१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

दिव्य खालिङको स्मृतिमा स्वराञ्जली

काठमाडौं- संगीतकार दिव्य खालिङको निधन भएको दशौं वर्षको स्मृतिमा आइतबार राष्ट्रिय नाचघरमा गीतसंगीत पस्केरै स्रष्टाहरुले 'स्वराञ्जली' कार्यक्रम गरे। खालिङद्वारा लिखित तथा संगीतवद्ध गीत गाउँदै बजाउँदै कलाकारहरुले श्रद्धाञ्जलि दिए।

साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर तथा शुभारम्भ द म्युजिकल जर्नीले संयुक्त आयोजना गरेको कार्यक्रममा मीरा राणा, विमला राई, लोचन भट्टराई, शैलेस सिंह, प्राश्ना शाक्य, मीना निरौलालगायत गायकगायिकाले खालिङका गीतहरु पस्के।

'मेरो मनको बाँसुरीमा नौलो भाका हाली' बोलको राष्ट्रिय गीतबाट कार्यक्रम सुरु भएको थियो। गायिका कुन्ती मोक्तानले पनि राष्ट्रिय भाव भरिएको 'पहाडजस्तो बनिदेऊ तिमी' बोलको गीत गाइन्।

दार्जिलिङमा जन्मेकै कारण लामो समय नेपालमा बसे पनि उनले आजीवन प्रवासी भएर विताएका थिए। नेपालको शिक्षा क्षेत्रमा सांगीतिक शिक्षा दिँदै नयाँनयाँ गीतसंगीत सिर्जनामा उनी अन्तिम अवस्थासम्म सक्रिय रहे।

उनको योगदानको कदर गर्दै यो दोस्रो स्मृतिको कार्यक्रम गरिएको आयोजकका तर्फबाट फिल्मकर्मी तथा साहित्यकार प्रकाश सायमीले बताए। उनले खालिङले पछिल्लो जीवन नेपाली माटो र संगीतक्षेत्रमा समर्पित गरेको प्रष्ट्याए।

उनको पहिलो गीतमा स्वर भरेकी मीरा राणाले त्यही गीत उनको स्मृतिमा प्रस्तुत गर्दा निकै भावुक भइन्। ‘त्यो गीत सायद दाइले भाउजु ग्रेसलाई सम्झेर लेख्नुभएको थियो, त्यही मलाई गाउन दिनुभयो,’ राणाले भनिन्। तर त्यतिबेला रेकर्ड भएर हराएको गीतको शब्द गायिका डेजी बराइलीले उपलब्ध गराएकी थिइन्।

मेरा सुर अनि संगीतहरुमा ...

गर्छु समर्पण हजुरलाई

मेरा साँझहरु

मेरा आवाजहरु...

निकै मन हर्ने शब्द र संगीतमा क्लासिकल सुरमा राणाले स्वर भर्दा सुन्नेहरुमा पनि मोहकता छाएको थियो। उनका समकक्षी दीपक जंगमले खालिङ निकै सशक्त, मौलिक र निडर रहेको उल्लेख गरे। ‘कार्यक्रमको पूर्व तयारीको दिन फरक शैली र स्वरुपमा देखिन्थे, ’उनले भने, ‘गीतसंगीतमा हामीले गर्न नसक्ने जोखिम मोल्न तयार हुन्थे।’

'मलाई नसोध कहाँ दुख्छ घाउ' बोलको गीत नारायण गोपालले गाउँदा पियानोको धुन बिगारेपछि दुईबीच घम्साघम्सी नै परेको जंगमले स्मरण गरे। गायक भक्तराज आचार्यले गाएको 'जति चोट दिन्छौ देऊ मायालु' र 'हजार आँखा हेर्ने मेरी मायालुलाई' जस्ता कालजयी संगीत भरेकाले खालिङ सधैं श्रोतामाझ बाँचिरहने उनले बताए। गायिका बिमला राईले भूपाल राईले लेखेेको र खालिङले संगीत भरेको 'उड्दै आयो चिठी चरी'मा उनको स्मरणमा सुनाइन्।

पुराना पुस्ताका गायकगायिकालाई मात्र हैन उतिबेला भर्खर संगीत क्षेत्रमा बाटो खोजिरहेकालाई पनि सिकाउन र प्रेरणा दिन खालिङ पछि पर्दैनथिए। उनकै बाटोमा हिँड्न सिकेका गायिकाहरु प्राश्ना शाक्य र जुना प्रसाई समकालिन हुन्।

‘उहाँले गीत गाउन लगाउँदा टेक लिन पाइँदैन थियो,’ जुनाले सम्भि्कन्, ‘एउटाले गाएको गीत अर्कोले हेर्न र सुन्न पाउँदैन थिए।’ प्राश्नाले पनि एकपटक प्रसाईलाई गाली गर्दा गीत गाउने बेला डरले आफू रोएको उल्लेख गरिन्। पहिले गाली गरे पनि पछि फकाउने बानीले उनका शिष्यहरु उनका निकट थिए। शाक्यले गाएको खालिङको संगीत रहेको 'मुटुभित्र चोट लाग्यो, बल्झाई नदेऊ' गीत निकै कर्णप्रिय थियो।

नयाँ पुस्ताका शैलेस सिंहले गाएको 'मेरो सानो संसार, तिमीलाई अटेन' गीतले पनि खालिङको संगीतको तह र ओज अझै उच्च रहेको देखाउँथ्यो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा देखिएका पुराना फिल्मकर्मी चेतन कार्कीले नेपाल र नेपाली गीतसंगीतलाई माया गर्ने एउटा स्रष्टा दिव्य खालिङ नै रहेको बताए। ‘तर रक्सौलबाट छिर्नेहरुले खल्तीमा नेपाली नागरिकता बोकेर छिर्दा आजीवन नेपालको संगीतमा योगदान गरेका उनले भने नेपाली नागरिकता पाएनन्,’ कार्कीले थपे, ‘नेपाली सरकारसँग पटकपटक आग्रह गर्दा दिन्छौं भने तर नागरिकता दिएन, न त नेपाली संगीतमा गरेको योगदानको कदर नै गरे।’

गायक दीप श्रेष्ठ, शक्तिवल्लभलगायत विभिन्न स्रष्टाले खालिङप्रति श्रद्धासुमन व्यक्त गरे भने संगीत संयोजन शैलेस सिंहले गरेका थिए।

 

प्रकाशित: २७ असार २०७३ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App