काठमाडौं- 'नाइँ नभन्नू ल' निर्माण समूहले कीर्तिपुरमा रहेका एचआइभी पीडितलाई आर्थिक सहयोग गरेको छ। हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम कीर्तिपुरमा रहेको बेबी लाइफ होमलाई शनिबार प्रदान गरेको हो। प्रदान गरेको राशिको रकम एक लाख रुपैयाँ रहेको छ।
रकम प्रदान गर्न फिल्म निर्देशक विकास आचार्य, कलाकार विजय लामा, निर्देशक मुस्कान ढकाल, कलाकारहरु अनुभव रेग्मी, पल शाह, आँचल शर्मा, गायक हेमन्त शर्मा, नरहरि प्रेमी, गायिका रजिना रिमाल, कीर्तिपुर पुगेका थिए।
फिल्मले गत साल पनि यसरी नै हङकङको प्रदर्शनबाट उठेको एक लाख एचआइभी संक्रमित बालबालिकालाई प्रदान गरेका थिए। यसपटक भने निर्देशक विकास आचार्यले २५ हजार रुपैयाँ आफ्नो तर्फबाट थपेर दिएका थिए।
उनले सहयोग रकम सानै भए पनि बालबालिकामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। 'रकम ठूलो त हैन तर पनि उनीहरुमा हाम्रो चिन्ता गर्ने पनि कोही छन् भन्ने सोच उत्पन्न होस् भन्नका लागि रकम दिएका हौं,' आचार्यले भने।
बेबी लाइफ होममा २४ जना एचआइभी संक्रमित बालबालिका रहेका छन्। रकमसँगै निर्माण समूहले बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा समेत उपलब्ध गराएका थिए। हङकङमै बसोबास गर्दै आएका अशोक गुरुङले फिल्म प्रदर्शनको चाँजो मिलाई त्यसबाट उठेको रकम बालबालिकालाई छुट्याएका हुन्।
प्रकाशित: २७ असार २०७३ ०३:४४ सोमबार