अब हिँड्ने बाटो

शनिबार, ०५ चैत २०७३, १४ : ५७ केशव श्रेष्ठ


केही वर्षअघि आर्थिक र राजनैतिक दुवै क्षेत्रमा सक्रिय रहेका केही व्यक्तिले मेरो सहयोगको अपेक्षा गरे। तिनको योजना बडो महत्वकाङ्क्षी थियो। झन्डै छ लाख कार्यकर्ताको साझेदारीबाट पुँजी निर्माण गरेर करिब ३० मेगावाटको विद्युत् आयोजना बनाउने। त्यसका लागि सहकारी संस्था दर्ता भएको थियो । विगत तीन वर्षदेखि सहकारीमा रकम सङ्कलन गरिएको थियो । कुनै सदस्यले तीन वर्षअघि पैसा लगाएका थिए त कसैले भर्खरै मात्र । सदस्यहरू झन्डै दुई हजार पुगेका थिए । जलविद्युत् आयोजनामा लगानी सुरु नै भएको थिएन । बीचमा केही आयमूलक छोटो समयको काम गरिएको थियो । त्यसको प्रतिफलको वितरण केका आधारमा गर्ने भन्ने द्विविधामा उनीहरू थिए।

यो खासै ठूलो कुरो थिएन । मैले पुँजी लगानीको मात्रा र पुँजी प्रयोग भएको समयको भारित अनुपातका आधारमा प्रतिफल वितरण गर्दा पूर्ण न्यायोचित हुनेछ र विवाद पनि आउने छैन भनेर उपाय सुझाइदिएको थिएँ । यो कुनै खास ठूलो समस्या नै थिएन तर उनीहरूले चाहिँ साँच्चैको गजब उपाय निकालिदिएको भनेर मलाई मज्जैले फुक्र्याएका थिए त्यतिबेला । सहकारीको साधारण सभामा नसुहाउँदो र लाजै लाग्ने पारामा बडो बुद्धिमानको पगरी गुथाइदिएका थिए।

सायद मेरो काम मन पराएरै होला, त्यतिबेला ती राजनैतिक प्राणीहरूले छ लाख जनता र कार्यकर्तासँग पुँजी निर्माण गर्दा के कस्ता प्रक्रियाहरू अपनाउने हो, त्यसको निर्देशिका बनाउने जिम्मा मलाई दिए। कार्यकर्ता हुन् कि जनता, जहाँ लगानीको कुरो पहिले आउँछ, त्यहाँ ती पहिले लगानीकर्ता हुन् । उनीहरूको लगानीको सुरक्षा सर्वप्रथम चासोको विषय हुनुपर्छ । त्यसपछि लगानीकर्ताबीचमा विश्वासको वातावरण बनाइराख्नु अर्को प्रमुख चुनौती हुनेछ । साथै, सङ्कलित लगानी रकमको समुचित र पारदर्शी प्रयोग भएकै हुनुपर्छ । यिनै आधारभूत बुँदालाई आधार बनाएर मैले ‘जनस्तरबाट पुँजी निर्माण निर्देशिका’ बनाइदिएको थिएँ । त्यो पनि उनीहरूको समूहबाट मज्जैले प्रशंसित भयो । थोरै भए पनि मैले पत्रम् पुष्पम् पाएकै हुँ।

यति भएपछि ती राजनैतिक कम उद्यमी नेता मानिसहरूको मप्रतिको आकाङ्क्षा अलि बढ्तै हुन थालेको थियो । मलाई उनीहरूको सङ्गठनमै बसेर सहयोग गरिदिन प्रस्ताव आएको थियो । तर, म परेँ राजनैतिक रूपमा आबद्ध भएर बस्न नचाहने प्राणी । नेता भन्दैमा तर्कहीन लेठो गरियो भने मेरो सहनशीलताको बाँध फुट्न थाल्छ । अझ उर्दीको अह्रनखटन त म झनै सहन सक्दिनँ । त्यसैले सङ्गठनमा बस्ने कुरोचाहिँ पहिलो चरणमै विनम्र अस्वीकार गरिदिएँ । सल्लाह–सुझावको कुरो अर्कै भो । मेरो सल्लाह–सुझावले मुलुकको उद्यमशीलता र अर्थतन्त्रमा इँट्टा थप्छ भनेचाहिँ म जहिल्यै तम्सन्छु ।

