१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अपायकमा केन्द्र तोकिँदा असन्तुष्टि

पश्चिमेली ब्युरो

नेपालगन्ज- स्थानीय तह पुनःसंरचना गर्दा जिल्ला प्राविधिक समितिले बुझाएको प्रतिवेदनविपरीत केन्द्र तोकिएको भन्दै राप्तीसोनारी गाउँपालिकावासीले असन्तुष्टि जनाएका छन्। समितिले राज्य स्थानीय तह पुनःसंरचना आयोगसमक्ष बुझाएको प्रतिवेदनमा उक्त गाउँपालिकाको केन्द्र साबिक कचनापुरको अगैयालाई तोकिएको थियो। तर सरकारले राजपत्रमा प्रकाशित गरेको सूचनामा उक्त गाउँपालिकाको केन्द्र कचनापुरको साबिक गाविस कार्यालयमै राखिएपछि जनस्तरमा तीव्र असन्तुष्टि बढेको हो।

राप्तीसोनारी गाउँपालिकामा साबिकका खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी समेटिएका छन्।

विरोधस्वरुप साविक ६ वटै गाविसका राजनीतिक दलका प्रतिनिधिले मंगलबार गाउँपालिका कार्यालय उद्घाटन कार्यक्रम बहिष्कार गर्दै कचनापुरमा राखिएको साइनबोर्ड लगेर अगैयामा टांगेका थिए। साबिकको कचनापुर गाविस कार्यालयमा केन्द्र राख्दा सबैलाई अपायक पर्ने जिकिर गर्दै तत्काल निर्णय सच्याउन स्थानीयले माग गरेका छन्। केन्द्र अगैयामा नै स्थापना गरी जनचाहना अनुरुप कार्यान्वयन गर्न राप्तीसोनारी गाउँपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिीले बुधबार विभिन्न निकायमा ज्ञापनपत्र बुझाए।

अगैयामा सिनो हाइड्रो कम्पनीले निर्माण गरेको ४२ कोठे संरचना स्थानीय विद्यालयको मातहतमा आइसकेको र उक्त विद्यालयको प्रयोजनमा नरही खाली अवस्थामा रहन गएकाले सो संरचना उपयोग गर्दा राप्तीसोनारी गाउँपालिका केन्द्र सञ्चालनार्थ समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ।

राप्तीसोनारी गाउँपालिका–१ खासकुश्माका कांग्रेस एकाइ सभापति टीकाराम बस्नेतले जिल्ला प्राविधिक समितिको सिफारिसविपरीत राजपत्रमा सूचना प्रकाशित हुँदा आश्चर्य परेको बताए। ‘अगैयामा नै केन्द्र बनाउने भनेर पहिले सर्वसम्मत सिफारिस भएर गएको हो,’ उनले भने ‘तर अहिले एक्कासी साबिक कचनापुर गाविस कार्यालयलाई नै गाउँपालिका केन्द्र बनाएको सूचना आउँदा उदेक लागेको छ।’

चित्त नबुझेर सर्वदलीय र सर्वपक्षीय भेलाको निर्णयबाट राप्तीसोनारी गाउँपालिकाको बोर्ड अगैया लगेर टाँगेको बस्नेतले बताए। कचनापुर गाउँ जंगलको बाटो हँुदै राजमार्गबाट ५ किलोमिटर भित्र पर्ने भएकाले सबैलाई अपायक पर्ने उनको जिकिर छ। ‘कस्को बदमासीले एक्कासी निर्णय बदलियो,?’ उनले प्रश्न गरे। कचनापुर एमाले नेता तेजबहादुर ओलीले सबैलाई पायक पर्ने ठाउँमा केन्द्र बन्नुपर्ने बताए। ‘यातायात सुविधा पुगेकोे, रातबिराता पनि जान सक्ने ठाउँ अगैया हो, जिल्ला प्राविधिक समितिले अगैया केन्द्र सिफारिस गरेर पठाएको अवस्थामा अचानक उल्टो निर्णय आउँदा दुःख लाग्यो,’ उनले भने। साबिक गाविसका सबै दलका प्रतिनिधि अगैयामा केन्द्र राख्न एकमत रहेको दाबी उनको छ।

