कथा

आइतीमाया

शनिबार, ०५ चैत २०७३, ११ : २० नागरिक


बिना तामाङ

आइतीमायाले एकैपटकमा पित्तलको बडेमाको गाग्री जुरुक्क उठाई र थपक्क कम्मरमा राखेर दाहिने हातले अँठ्याई। पँधेरोदेखि घरसम्मको दूरी चार–पाँच मिनेटको हुनुपर्छ, त्यो उसले आधा समयमै टुंग्याई। घर आएर गग्रेटोमा भएको अर्को गाग्रीलाई बेस्सरी घचेटेर गन्ड्याङगुन्डुङ आवाज आउने गरी गाग्री बिसाई।

'लु हेर ता। आधा बिहान गइसक्यो। यिनीहरू अझै निस्केको छैन ता।'

मटानमा भएका कुखुरालाई गाली गर्दै बाहिर खेदी आइतीमायाले। कुखुरा आइतीमायाको हप्काइले आतंकित भए। ती ठुल्ठूला आवाज निकाल्दै बाहिरफेरो दौडिए। दौडिए के? उडे भनुँ न। तिनीहरूको आवाजको कोलाहलले केटाकेटीहरू पनि ब्युँझिए। ती आँखा माड्दै चोटाबाट झरे।

आइतीमायाले दाहिने कुहिनाले दावालाई घचेटिदिन्छे। दावा भक्लक्क लड्छ। आइतीमाया खितिती हाँस्छे। दावा जुरुक्क उठ्छ। आइतीमायालाई घुर्‍यानमाथि लडाउँछ। आइतीमाया उठ्न बल गर्छे। दावाको मिचाइ झन् बढेर जान्छ। मुर्दार भन्दै आइतीमाया फेरि खितिती हाँस्छे। उसले अब माइती जाने कुरा बिर्सिन्छे।

'चाङ (बुहारी) खै–खै एक डबका जाँड देऊ ता। आजु भने तीनवटा मान्द्रो तयार नगरी मो कोहीं जान्नँ,' आइतीमायाको आस्याङ (ससुरा) आँगनबाटै मान्द्रोको घर हाल्दै यति भन्न भ्याउँछन्। उनी अघिदेखि कतिखेर बुहारीको हात खाली होला र जाँड मागौंला भनी पर्खिरहेका थिए। अघि–पछि त उनले यतिबेला बुहारीसँग जाँड मागिसकेका हुन्थे। आइतीमायाको हप्काइदप्काई र भाँडाकुडाँमाथिको रिस देखेरै उनले अनुमान लगाइसकेका थिए कि आज बुहारी बादल भएकी छन्। गड्याङगुडुङ गर्दै गरेको कालो भयानक बादलजस्तो कतिखेर वर्षने हो, पत्तो छैन। सधैं त यस्तो हुन्न। यति त आस्याङलाई थाहा छ र यो सब हुनुको कारण त्यही दावा हो भन्ने ठम्याइ पनि छ।

त्यसैले संयम भएर आइतीमायाको हात खाली नहुन्जेलसम्म आस्याङले प्रतीक्षा गरिरहे।

आइतीमाया घरभित्र पसी। भर्‍याङमुनि राखिएको माटोको सानो घैंटोबाट सानो स्टिलको मगभरि मकैको भ्यापर निकाली। ठिक्कको प्लास्टिक डब्बामा खन्याई। एक करुवा पानी हाली। सराङबाट निगालोको सानो फिटकिरी झिकेर जाँडमा फिट्की हाली। त्यसपछि आइतीमायाको अभ्यस्त हात फिटकिरीमा मेसिन जसरी फटाफट चले। छिनभरमै तयार भयो, मकैको मगमगाउँदो कलिलो जाँड।

उसले काँसको बडेमाको दुई डबका (कचौरा) मा जाँड खन्याई। एउटा डबकाको आफूलाई राखी र अर्को डबकाको आस्याङलाई लगेर दिई।