भन्ने एकथरी, गर्ने अर्काथरी त नेपालका नेताजीहरूको सर्वोच्च गुण नै भइहाल्यो। सल्लाहकार परामर्शदाताको पगरी गुथेर यसो लागेको, बुझेको सल्लाह दियो तर उनीहरूको कानमा बतासै नलाग्ने। लगानीकर्ताको रकम समुचित प्रयोजन नहुन्जेलसम्म बैंकको एस्क्रो खातामा राखुँ भन्यो, त्यसको लेठो कसले गरोस् भन्ने । रकम जम्मा गर्दा निक्षेप बिमा गरेको बित्तीय संस्थामा राखुँ भन्यो जता मनपर्छ त्यता मनमौजी ढङ्गले राखिदिने। अनि, निर्देशिका मात्र बनाएर के हुन्छ ? मेरा हरेक सल्लाह पाखा लगाइन थालेपछि अघोषित पद्वीको अघोषित राजीनामा ठोकेर म बाहिरिँदो भएँ।

कुरा ठूला छन्। छ लाख लगानीकर्ता जुटाउने कुरो छ । ३० मेगावाटको जलविद्युत् आयोजनाको कुरो छ। वित्तीय अनुशासनचाहिँ त्यस्तो फितलो। राजनेता वा राजनैतिक प्राणीहरूको मथिङ्गलमा आफैँमात्र बुझेको, आफूमात्र ठीक भन्ने कुरोचाहिँ किन र कसरी घुसेको होला ? अचेलका बूढा नेताहरूको केटाकेटी कुरो सुन्नुभयो भने खालि दुइटा कुरा हुन्छन् । कि त मैले ००७ सालमा, ०१७ सालमा यसो गरेँ, उसो गरेँ भनेर कथाकुथुङ्ग्री सुनाउँछन् कि त संसारभरका जम्मै कुरा आफैँले जानेको र बुझेको बखान लडाउँछन् । बुझ्दो न सुझ्दो टुँडिखेलतिर कुद्दो भन्या यही पो हो कि ?

त्यसको केही समयपछि यस्तै जनस्तरबाट पुँजी निर्माणको निर्देशिका हाम्रा लागि पनि बनाइदिनुपर्‍यो भन्दै एउटा व्यावसायिक समूह फेरि मेरो सम्पर्कमा आयो । जनतालाई सानदार पाँचतारे स्तरको घरेलु हवाई सेवा दिने भन्दै उनीहरूको महत्वाकाङ्क्षी योजना सुनाइयो। जनस्तरबाट पुँजी निर्माण निर्देशिका त तयारै थियो, जुन उनीहरूलाई उपलब्ध गराइयो। त्यसपछि उनीहरूले सङ्कलन गरेको सम्भाव्य लगानीकर्ताहरूको जमातलाई बैठक गरेर आश्वस्त गराइदिन हामीसँग सहयोग मागियो । यो अलिक अटपटे कुरा त थियो नै । त्यसबापत उनीहरू र हाम्रोबीच व्यावसायिक लेनदेन के भन्ने पनि प्रस्ट थिएन। यसमा पहिला प्रस्ट हौँ भन्दा तपाईं–हाम्रो कुरा त छँदै छ नि भन्ने काइते भाषा सुनिन्थे । लौ ठीकै छ, काम नै पहिला गरूँ न त भनेर आँटियो । झन्डै ३० जनाजति सम्भाव्य लगानीकर्तालाई अभिमुखीकरण गर्ने कुरो भयो । त्यो कार्यक्रममा लाग्ने चिया–खाजाको खर्च जोहो गर्नूस् भन्दा त पहिला आफैँ खर्च गर्नूस् अनि लगानीकर्ताले लगानी गरे भने खर्चको बिल तिरिदिउँला पो भन्छन् बा।

