७ वैशाख २०८१ शुक्रबार
खेल

स्पिनर चम्कँदा कप्तान आश्चर्यचकित

वेलिङटन- दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले शनिबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई ८ विकेटले हराएपछि असम्भव विजय हासिल गरेको बताएका छन्।

स्पिनर केशव महाराजले करियरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिएपछि न्युजिल्यान्डको दोस्रो इनिङ धराशयी बनेको थियो। त्यसपछि पाएको ८१ रनको लक्ष्य दक्षिण अफ्रिकाले २५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। पाँचौं सेसनमा हात पारेको जितसँगै दक्षिण अफ्रिकाले तीन टेस्ट शंृखलामा १–० को अग्रता लिएको छ।

न्युजिल्यान्डका कप्तान केन विलयम्सनले दोस्रो इनिङमा टोली १ सय ७१ रनमा अलआउट हुनुलाई ‘धेरै खराब प्रयास’ भनेका छन्। तर, दक्षिण अफ्रिकाका कप्तान डु प्लेसिसले लगनशीलताको उदाहरण भनेर प्रतिक्रिया दिए। ‘यस सिजनमा केही समय जित असम्भवजस्तै थियो,’ डु प्लेसिसले थपे, ‘हिजो लन्चसम्म ९०–६ को अवस्था थियो। यसबाट लामो समयसम्म ब्याटिङ गर्न सक्यौं, जसले जित सम्भव भयो। हाम्रो ब्याटिङ पक्ष निकै राम्रो रह्यो। टोलीले दबाब चिर्न सफल भयौं।’

शुक्रबार लन्चअघि दक्षिण अफ्रिका ९४–६ को अवस्थामा थियो। तर, सबै विकेट गुमाउँदा टोलीले ३ सय ५९ रनको योगफल खडा गर्दै पहिलो इनिङमा ९१ रनको अग्रता लियो।

फ्ल्याट पिच र दिनको समयमा न्युजिल्यान्डले बलियो पुनरागमन गर्न सक्थ्यो। तर, घरेलु टोलीको दोस्रो इनिङ ६३.२ ओभरमा समाप्त भयो। करियरकै राम्रो ब्याटिङ गरेका जित रावलले ८० रन बनाए। उनले विजे वाटलिङसँग छैटौं विकेटका लागि ६५ रनको साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ उकास्ने संकेत गरेका थिए। तर, रावल आउट भएपछि थप १६ रन जोड्दा न्युजिल्यान्डले सबै विकेट गुमायो।

बायाँहाते स्पिनर महाराज र तीव्र गतिका बलर मोर्ने मोर्केलको बलिङसामु न्युजिल्यान्डका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। महाराजले ४० रन दिएर ६ विकेट लिए। उनको करियरमै यो उत्कृष्ट प्रदर्शन हो भने ६ टेस्टमा ५ विकेट लिएको यो दोस्रो पटक हो। त्यस्तै विलियम्सनको महŒवपूर्ण विकेट लिएका मोर्केलले ५० रन दिएर ३ विकेट लिए।

स्पिनरलाई सहयोग नगर्ने पिचमा महाराजको सफलताबाट कप्तान डु प्लेसिस आश्चर्यमा परेको बताए। ‘हाम्रा दुवै स्पिनरले आज राम्रो बलिङ गरे। उनीहरूको एकरूपको बलिङका कारण न्युजिल्यान्डका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्।’

त्यसअघि हरियो पिचमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलरले राम्रो गर्ने अनुमान गरिएको थियो। तर दक्षिण अफ्रिकाको दुवै इनिङमा स्पिनरले राम्रो गरे। महाराजले ८७ रन दिएर ८ विकेट लिए भने  पहिलो इनिङमा जेपि डुमिनीले ४६ रन दिएर ४ विकेट लिए।

न्युजिल्यान्डका कप्तान विलियम्सनले प्रदर्शनबाट असन्तुष्टि व्यक्त गर्दै कमजोरी सुधार्नुपर्ने बताए। ‘हामीले धेरै राम्रो गर्नुपर्छ,’ उनले थपे, ‘यहाँ स्पिनरले यति राम्रो गर्नु नपर्ने हो। त्यसैले हाम्रो ब्याटिङ पक्ष राम्रो हुन सकेन।’

दक्षिण अफ्रिकाका मोर्केलले टोम लाथम, विलियम्सन र नैल ब्रुमलाई आउट गरेपछि घरेलु टोली दोस्रो इनिङमा ६४–३ को स्थितिमा थियो। विलयम्सन पुनः एक रनमा आउट भएपछि अन्य ब्याट्सम्यानले न्युजिल्यान्डको इनिङ सम्हाल्नुपर्ने थियो तर ब्रुम (२०), हेनरी निकोल्स (७) र जेमी निशम (४) ले जम्मा ३१ रन मात्र जोड्न सके।

रावल र वाटलिङले न्युजिल्यान्डको इनिङ सम्हाल्ने प्रयास गरे पनि त्यो पर्याप्त भएन। ५३ रनको अवस्थामा रावलको क्याच डुमिनीले छुटाए। त्यस्तै ६७ रनको अवस्थामा पनि रावल भाग्यमानी रहे। अन्ततः महाराजको बलमा क्विन्टन डी ककबाट स्टम्पिङ भए। वाटलिङ पनि महाराजकै बलमा डुमिनीबाट क्याच भए।

८१ रनको लक्ष्य पूरा गर्ने क्रममा हसिम अमलाले अविजत ३८ र डुमिनीले अविजित १५ रन जोडे। त्यसअघि डी ककले ११ र डिन एल्गरले १७ रन बनाए। न्युजिल्यान्डका टिम साउथी र नैल वागनरले १/१ विकेट लिए। तेस्रो तथा अन्तिम टेस्ट शनिबार ह्यामिल्टनमा हुनेछ।

प्रकाशित: ६ चैत्र २०७३ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App