'चाङ, आजुको रात पनि त्यो दावा आएन होइन?' आस्याङले डबकाबाट एक घुट्को जाँड मुखभित्र पठाए र बुहारीलाई हेर्दै घुर्लुक्क निल्दै सोधे।

'अहँ आएन, आस्याङ त्यो। तेल्लाई पख् न। घर ता आओस्। मोइले जानेको छु नि आजु।'

आइतीमायाको नाकको टुप्पोमा रिस उभियो। त्यो रिस आँखा, गाला हुँदै मुठीमा आएर झर्‍यो। कसिएका उनको मुठी देख्दा यस्तो लाग्यो, मानौं उसको अगाडि यतिखेर दावा उभिँदो हो त एक लात हानेर अहिल्यै गज्जबले भकुर्थी।

'हा हा (हाँसो), लु लु चाङ तेल्लाई तह लाउनैपर्छ। आमाचाँहि भाकु भए हिजै राति बाँसको भाटाले ठटाएर ल्याउँथ्यो। आमा साङ्गे कोन्जेसोम (भगवान) ले लगिहाल्यो। जाँठा! चाडबाडमा पनि घरै नआएर हुन्छ ता?' आस्याङले डबका सिनित्तै पार्दै बुहारीलाई सान्त्वना दिए।

आइतीमाया घरभित्र पसी। अघि भरिराखेको डबकाको जाँड स्वाँट्ट पारी।

अँगेनोमा दाउरा झोंसी। केहीबेरमै भाँडाकुँडा बजाउँदै खाना बनाई। पस्केर केटाकेटी र आस्याङलाई दिई। घाम लुङदरको ठीक मास्तिर आइपुग्दा भातभान्छा गरिभ्याई। केटाकेटीहरू खेल्न गए। आस्याङ मान्द्रोको बिट मार्नमा तल्लिन भए। भरे साँझ लुतो फाल्नु छ, त्यसैले आइतीमाया लुतो फाल्ने सामग्री खोज्न जंगल पसी। छिमेकका साथी अघि निस्किसकेछन्। उसले बाटोमा कसैलाई पनि भेटिन। 'आ, जे त पर्ला' भनेर एक्लै जंगल मास्तिर, अझ मास्तिर पुगी।

म्रेतेते, चन्चुवा, म्ल्हामा, घुसिङ, म्हाङ घोजा, तिप्रोको हाङ्गालगायत भेला पार्न लगभग एक घन्टा लाग्यो। जंगली कुरिलो भने अझै भेट्टाउन सकिन। त्यो हत्तपत्त भेटिँदैन। खोज्दाखोज्दै ऊ पाल्मानस्या ब्रा (भीरको नाम) मुनि पुगी। उसले घाँटी तन्काएर मास्तिर हेरी। आङ सिरिङ भयो। छिनभरमै जिउभरि बुरुरु काँडा उमि्रयो। वरिपरि हेरी। निर्जन सुनसान जंगलको शून्यताले आइतीमायाको मनमा आतंक मच्चियो। शून्यता पनि कति डरलाग्दो हुँदो रहेछ!

यो त्यही भीर थियो, जहाँ वर्षौं अघि घाँस–दाउरा गर्न आएकी पाल्मोको मृत्यु भएको थियो। उनलाई ब्यारेकका सेनाले पहिले त सामूहिक बलात्कार गरे, त्यसपछि खसालेर मारिदिएका थिए। त्यसैले यो भीरको नाम नै पाल्मानस्या ब्रा रहेको हो भन्ने कथन थियो।

आइतीमाया त्यस्तो कुनै विध्वंश नमच्चियोस् भन्ने कामना गर्दै भेला पारेजति सामग्री लिएर बेपत्तासँग ओरालो झरी।

पाखामा आइपुग्दा फोक्सो फुलेर गुब्बारा जत्रो भयो। अहिल्यै फुट्लाजस्तो लाग्यो उसलाई। एकछिन स्वाँस्वाँ गरेर थामिई।

'दावा मुर्दार भाकु भए मो आउनै पोर्थेन आजु जंगल,'

