coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

तीन कविता : तिर्खा

विवश पोखरेल

तिर्खा

लामो यात्रा हिँडेपछि

तिर्खाएर धमिलो कुवानजिक उभिएको छु

उफ् कसरी खान सक्छु म

तिमीले रगताम्मे हात पखालेको

यो कुवाको दूषित पानी?

 

जहा“ कुनै किसानले पसिना पखालेको

माटोको गन्ध छैन

कुनै श्रमिकले अनुहार धोएको

पसिनाको गन्ध छैन

छोपिएको छ

हिजो देखिने पानीको सङ्लो रङ

कुवाभरि पानी छ

र पनि कतै पानीको गन्ध छैन

 

अलि पर

केही वर्षअघि सुसाउ“दै गरेका

सल्लाका रुखहरू उदास छन्

उज्यालाका लागि घरका छानामा

इन्कलाबका झन्डा गाडेर

एकाएक हराएका छोराहरूका

अभागी आमाहरू पनि उदास छन्

द्वन्द्वमा भत्किएका स्कुल र

पार्टीपौवाहरू पनि उदास छन्

शुष्क छन् मुस्कान पल्लवित ओठ

अपेक्षित आ“खाहरू उदास छन्

 

धमिलो लेउ लागेको छ कुवाभरि

सम्भवतः अब खाने छैनन्

कुनै गाइवस्तुहरूले पनि यो कुवाको पानी

भूर्र उड्दै चराहरूले

चोपल्ने छैनन् यो कुवाभित्र

आफ्ना तिर्खालु चुच्चा

 

सधैँसधैँ आशालु मनहरू

माथि चौतारीमा आउ“छन्

ठिंग उभिन्छन् र हेर्छन् समयको गति

हेर्छन् बादलबन्दी धमिलो आकाश

विश्वास लाग्दैन

अपेक्षित घाम बन्दी छ

अपेक्षित जून बन्दी छ

कुवाभित्र आ“खाहरू खोजिरहेछन्

हिजो देखिने पानीको सुन्दर बिम्ब

हिजो मेटिएको तृप्तिको मीठो स्वाद

 

लामो यात्रा हिँडेपछि

तिर्खाएर धमिलो कुवानजिक आएको छु

उफ् कसरी खान सक्छु म

तिमीले रगताम्मे हात पखालेको

यो कुवाको दूषित पानी?

०००

खुसी

उसलाई थाहा छ

भरिएर आएका झोलामा केही छैन

ऊ खोतल्दिन

सानी छोरी राख्दिन चकलेटको अपेक्षा

बूढा बा राख्दैनन् अपेक्षित मोह

आमा उसको आगमनमा

आफूभरि साँच्छिन् असरल्ल खुसी

कवि जसले झोलाभरि

किताब लिएर आएको छ

 

जहाँ वेदका ऋचाहरूजस्तै

पवित्र शब्दहरू छन्

चम्किला ताराहरूजस्तै

अक्षरहरू छन्

छन् दृश्यित

      जीवनका विविध अध्याय

प्रतिबिम्बित छन्

      भोगाइका अँध्यारो उज्यालो

 

समयका डिहीमा मौन उभिएर

ऊ सोचिरहेकी छे

उसका लोग्नेजस्तै सरल छन् अक्षरहरू

शालीन छन् शब्द

      मनजस्तै कञ्चन छन्

किताबभरि फुलेका

शब्द, अनुभूति र विचार

एउटी कवि पत्नी

प्रत्येक किताबका पानामा

फुलेको देख्छे  खुसीको फूल

बगेको देख्छे विचारको सङ्लो नदी

ऊ जानी–नजानी

एकाग्र भएर पढिरहेकी हुन्छे

समय र प्रकृतिसँगै

जीवनका सुन्दर कविता।

 

०००

 

अभियुक्त छायाँ

हुरीजस्तै

अचेल असंख्य छायाहरू आउ“छन्

र, तछारेर जान्छन् समयलाई।

 

म यो अभिशप्त परिवेशमा

असिनाले क्षतविक्षत

फूलका पत्रहरूझैँ

खण्डित छु/भयभित छु

र, खोजिरहेछु

छायाँ प्रकोपविरुद्ध

न्यायिक फिराद गर्न

एउटा इजलास।

 

एउटा अबोध बालकले

दन्त्यकथा सुन्दै

आ“खा बन्द गरेर कल्पना गरेको

एउटा भयावह राक्षस छायाँ

मेरो मनको स“घारमा ठिंग उभिन्छ

फैलन्छ, सलबलाउ“छ

र थाहै नपाई एउटा शकुनि बिम्ब

आफ्नो परिचयको सम्पूर्ण हुलिया हराएर

धमिला आ“खाका स्मृतिबाट

एकाएक बिलाउ“छ।

 

म निरन्तर छायाँ प्रकोपले

प्रताडित छु/विशृंखलित छु

र, युगौँदेखि खोजिरहेको छु

एउटा निकास

महाशय

तपाईंस“ग यो अपराधी छायाँलाई

पाता फर्काएर बा“ध्न सक्ने

कुनै डोरी छ?

प्रकाशित: ५ चैत्र २०७३ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App