८ वैशाख २०८१ शनिबार
अर्थ

ठूलालाई लाभैलाभ, साना मर्कामा

काठमाडौं- बैंकहरुले लगानीयोग्य पुँजी अभाव देखिएको भन्दै कर्जाको ब्याजदर उच्च बनाएका छन्। केही महिनाअघिसम्म ६/७ प्रतिशतसम्ममा सजिलै उपलब्ध गराइँदै आएको कर्जाको ब्याजदर छोटो समयमा १२ प्रतिशतसम्म पुर्‍याइएको छ।

यसको सिधामा मारमा भने साधारण निक्षेपकर्ता र ऋणी (व्यवसायी) परेका छन्। बैंक र व्यवसाय दुवै सञ्चालन गरिरहेकालाई भने कर्जाको ब्याजदर बढ्दा  खासै चिन्ता छैन। किनकि, ऋणमा ब्याज बढ्दा उनीहरुलाई बैंकबाट उच्च नाफा हुन्छ, ब्याजदर न्यून हुँदा व्यवसायबाट। त्यसैले ब्याजदर बढाउँदा पनि अधिकांश व्यवसायीले आवाज उठाएका छैनन्।

विज्ञका अनुसार बैंकर र व्यवसायी एउटै व्यक्ति हुँदासम्म बैंक ब्याजदर उच्च रहने संकेतसमेत हो यो।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडा बैंकर र व्यवसायी एकै व्यक्ति हुँदा वास्तविक व्यवसायीलाई मर्का परेको बताउँछन्। 'बैंकर र व्यवसायी एकै व्यक्ति हुँदा जसले व्यवसाय मात्र गरेको छ, तिनीहरुलाई समस्या परेको छ', उनले नागरिकसँग भने, 'बैंकर र व्यवसायी दुवैमा जो–जो एकै व्यक्ति छन्, उनीहरुलाई कर्जाको ब्याजदर बढ्दा बैंकबाट नाफा हुने र घट्दा व्यवसायबाट आम्दानी हुने गर्छ।' तर, उद्योग–व्यवसाय मात्र गर्नेलाई कर्जाको ब्याजदर बढ्दा व्यवसायबाट नोक्सान हुने गरेको पूर्वगभर्नर खतिवडाको भनाइ छ।

अहिले धेरैजसो ठूला लगानीकर्ताले बैंक र व्यवसाय दुवै सञ्चालन गरिरहेका छन्। उनीहरुलाई दुवै हातमा लड्डुजस्तै छ। व्यवसाय मात्र गर्नेलाई भने कर्जाको ब्याजदर बढ्नेबित्तिकै ऋणको उच्च ब्याज तिर्नुपर्दा व्यवसाय नै लथालिंग हुने चिन्ता छ।

बैंकहरुले लगानीयोग्य पुँजी अभाव भएको भन्दै कर्जाको ब्याजदर उच्च बनाएका छन्। पहिला ६/७ प्रतिशतसम्ममा सजिलै उपलब्ध गराउँदै आएको कर्जाको ब्याजदर छोटो समयमा १२ प्रतिशतसम्म पुर्‍याइएको छ।

'छोटो समयमा  ब्याजदर उचाइमा पुग्दा वास्तविक व्यवसायीले हैरानी बेहोर्नुपरेको छ', पूर्वगभर्नर खतिवडाले भने, 'बैंकर र व्यवसायी दुवै भएकालाई समस्या छैन।'

एउटै व्यक्ति बैंकर र व्यवसायी हुनेले ब्याजदर बढ्दा पनि खासै चासो देखाएका छैनन्। उनीहरुलाई ब्याजदर बढ्दा वा घट्दा पनि खासै फरक पर्दैन। तर, जो वास्तविक उद्योगी वा व्यवसायमा मात्र संलग्न छन् उनीहरुले पनि एउटै व्यक्ति बैंकर र व्यवसायीबाट ओझेलमा परेका छन् र चर्को ब्याजदरको खुलेरै विरोध गर्न सकेका छैनन् ।

वास्तविक उद्योग–व्यवसायीलाई समस्या नपरोस् भनेरेै बैंकर र व्यवसायी छुट्ट्याउनुपर्ने आवाज उठाएको पनि पूर्वगभर्नर खतिवडाले बताए।