बैजापुरनिवासी माओवादी केद्रका नेता एवं पूर्व सभासद पट्टु थारुले निर्णय नसच्चिदासम्म गाउँपालिकाको कामकाज सञ्चालन हुन नदिने चेतावनी दिए। पहिलो चरणमा भद्र रुपले दबाबमूलक कार्यक्रम गर्ने र त्यसपछि पनि निर्णयमा पुनर्विचार नगरे सशक्त आन्दोलन चर्काउने उनले बताए। ‘हाम्रो गाउँपालिका केन्द्र अगैयाबाहेक अरु ठाउँमा हुन सक्दैन, किनकी अगैया सबैका लागि पायक ठाउँ हो र आवश्यक पूर्वाधार पनि तयारी अवस्थामा छ,’ थारुले भने।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्ला प्राविधिक समितिको सिफारिसविपरीत राजपत्रमा प्रकाशित सूचना संशोधन गर्नुपर्ने अवस्था आए पहल गर्ने आश्वासन दिए। ‘गाउँपालिकाको निर्वाचन भएर पनि केन्द्र संशोधन हुन सक्छ, त्योभन्दा अगाडि पनि संशोधन गर्नुपर्ने अवस्था आए सहयोग गर्छु,’ पन्थले भने। स्थानीय विकास अधिकारी एवं राज्य पुनःसंरचना जिल्ला प्राविधिक समिति संयोजक हरि प्याकुरेलले जनस्तरबाट आएको मागलाई सम्बन्धित निकायमा पठाउने र आफूले पनि रायसुझाव दिने बताए। १ हजार ४१.७३ वर्ग किमि क्षेत्रफलमा फैलिएको उक्त गाउँपालिकाको जनसंख्या ५९ हजार ९ सय ४६ छ। 

चुलिँदै असन्तुष्टि

रुकुममा सकारले कार्यान्वयनमा ल्याएको स्थानीय तहको केन्द्रप्रति साविक तकसेरा गाविसका वासिन्दाले असन्तुष्ट जनाएका छन्। पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने भन्दै पहिलादेखि नै आन्दोलनरत स्थानीय तकसेरा गाविसमा नभई अन्यत्रै केन्द्र राखिएपछि थप असन्तुष्ट भएका हुन्।

नयाँ संरचनाअनुसार कोल, तकसेरा, रन्मामैकोट, हुकाम, जाङ र राङसी गाविस समेटेर पुथा उत्तरगंगा गाउँपालिका बनाइएको छ। जसको केन्द्र साबिकको कोल गाविस कार्यालय तोकिएपछि तकसेरावासी असन्तुष्ट बनेका हुन्। यसको विरोधमा आन्दोलन गर्ने तकसेरावासीले बताएका छन्।

'निर्णय नसच्चिए हामी कोही पनि स्थानीय चुनावमा सहभागी हुँदैनौं', पुथा उत्तरगंगा गाउँपालिका तकसेरा केन्द्र सरोकार समिति संयोजक जुद्ध बुढाले भने, 'गाउँपालिका केन्द्र हुनका लागि तकसेरामा सबै कुरा पुगेको छ। यति हुँदाहुँदै पनि राजनीतिक स्वार्थले अन्यत्रै केन्द्र बनाउनु हाम्रा लागि दुर्भाग्य हो।'

कार्यनिर्देशिका अनुसार गाउँपालिका केन्द्र बनाउँदा मापदण्ड पूरा भएको हुनुपर्छ। 'हाम्रो गाउँपालिकाको मध्यभागमा तकसेरा छ, अन्य मापदण्ड पनि पुगेका छन्, सञ्चार सुविधा छ, सडक यातायात सुविधा छ, जोखिममुक्त भूभाग छ', बुढाले भने, 'यति हुँदा पनि किन तकसेरा केन्द्र बनेन्?' यसको जबाफ यहाँका जनतालाई राज्यले स्पष्ट रुपमा दिनु पर्ने उनले बताए। पहिला यहाँका बासिन्दा तकसेरा गाविसलाई नै एउटा गाउँपालिका बनाउनुपर्ने अडानमा थिए। यसबाट लचिलो भएर उनीहरूले तकसेरामा गाउँपालिका केन्द्र माग गरेका थिए। स्थानीय विकास अधिकारीले भने प्राविधिक समस्याका कारण तकसेरामा केन्द्र बनाउन नसकिएको बताएका छन्।

पुरानै ठाउँमा केन्द्र बनाउन दबाब

बाजुरामा बाँधु, रुगीन र बिच्छ्या गाविस मिलाएर हिमाली गाउँपालिका बनाउन स्थानीय सहमत भए। गाउँपालिका बनाउने सहमतिसँगै केन्द्र पनि टुंगो लगाए। साबिक तीन गाविसको बीचमा पर्ने भट्टेचौरमा केन्द्र बनाउने सहमतिसहित आयोगमा प्रस्ताव गरियो। तर, आयोगको प्रतिवेदन कार्यान्वयनमा आउँदा भट्टेचौर केन्द्र परेन। राजपत्रमा प्रकाशित प्रतिवेदनअनुसार बाँधु गाविस कार्यालयमा केन्द्र तोकिएको छ। बिच्छ्याबाट बाँधु पुग्न हिँडेर २ दिन लाग्छ। भौगोलिक सीमा र अवस्थालाई ख्यालै नगरी केन्द्र तोकिएको बिच्छ्यावासीको आरोप छ। 'गाउँमा सेवा दिने भनेर संघीय संरचना निर्माण गरिए। हाम्रा लागि न्याय होइन, अन्याय भयो, बिच्छ्याका धर्मलाल सुनारले भने।