यहाँ एअरलाइन्स चलाउने कुरा छ, त्यो पनि पाँचतारे स्तरको रे ¤ कामचाहिँ ३० जनालाई अभिमुखीकरणको चिया–नास्ताका लागि एक–दुई हजार खर्च पनि दिन मान्दैनन्। नुनको ढिको पनि नफोर्ने, अलिनो पनि नखाने चाल भएन त यो ? लौ, तिम्रा हुटिट्याउँको खुट्टीले आकाश थामेको पनि देखियो भन्ठान्दै त्यो साझेदारी टुङ्ग्याइयो । त्यसको वर्ष दिन पनि नबित्दै जनतालाई पाँचतारे हवाई सेवा दिने भनिएको त्यो कम्पनीको योजना राम्रैसित धुलिसात् भएको खबर सुन्न पाइयो।

 

योजना र महत्वाकाङ्क्षा मात्र अग्ला भएर कहाँ हुन्छन् र?  चुरो कुरो त प्रतिबद्धता र कामको पो हो त।

यस्ता साथीहरूको अनुभवबाट सिकेर यो अभियानको काम सुरुआतमै बढीभन्दा बढी तयारी गरेर काम सुरु गरिनेछ। गफ धेरै गरियो, अब काम थाल्ने हो । गफले रूपान्तरण हुँदैन । सानै होस् तर काम थाल्नुपर्छ। काम थाल्दा ‘होसे कि जोसे’ गरेर थाल्ने पनि होइन । ‘चट मगनी पट बिहे’को तालले पनि होइन। बरू, कार्य प्रक्रियाको फेहरिस्त बनाउनु राम्रो हुन्छ। कामको माइलस्टोन तोक्ने र त्यही अनुसार अघि बढ्ने हो।

परिकल्पनाको यो तहसम्म आइपुग्दा बिसे नगर्ची कम्पनीको सपनाको आयतन बढेको छ। बृहत् आकारमा लैजान बाँकी छ। लगानीकर्ताहरूसँग व्यक्तिगत पहलमा नाम सङ्कलन भइरहेको छ। केही मन मिल्नेहरू पहिले नै स्थापना भएका कम्पनीहरूमा कार्यरत छन् । तिनको विस्तार वा नयाँ कम्पनी सिर्जना गर्ने दुईमध्ये कुनै मोडलबाट अघि जान सकिने अवस्था छ।

यस्ता उद्यमहरू सरकारी–निजी सहभागितामा हुन सके सुनमा सुगन्ध हुने हो । हालसम्म सरकारसम्म प्रस्ताव लैजान सकिएको छैन । हाम्रो सरकारसम्म पुग्ने बाटो पनि छैन, पहुँच पनि छैन । यसो भन्दैमा चुप बस्ने कुरो पनि भएन । ठूलो कुरा काम थाल्नु हो । निजी क्षेत्रबाटै थालौँ भन्ने मनसुवा छ । समय बित्दै जाँदा सरकारको पनि आँखा पर्ला वा पार्न सकिएला भन्ने लागेको छ । अहिलेका लागि सार्वजनिक तहमा गएर सुरुआत गरौँ भन्ने हो । यो पुस्तक पनि आफैँमा बहस र कार्यान्वयनको प्रस्तावना हो । नढाँटी भन्ने हो भने पुस्तकले पाठक र लगानीकर्ताको ध्यानाकृष्ट गरोस् र धेरै मान्छे अभियानमा समावेश होऊन् भन्ने चाहना हो।

धेरैपटक बोलियो– हामी नेपाली लगानीकर्ता अगुल्टाले हानिएका प्राणी हौँ । हामी बेला–बेलामा तर्सन्छौँ, जुन स्वाभाविक हो । हाम्रो कार्यशैलीमा पारदर्शिता र इच्छित परिणाम सादृश्य हुनु जरुरी छ । हामी सार्वजनिक रकम परिचालनको कुरा गर्दै छौँ जुन आफैँमा संवेदनशील विषय हो । यसमा हाम्रो इमानदारी कायम रहन जरुरी छ ।