यतिखेर भने दावालाई खुब सरापी आइतीमायाले।

साँझ आइतीमायाले दिउँसो ल्याएको सामग्री छ््वालीमा मिसाएर आगो सल्काई। भान्छा, चोटाकोटा जताततै धुवाँ लगाई।

'लु कोन्जेसोम यो घरको लुतोसुतो सप्पै भगाइदेऊ,' उसले प्रार्थना गरी।

'दावाको लुतोजस्तो बानी पनि लैजाऊ। असाध्यै दुःख दियो,' मनमनै भाकी आइतीमायाले।

केटाकेटीले नांलो ठटाए। सल्किरहेको बाँकी छ्वाली लिएर ती सबै दोबाटोमा पुगे। छिमेकका अरु अरु पनि जम्मा भए। केटाकेटीको आवाज र छ्वालीको धुवाँले दोबाटो धपक्क भयो। लुतो परपर भाग्यो।

०००

रातिको धन्दा सकियो। माथि चोटामा केटाकेटी र आस्याङले एक निद्रा पुर्‍याइसक्दा पनि दावाको अझै अत्तोपत्तो थिएन। अबेरसम्म दावा नआएपछि आइतीमायाले मूल ढोका ढपक्क ढप्काई। अगेनाछेउ बिस्तार लगाई र पल्टिई।

'संक्राति पो हो त आजु त। परिवारसँगै बसेर खानुपर्दैन तेल्लाई? सप्पोई मोइले हेर्देको छु र पो यो घरमा,' आइतीमाया मुर्मुरिई।

तर्कना आए मनमा। दावाको अनुहार सम्झेर हाक्कथुक्क गरी। रिस यस्तरी बढेर गएको थियो कि मिल्ने हुँदो हो त अहिल्यै निस्केर जान्थी माइत।

'केटाकेटी र आस्याङलाई चटक्कै छोड्नु नि भोएन। पोख्! न तेल्लाई। त्यो आएपोछि म माइत गएर एक महिना बसिदिन्छु। अनि बल्ल थाहा पाउँछ तेल्ले,' यसो गम्दागम्दै केही समय भुसुक्कै भइजान्छे।

रातको दोस्रो प्रहर सकिँदो थियो। अचानक आइतीमायाको निद्रा भंग भयो। उसले अघिदेखि आफ्नो छातीमाथि सलबलाइरहेको गह्रौं दुई हातहरू च्याप्प समाती। त्यसपछि भने आफूमाथि खप्टाइएको एउटा खुट्टा झट्कारेर हुत्याई। पुनः खुट्टा खप्टिन आइपुग्यो। योपटक दुईवटा खुट्टा थियो। उसको लुंगी पनि सरक्क मास्तिर सारियो।

आइतीमायाले अँध्यारोमै आफ्नो खुट्टा सरक्क मास्तिर छाती नजिक ल्याई र आफूमाथि खप्टिन आउँदै गरेको दावाको छातीमा अघिल्लो दिनदेखिको सम्पूर्ण रिस जम्मा गरेर एक लात बजाई।

'मुर्दार, अइले पो सम्भि्कइस् स्वास्नी? लु जा!'

लात्ती ठाउँमै परेछ क्यार, दावा खुत्रुक्कै भयो। लुत्रुक्क परेर दावा आइतीमायाको गोडानेर गुजुल्टो परेर गह्रौं निद्रा सुत्यो। आइतीमाया भने हलुका भई मनले पनि तनले पनि रिस पोख्न पाएर।

भोलिपल्ट दिउँसो केटाकेटी स्कुल गए। आस्याङ मान्द्रो पुर्‍याउन फाँट ओर्लिए। गोठमा आइतीमायाले फतफताउँदै मकैको ढोड काट्न थाली। कसोकसो ढोडको सट्टा औंला स्वात्तै पार्‍यो चुप्पीले। काटिएको ठाउँबाट रगत तररर खस्यो। उसले हत्तपत्त कम्मर एकछेउको पटुकी च्यातेर टालो बनाई र काटिएको ठाउँमा बाँधी। पुनः ढोड काट्न थाली। अघिदेखि गोठको ढोका छेउबाट आइतीमायालाई हेरिरहेको दावा फुत्त बाहिर निस्कियो। छिनभरमै भित्र पस्यो। उसको हातमा माडिएको वनमाराको पात थियो।