जिल्लामा ९ वटा स्थानीय तह तोकिएका छन्। तीमध्ये ५ वटा स्थानीय तहका केन्द्र प्रस्ताव गरिए अनुसार छैनन्। जसले स्थानीयबीच नै विवाद बढेको छ। 'सर्वपक्षीय सहमतिमा एउटा निर्णय गरेर पठाइयो, माथिबाट अर्कै निर्णय भएर आयो, जनताबीच झगडा गराउने काम भयो,' दहकोटका गोरख बोहराले भने।

साबिक दहकोट, मानाकोट र बडिमालिका नगरपालिका– १ मिलाएर बनाइएको गौमूल गाउँपालिका केन्द्र पनि मानाकोट तोकिएको छ। जसको केन्द्र घटमुना बनाउन स्थानीयले सुझाव दिएका थिए। 

ब्रह्मतोला, बाह्विस र कुल्देवमाडौं गाविस मिलाएर बनाइएको गाउँपालिकाको केन्द्र फालासैन प्रस्ताव गरिएकोमा टाँटे सारेदेउ भएर आएपछि विवाद उत्पन्न भएको छ। एक पक्षले सरकारको परिपत्र अनुसार नै केन्द्र हुनुपर्ने भन्दै कार्यालय स्थापना गरिसकेको छ भने अर्को पक्ष आन्दोलित भएको छ। बाह्विस र बह्मतोलाका स्थानीयले कुल्देवमाडौंको पुरानै गाविस भवनमा तोकिएको केन्द्र अस्वीकार्य भएको डम्मर थापाले बताए।

त्यस्तै जगन्नाथ र गोत्री गाविस मिलाएर बनाइएको पाण्डव गुफा गाउँपालिकाको केन्द्र जुड्डी प्रस्ताव गरिए पनि जगन्नाथ गाविस कार्यालय तोकिएको छ। हाल जगन्नाथमै कार्यालय स्थापना भए पनि बहुमतबाट निर्णय गरेर पछि जुड्डीमै केन्द्र सारिने गोत्रीका कृष्ण बमले बताए। वाई, जुकोट र साप्पाटाको केन्द्र सुुइजिउला प्रस्ताव गरिएकोमा वाई भएर आएको छ। जहाँ पुग्न साप्पाटाबाट एक दिन पैदल हिँड्नुपर्छ।

सर्वपक्षीय सहमतिमा गरिएको प्रस्ताव बेवास्ता गर्दै केन्द्र तोकिएकाले सच्याउन माग राखेर असन्तुष्टले जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएका छन्।

 सरकारले गरेको निर्णयमा आफूले बोल्न नमिल्ने समन्वय समिति जिल्ला सचिव प्रकाशराज पौडेलले बताए।

जाजरकोटमा पनि विवाद

जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकामा केन्द्र विवाद चर्किंदै जाँदा दुई ठाउँमा कार्यालय उद्घाटन भएको छ। राज्य पुनःसंंचरनाका लागि गठित स्थानीय प्राविधिक समितिले नगरपालिकाको केन्द्र खगेनकोटको दल्लीमा हुने सिफारिस गरे पनि सरकारले भने गाविस कार्यालय रहेको स्थानमै केन्द्र राख्न परिपत्र गरेपछि विवाद चुलिएको हो। सांसद रीता रावलले दल्लीस्थित रणबहादुर ओलीको घरमा कार्यालय उद्घाटन गरिन् भने साविक खगेनकोट गाविसका लेखा सहायक लोकेन्द्र केसीले सरकारी परिपत्रअनुसार गाविस कार्यालय रहेको मनमईमा उद्घाटन गरे। दल्लीमा आयोजित कार्यालयमा लहँ, डाडाँगाउँ र खगेनकोटको दल्ली क्षेत्रका बासिन्दाको सहभागिता थियो भने मनमईमा आयोजित कार्यक्रममा खगेनकोट, मैदे, हलचौर, मनमै, रग्दा र भगवतीका बासिन्दाको सहभागिता थियो। रग्दाका स्थानीय नरबहादुर रावतले जिल्लाबाट सर्वसम्मत गएको निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताए।

जाजरकोट जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले राजपत्रमा केन्द्र जहाँ तोकिएको भए पनि दलीय हमतिले पायक पर्ने स्थानमै केन्द्र निर्धारण हुने बताए।

अर्जुन ओली/नेपालगन्ज, गणेश विक/रुकुम, कृष्ण ओली/बाजुरा, जनक केसी/जाजरकोट

 

 

 

प्रकाशित: ६ चैत्र २०७३ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App