरी, महिना नपुग्दै व्यथा लाग्ने, लामो र कष्टपूर्ण व्यथा लाग्ने, साल अड्कने हुन्छ। बच्चा सानो हुने, जन्मजात विकलांग एवं सुस्त मनस्थितिको हुने सम्भावना रहन्छ। सुत्केरी व्यथाका बेला शल्यक्रिया (सिजेरियन, फोरसेप वा भ्याकुम) को जरुरत पर्न सक्ने हुँदा बच्चाको मृत्यु पनि हुन सक्छ।

पति साथमा भए सुत्केरीलाई ढाडस

विकसित देशमा सुत्केरी व्यथाका बेला पति वा पुरुष पार्टनरलाई सँगै राख्ने चलन छ। सुत्केरी व्यथामा रहेकी महिलालाई यसले गज्जबको ढाडस मिल्ने अध्ययनले देखाएको छ। नेपालमा त्यस्तो ठोस कुनै नीति छैन। रुचि, आँट अनि सहनशीलताका आधारमा पतिलाई पनि सँगै बसाउने चलन बिस्तारै बढ्दै छ। गर्भवती जाँचका क्रममा योनीद्वारको जाँच गरी बच्चा आउने बाटो पुग्ने निर्क्योल भएपछि दम्पतीलाई साथै राखेर सुत्केरी व्यथाका सबै पक्षबारे प्रस्ट बताइदिनुपर्छ।

पत्नीको प्रसव व्यथा प्रत्यक्ष रुपमा हेरिसकेपछि दम्पतीबीचको सम्बन्ध प्रगाढ हुन मद्दत पुग्छ। कोही रगत देखेपछि बेहोस हुने तथा ढल्न सक्छन्। यस्तो अवस्थामा सुत्केरी व्यथापूर्व पतिलाई यथेष्ट परामर्श दिई डेलिभरी रुमभित्र बस्ने इच्छा भए/नभएको सोध्नुपर्छ। सुत्केरी पीडा देखेपछि पुरुषमा सोच परिवर्तन हुन सक्छ। जन्मान्तरका लागि तथा बच्चा पुगिसकेको अवस्थामा पुरुषले परिवार नियोजनका साधन अपनाउने तथा स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) बढ्न सक्छ। हाल नेपालमा महिलामा तीनमहिने सुई तथा स्थायी बन्ध्याकरण (मिनिल्याप) बढी प्रचलनमा छ।







यसमा तपाईको मत

अन्य समाचार

आलुको  सभापतित्वमा कार्यक्रम

आलुको  सभापतित्वमा कार्यक्रम

हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस्...

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...