यो अभियानको परिकल्पनामा हाम्रो कार्ययोजनाका चरणहरू हुनेछन् । यी चरणहरूमा परिष्कार ल्याउँदै जान सकिनेछ । अभियानमा संलग्न लगानीकर्ताहरूको लगानी सुरक्षणका साथै उच्च व्यावसायिक नैतिकता, सार्वजनिक हितमा योगदान र पारदर्शी कार्यप्रणाली आदि आधारभूत धरातलहरूमा चाहिँ सम्झौता नगरिने प्रतिबद्धता रहनु जरुरी छ ।

अभियानका बारेमा सर्वसाधारण र लगानीकर्ताहरूमाझ अभियानको औचित्य बुझाउनु निकै जरुरी छ । कुरा जतिसुकै राम्रो भए पनि लक्षित वर्ग र समुदायसम्म सूचना प्रवाह भएन भने त्यसको प्रभावकारिता घट्छ नै । साथै, अभियानका चरणबद्ध प्रक्रिया र सरोकारवालाहरूको काम र त्यसका प्रभाव पनि विस्तृत रूपमा बुझ्न र बुझाउन जरुरी हुन्छ । यो अभियानको सङ्क्षिप्तीकृत योजना पत्र–पत्रिकामा प्रकाशित गरी सर्वसाधारणलाई सुसूचित गर्न सकिन्छ । रेडियो, टेलिभिजन आदि अन्य मिडियाहरूको समेत सहयोग लिन सकिन्छ । अभियानमा आबद्ध भई योगदान दिन चाहने लगानीकर्तालाई नामाङ्कन गर्न उनीहरूको विवरण सङ्कलन सुरु हुनेछ । सामान्य प्रश्नावलीको माध्यमबाट यस्तो विवरण सङ्कलन हुनेछ । लगानीकर्ताहरूको विवरण सङ्कलन इमेललगायतका विद्युतीय माध्यमबाट समेत गरिनेछ । यसो गर्दा जहाँसुकैका नेपाली लगानीकर्ताहरूले पनि सहभागिता जनाउन सक्नेछन् साथै लगानीकर्ताहरूसँग प्रत्यक्ष भेटघाटबाट प्रश्नावली सङ्कलन गर्न जनशक्ति परिचालन गरिनेछ । सुरुआतमा अभियान र बिसे नगर्ची कम्पनीका मूल्य, मान्यता, उद्देश्य र लक्ष्यका बारेमा सुसूचित गर्ने र अभियानमा विश्वास गरी योगदान गर्न चाहने लगानीकर्ताहरूको विवरण सङ्कलन गर्ने हो । अभियानको आरम्भमा लगानीकर्ताहरूबाट कुनै रकम उठाइने छैन । रकम उठाउने र दुरुपयोग हुन सक्ने सम्भावनालाई रोक्न हरसम्भव उपाय गरिनेछ । अभियानका बारेमा बुझाइ कम भएबाट यस्तो अभियान अनियन्त्रित हुन सक्ने सम्भावनालाई ध्यान दिँदै पूर्ण सचेतनाका साथ कार्यान्वयन गरिनेछ।

राम्रा कुरा फितलो हिसाबले सुरु हुँदा अप्रभावकारी हुन सक्छन् । यो गति विज्ञानको नियमजस्तै हो । उकालोमा गाडीको रफ्तार घटाएपछि जति एक्सिलेटर दबाए पनि पुरानो गति र शक्ति हासिल हुन सक्तैन। त्यस्तै राम्रा कुरा गतिलो तरिकाले सुरु भएनन् भने परिणाम अपेक्षित नआउन सक्छ । यो कुरा अभियानका क्रममा बिर्सनु हुँदैन।

