coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भीरको यात्रा

जीवनाथ धमला

म पहाडी भीरहरूसँग परिचित छु। भीरको बाटो धेरै हिँडेको छु। एउटा पाइलो मात्र टेक्न सकिने भीरको गोरेटो कति डरलाग्दो थियो, सानैमा बाख्रा चराउने घरभन्दा पारिपट्टिको घोप्टे भीर। त्यस्तै, घरदेखि झन्डै सात–आठ किलोमिटर पश्चिमतिर घारीनेरको बाहुनडाँडा भन्ने भीर। ती दुवै भीरसँग म किशोरावस्थामै अभ्यस्त भएँ।

ती भीरमा हजुरबा र बुवाले कति घाँसपात गर्नु'भो, स्याउला र घाँसका भारी बोकेर कति हिउँद वर्षा बिताउनु'भो, लेखा गरी साध्य छैन। अलि टाढा जाँदा–आउँदा बाटामा पर्ने भीर पनि कति हिँडियो, हिँडियो। ती भीर त दिनचर्या नै रहे मेरा लागि पनि गाउँमा छँदा। हुन पनि पहाडका भीर जीवनयापनका पर्याय नै हुन्। भीर छ र त पहाडको जीवन छ। भीर नहुँदा हुन् त पहाडी जीवनको दुःख पनि आधा नै कम हुन्थ्यो होला। भीरैभीरका बाटा त कति हिँडियो, त्यो त भनी साध्य नै छैन।

जीवन पनि एउटा भीर नै रहेछ। यसको उकालो पहाडको भीरभन्दा कहाँ कम रहेछ र? मानिस जीवनरूपी भीरमा सकीनसकी उक्लने प्रयासमा देखिन्छन्। कति अलिकति माथिसम्म उक्लेर बीचमै कता हराउँछन् भने कति तलै अस्ताउँछन्। सामर्थ्यवानका लागि अप्ठेरो भीर पनि भीरजस्तो बन्दैन, आफ्नो क्षमताको पूर्ण उपयोग गरेर भीरका चुनौतीको सामना गर्छन्।

भीर नहुँदा हुन् त पहाडहरू नै हुने थिएनन्। पहाड नभए के नेपाल रहन्थ्यो त? भीर र पहाडी मुलुक भएरै नेपाल बाँचेको छ। भीरले देशको प्राकृतिक सौन्दर्य बढाएको छ। भीरबाट झरेका छाँगा र झरनाको सुन्दरता वर्णन गर्नै सकिँदैन। सेता छाँगाको नजिकै पुगेर तिनका बाछिटाले शरीर भिजाउँदै छररर ध्वनि सुन्दै प्रकृतिको शास्वत जीवनसँग एकाकार भएर घन्टौंसम्म खेलेको छु। घामपानी परेका बेला छाँगाको ठीक सामुमा पुगेर त्यहाँबाट माथि डाँडाको सिरानसम्म र त्यसभन्दा माथि हँसिया आकारमा अग्लिँदै बांगिएको इन्द्रेणीलाई धीत मर्ने गरी हेरेर प्रकृतिको ढुकढुकीलाई सुनेको छु। त्यस्ता छाँगासहितका भीर कति हुन् कति? छाँगा र झरनाको सौन्दर्य भीर भएरै देखिएको हो। भीरले पहाडलाई जीवन दिएको छ, जीवन्त बनाएको छ।

धर्तीको स्वरूप एउटै खालको मात्र भएको भए मानव जीवनको पनि विविधता हुने थिएन। धर्तीको रूप फरक छ र त जीवनमा विविधता छ। हिमाल छ र त त्यसको सौन्दर्य पृथ्वीले पाएको छ। उच्च पहाड छन् र त गुराँस मुस्कुराइरहेको हामी देखिरहेछौँ, पहाडमा भीर भएकैले सुनाखरी लत्रेका छन्, सल्लाघारी सुसाइरहेका छन्। जीवन अभ्यस्त छ भीरहरूमा। वस्तुभाउ चराउने, घाँस–दाउरा गर्ने खर्क पनि हुन् भीरहरू। भीरसँगै जीवन गाँसिएको छ।

प्रकृतिद्वारा निर्मित आटव्य हिमाली भीरमा मान्छे चढेर, तिनमाथि आरोहण गरेर विजय प्राप्त गरेको छ। सगरमाथाको चुचुरोमा पुग्न हिउँले ढाकिएका कैयौं भिराला पाखा, उकाला र अक्कर छिचोल्दै, कैयौं हिमनदीमा कुल्चँदै पाइला सार्नुपर्छ, चाल्दै आएका छन् असंख्य आरोहीले र चुचुरामा पुगेर त्यहाँबाट देखिएको अन्तहीन प्राकृतिक सौन्दर्यमा आफूलाई डुबाएका छन्।