'ओई लु टालो फुकाल ता। यो लाउनुपर्छ। च्वाट्टै पो हुन्छ ता,' दावाले माया जतायो। आइतीमायाले आँखा तरी।

हिजोदेखिको रिस मरेकै थिएन आइतीमायाको। उसले मरिकाटे हात दिइन, नसुनेझैं गरी।

दावाले स्वात्तै आइतीमायाको हात तान्यो, जबर्जस्ती टालो फुकाल्यो। अनि, वनमारा निचोरेर झोल हालिदियो र टालो बाँधिदियो। घाउमा वनमाराको रस सररर पस्यो।

आइतीमायाले आँखा बन्द गरेर नमिठोसँग मुख बंग्याई।

यतिन्जेल पनि हात तानातान भइरह्यो।

'तो अझै रिसाको छस् होई। आफू भने रातभर रातभर बँदेल ढुक्नु छ। पाक्न लागेको मकैबारी सप्पोई जोतेर सक्काइसक्यो। यो सरकारले निकुन्जछेउको हाम्रु बस्ती मध्यवर्ती क्षेत्र घोषणा गरे पोनि खोई क्षतिपूर्ति दिन्छु भोनेको कुरो मात्रै त भो। यो जंगलभित्रको बँदेलले हाम्रु बारीको अन्न केई पोनि राख्न देको हैन। झरीले झन्डै मोरेको मो आजु। आधारातमा मो कसोरी हाम्फाल्दै आएँ। संक्रान्ति मान्नुपोर्छ भनेर पो!' दावाले स्पष्टीकरण दिन्छ।

यसअघि पनि दावा कहिलेकाहीँ हराउँथ्यो।

चन्द्रे उसको लंगौटिया यार। चन्द्रेको हजुरबा पञ्चायतकालको प्रधानपञ्च। त्यतिखेर नै चन्द्रेले हात पारेको थियो, भरुवा बन्दुक। चन्द्रेका हजुरबाले त कहिल्यै सिकार खेलेनन् तर बाउले भने बेलामौका कालिज र मृगको सिकार गरिबस्थे। चन्द्रेले बाउसँगै जाँदाजाँदै सिकेको थियो सिकार खेल्न। अनि, कहिलेकाहीं ऊसँग साथी लाग्न दावा पनि जान्थ्यो। सिकार मारेको दिन धेरथोर भाग पाउँथ्यो दावाले पनि। योपटक पनि दावा त्यसरी नै हराएको अनुमान आइतीमायाले गरेकी थिई।

'मुर्दार। टोपल्छ। मोलाई थाहा छ। दुई–दुई रात बस्नुपोर्छ बँदेल ढुकेर? हाम्लाई थाहा छ, माया गोर्छ कि गर्दैन,' आइतीमायाले ओठ लेपारी।

'लु छोट्। म काट्छु आबु। तोंलाई गाह्रो पोर्छ।'

दावाले यसो भन्दै आइतीमायाको दाहिने गालामा च्वाक्क म्वाइँ खाइदिन्छ।

आइतीमायाले दाहिने कुहिनाले दावालाई घचेटिदिन्छे। दावा भक्लक्क लड्छ। आइतीमाया खितिती हाँस्छे। दावा जुरुक्क उठ्छ। आइतीमायालाई घुर्‍यानमाथि लडाउँछ अनि आइतीमायाको खुट्टामाथि आफ्नो दुइटै खुट्टा खाप्छ। आइतीमाया उठ्न बल गर्छे। दावाको मिचाइ झन् बढेर जान्छ। आइतीमायाको लुंगी सरक्क सार्छ।

मुर्दार भन्दै आइतीमाया फेरि खितिती हाँस्छे। उसले अब माइती जाने कुरा बिर्सिन्छे।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो...

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी...

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...