विद्यालयहरूमा एकता नै बल हो भनेर पढाइन थालेको धेरै भयो । एउटा छेस्को भाँच्दा प्याट्टै भाँचिने तर धेरै छेस्काको मुठो बनाए भाँच्न नसकिने कथा सुनाएको पनि पुस्तौँ भइसक्यो । तर, खोइ त हामीले ती कथालाई वास्तविकतामा परिणत गर्न सकेको ? सायद हामी राम्रा कथावाचक मात्र हौँ । कथा रमाइला हुन्छन् तर तिनका प्रयोग नहुँदासम्म ती परिवर्तनकारी हुन सक्दैनन् ।

रामायणमा आफ्नो बल र सामथ्र्य नचिन्ने हनुमानको प्रसङ्ग छ । अर्काले तिमी त पवनपुत्र हौ, यति बलशाली हनुमान हौ भनेर नचिनाउँदासम्म हनुमान सामान्य बाँदरको मात्र भूमिकामा थिए रे ¤ कतै हामी पनि त्यस्तै भएका त होइनौँ ? सायद हाम्रो सामथ्र्य चिनाउन पनि आज बिसे नगर्चीहरूको खाँचो छ।

बिसे नगर्चीको खोजी अभियानमा जनसमुदाय आकृष्ट भएपछि लगानीको आकार, आयतन र प्रभावकारिताको विस्तृत विवरण बनाइनेछ ताकि त्यसको भविष्यमा समुचित सदुपयोग गर्न सकियोस्। त्यसपछि भनेको लगानीकर्ता र अभियानका अभियन्ताहरूबीच प्रत्यक्ष छलफल हुनु आवश्यक रहन्छ। अभियानको मूल्य, मान्यता र उद्देश्यका बारेमा लगानीकर्ताहरूको फरक बुझाइ हुन सक्छ, जसलाई मेटाउनु जरुरी हुन्छ । योजना कार्यान्वयन गर्नु भनेको आर्थिक सम्बन्धमा आबद्ध भएर काम सुरु गर्नु हो । त्यसैले आर्थिक सम्बन्ध कायम हुनुअघि अभियान वा कम्पनीको वैचारिक धरातल तथा कार्यसम्पादन तरिकाप्रति समान बुझाइ र सहमति अनि दिगो सम्बन्ध कायम हुनेमा सबै जना विश्वस्त हुनु जरुरी हुन्छ। यो नै अभियानको सफलताको जग हो । त्यसैले यो चरणमा संयम र सावधानी अपनाउनु र उत्साह कायम राख्नु पनि उत्ति नै जरुरी हुन्छ । अनावश्यक रूपमा हौसिने र तर्सिने कुरालाई अभियन्ता र लगानीकर्ता दुवै पक्षले नियन्त्रणमा राख्नुपर्नेछ ।

केशव श्रेष्ठको 'समृद्धिको बाटो' को पुस्तकांश







यसमा तपाईको मत

अन्य समाचार

आलुको  सभापतित्वमा कार्यक्रम

आलुको  सभापतित्वमा कार्यक्रम

हाँस्य कलाकारको बाक्लो जमघट थियो । जब अजय अधिकारी सुशील मञ्चमा उक्लिएर कार्यक्रम चलाउन थाले । अनि छुट्यो हाँसोको गुन्जायस्...

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

संगीतकार गुरुङलाई गीतकार संघको सहयोग

छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झलझली, दोष कसैलाई दिन चाहन्न जस्ता कालजयी गीतका गीतकार तथा संगीतकार शुक...

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

सास्ती खेप्दै रुबीबाट फर्कियो ‘नीरफूल’

धादिङको रुबी भ्यालीमा दुई साता लामो छायांकन पछि फिल्म ‘नीरफूल’ युनिट काठमाडौं फर्केको छ। सात दिनको समय तालिका मिलाएर रुबी...

वस्तीको नेपाली लेखाउने काइदा

वस्तीको नेपाली लेखाउने काइदा

भाषामा भए गरेका गाईजात्राले आहत भएका भाषाविद् शरच्चन्द्र वस्तीले भाषाशुद्धी र एकरूपताका लागि ‘नेपाली कसरी लेख्ने ?’ ...