भौतिक रुपमा भीरमा चढेर, हिँडेर विजय पाउन साहस, होसियारी र हिँडाइप्रतिको निरन्तरता, संयम आदि चाहिन्छ। अनि मात्र नलडीकन यात्रुले आफू उक्लन आँटेको भीरमाथि चढाइ गर्छ। अलिकति सन्तुलन बिग्रियो भने यात्रा त पूरा हुँदैन नै, जीवनकै लागि जोखिम पनि उत्तिकै रहन्छ।

जीवन पनि एउटा भीर नै रहेछ। यसको उकालो पहाडको भीरभन्दा कहाँ कम रहेछ र? मानिस जीवनरूपी भीरमा सकीनसकी उक्लने प्रयासमा देखिन्छन्। कति अलिकति माथिसम्म उक्लेर बीचमै कता हराउँछन् भने कति तलै अस्ताउँछन्। सामर्थ्यवानका लागि अप्ठेरो भीर पनि भीरजस्तो बन्दैन, आफ्नो क्षमताको पूर्ण उपयोग गरेर भीरका चुनौतीको सामना गर्छन्। भीर भनेको जीवनयात्रा त हो, असजिलो हुन्छ नै यात्रामा। असजिलो सम्झे असजिलो र सजिलो सम्झे सजिलो!

सजिलो सतहमा जसले पनि हिँड्न सक्छ, कुद्न सक्छ। सजिलोमा हिँडेर म यति टाढा आएँ भनेर आत्मरति गर्नुमा कुनै अर्थ रहँदैन। संसारमा जति मानिस छन्, ती प्रायः सजिलोमा मात्र हिँड्न रुचाउँछन्, सजिलो जीवन जिउन चाहन्छन्, आरामसाथ जीवनका कर्म पूरा होऊन् र वृद्धावस्थामा पनि आफन्तजनलाई कुनै दुःख समस्या नपरोस् भन्नेमा चिन्तित रहन्छन्। यो आम मानवीय प्रवृत्ति हो। अप्ठेरो बाटोमा हिँडेर लक्ष्यमा पुग्दा जुन आनन्द, सन्तुष्टि र विजयी भाव उत्पन्न हुन्छ, त्यसको प्राप्ति सजिलै प्राप्त सफलताभन्दा सैयौं गुणा बढी हुन्छ। संसार बदल्नेहरू परम्पराले निर्माण गरेको बाटोमा हिँडेनन्, सभ्यताको निर्माण गर्नेले पुराना विश्वासलाई पछ्याएनन्। उनीहरू आफै बाटो बनाउँदै हिँडे, आफै पसिना चुहाउँदै हिँडे। तिनीहरूले समथर परिस्थितिको तेर्सो बाटो रोजेनन्, बरु उकालो र गोरेटो बाटोलाई चौडा मार्ग बनाउँदै हिँडे, तिनीहरू पहरामा, भीरमा बाटो खन्दै, कोतर्दै अघि बढे। ती विजयी बने। सजिलोमा हिँडेर पर पुग्नेहरू पुगे मात्र तर ती विजयी बनेनन्।

भीरको बीचमा पुगेर माथि न तल भएर बाँच्नेहरू पनि छन्। अलिकति हिँडेर फेरि फर्केर तलै विश्राम गर्नेहरू पनि छन्। भीरमा बिस्तारै पाइला चाल्दै नडराईकन, नआत्तिईकन चढ्दै, कहिले अलिकति पछि सरेर अर्कै बाटो हिँडेर फेरि चुचुरामा वा भीरका थाप्लामा पुग्ने साहसी पनि छन्। यसरी माथि भीरको थाप्लामा पुग्न सक्नु भनेको ठूलो पुरुषार्थ हो, सफलता हो। थोरै यात्रीले मात्र त्यो सफलता पाउँछन्। अप्ठेरो भीरमा यात्रा गर्ने कि सजिलोमा, इच्छा आ–आफ्नै। आफ्नै मात्र जीवनवृत्तको वरिपरि चक्कराइरहनेले न भीरलाई देख्छ न त भीरमाथि विजय प्राप्तिपछिको सन्तुष्टि नै। विजयी हुन अप्ठेरै रोज्नुपर्ने रहेछ।

म प्रकृतिद्वारा निर्मित पहाडी भीर त धेरै उक्लें, ओर्लें र साँझमा पुग्नुपर्ने गन्तव्यमा पुगें, त्यो क्रम त अझै छ। जीवनरूपी व्यावहारिक भीर पनि सबैले केही न केही उक्लनैपर्छ, त्यसबाट म पनि अछुतो पक्कै छैन तर त्यसभन्दा पर समाज र देशका लागि गर्नुपर्ने संघर्षका भीरहरू नि? अहँ, त्यतातर्फ त मैले देखेकै छैन। म आफ्नै साँघुरो परिधिभित्र घुम्दै त्यसकै वैयक्तिक जोडघटाउभित्र रुमलिएको छु।

स्रष्टा झमक घिमिरेको 'जीवन काँडा कि फूल' पढ्दापढ्दै म अलल्लिएको छु। उनी आफ्नो कलमको यात्रामा कति कठोरतासँग जुधिन्। उनले भोगेजस्तो नियतिको भीरसँग अर्को कुनै पनि स्रष्टाले यस युगमा जुध्नु परेन होला! उनले चढेको भीरको यात्राझैं साहसी यात्रा गर्ने स्रष्टा अर्को छ कि छैन यस दुनियाँमा? उनले तीनवटा अक्करमाथि विजय प्राप्त गरिन्। पहिलो अक्कर थियो– परिवार, जसले उनको बालहृदयप्रति 'अशक्त' शब्दको सुइरोले सधैं घोचिरह्यो। दोस्रो– समाज, जो उनको उज्यालो देख्न चाहने तृष्णाप्रति बादल बनेर आँखामाथि मडारिइरह्यो। तेस्रो– नियति, जसले उनलाई जन्मजात रूपमै अरुबाट माया पाउनेभन्दा सहानुभूति पाउने बालिकाको रूप दियो। आजकी झमकले यी तीनवटै अक्करमाथि विजय प्राप्त गरेकी छन्। उनलाई अरुको झैँ मेरो पनि हार्दिक सम्मान छ।

इतिहासमा धेरै स्रष्टाले चरम आर्थिक, सामाजिक र राजनीतिक प्रतिकूलतासँगै जुध्दै सिर्जना कर्मलाई अघि बढाएका छन्। यस राष्ट्रका निर्माता, निरंकुशतन्त्र विरुद्धका नायकनायिका र लोकतन्त्रका खातिर आत्मोत्सर्ग गर्ने वीर–वीरां्गना सबैको त्याग र समर्पणबाटै नेपाल बाँचेको छ, ती सबैप्रति राष्ट्रले गौरव गरेको छ। उनीहरूको जीवनयात्रा कम कहालीलाग्दो थिएन, कम चुनौतीपूर्ण थिएन।

अघि लाग्नेले नै भीरहरूमा पाइला अडिने ठाउँ बनाउँदै  हिँड्नुपर्ने हुन्छ। इतिहासको निर्माण अग्रगामी पाइलाले नै गर्छन् जहाँ पनि। चुनौती र संघर्षका भंगालाबाटै इतिहासका नयाँ अक्षरको सिर्जना हुने रहेछ।

सजिलो कता छ भन्दै अप्ठेरोबाट जोगिँदै हिँड्ने आफ्नो बानी भने पुरानै हो। सानैमा कतै अलि टाढा एक्लै पठाउँदा बुबाआमाले पनि 'अप्ठेरोतिर नजा है, लडिन्छ' भन्दै सजिलो बाटोमा हिँड्न सिकाउनुभएको हो। त्यही बानी यसबेलासम्म छुटेको छैन। त्यही भएर म अरुले हिँडिसकेको बाटो हिँड्न अभ्यस्त भएको रहेछु। शारीरिक हिसाबले अलि आँटिलो भएपछि पहाडी भीरहरू त चढें तर कर्मका भीर नि? बल्ल चेत खुल्दै छ, अरुले हिँडिसकेको बाटो हिँडेर यति–उति यात्रा गरें भन्दै गफ हाँक्नुको कुनै तुक रहेनछ। त्यो त आफैलाई ढाँट्ने उपाय मात्र रहेछ। सामान्य बाटो पनि आफै बनाएर हिँड्न नसक्नेले भीरको यात्रा कहिले गर्ला! मैले आफै उभिने पैतालाको डोब बनाएको छैन।

तल मैदानमा ठेस लाग्ला कि भन्दै होसियार भइरहेछु म। भीरमा चढ्नुलाई जीवनको खेल सम्झेर चुचुरा पुग्नेको गीत गुनगुनाउँदो म, भुइँको बालुवामा आफ्ना पैताला बिझाएको बहाना गरिरहेछु।

प्रकाशित: ५ चैत्र २०७३ ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App