बैंकर र व्यवसायी एउटै व्यक्ति हुँदा सुशासनमा समेत समस्या आउने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। 'कन्फ्िलक्ट अफ इन्ट्रेस्ट देखिने भएकाले पनि यसलाई छुट्ट्याउनैपर्ने हो', उनले भने।

राष्ट्र बैंकले संस्थागत सुशासन निर्देशिकामार्फत थालेको बैंकर र व्यवसायी छुट्ट्याउने अभियानलाई संसद्ले उल्ट्याइदिएको छ। यसअघि गभर्नर खतिवडाले बैंकर र व्यवसायी एकै व्यक्ति हुँदा संस्थागत सुशासनमा गम्भीर असर परेको र वित्तीय प्रणाली नै धराशयी भएको भन्दै यस्तो अभियान थालेका थिए। तर, उनको कार्यकाल बैंकर र व्यवसायी छुट्टिने प्रक्रिया थाल्नुअघि नै सकिएको थियो।

'ऐनले नै एकै व्यक्ति बैंकर र व्यवसायी दुवै हुने कुरालाई संस्थागत गर्न खोजियो भने आपत्तिजनक हुन्छ', राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन्, 'यस्तो व्यवस्थाले त बैंकिङ क्षेत्र नै समस्यामा पर्न सक्छ।' उनका अनुसार राष्ट्र बैंकले बाफिया संशोधनको प्रमुख उद्देश्य नै व्यवसायी र बैंकर छुट्ट्याउने थियो।

विगतमा बैंक तथा वित्तीय संस्थालाई सञ्चालन स्वीकृति दिँदा असावधानी अपनाइएकाले बैंकर र व्यवसायी एउटै भएको पूर्वगभर्नर खतिवडाले प्रस्ट पारे। खतिवडा गभर्नरमा नियुक्त हुँदादेखि नै बैंकर र व्यवसायी एउटै हुन नहुने बताउँदै आएका थिए। उनी गभर्नर हुँदा व्यवसायीले बैंक र अन्य व्यवसायमध्ये एक रोज्नुपर्ने बताएका थिए।

'बैंकरले बैंक चलाउने हो,' केन्द्रीय बैंकका प्रवत्ता पौडेलले भने, 'व्यवसायीले होइन।'

बैंकर र व्यवसायी एकै व्यक्ति भए अधिक र न्यून तरलताको चक्रबाट बाहिर निस्कन नसकिने पनि पूर्वगभर्नर खतिवडाले बताए।

'यो चक्रबाट बाहिर निस्कन बैंक व्याज दर पारदर्शी र उपयुक्त हुन आवश्यक छ', उनले भने। एकैचोटि अधिक तरलता हुने र त्यसैगरी तरलता न्यून भएर जाँदा अर्थतन्त्रमै समस्या पर्ने बताए। बैंकर र व्यवसायी छुट्ट्याएका कारण सन् १९८० को दशकमा विश्व अर्थतन्त्रमा देखिएको आर्थिक संकट सजिलै समाधान गर्न सकिएको पनि पूर्वगभर्नर खतिवडाले जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाले सरकारी खर्च बढ्न नसक्दा लगानीयोग्य पुँजी अभाव खेप्नुपरेको छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार निक्षेपको तुलनामा कर्जा वृद्धिदर बढी देखिएको छ। बैंकहरुले चालू आर्थिक वर्षको छ महिनामा कर्जा विस्तार १६ प्रतिशत र निक्षेप आठ प्रतिशतले मात्र बढाएकाले लगानीयोग्य पुँजी अभाव भएको राष्ट्र बैंकको भनाइ छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन पनि दिइसकेको छ। लगानीयोग्य पुँजी अभाव भएको भन्दै छोटो समयको मुद्दती खातामा १२ प्रतिशत ब्याज दिएर निक्षेप तानिरहेका बैंकहरुले उच्च दरमा निक्षेप लिएर कम ब्याजदरमा कर्जा लगानी गर्दा नोक्सान हुने भएकाले एकपछि अर्को गर्दै कर्जाको ब्याज बढाएका छन्। बैंकले न्यूनतम ब्याज ११ प्रतिशत पुर्‍याएका छन्। चर्को ब्याजदरको असर वास्तविक उद्योगी र व्यवसायीलाई परेको छ।

बैंकहरु आफ्नो गल्तीको सजाय ऋणीहरुलाई बोकाएर आफू नाफामात्र कमाउन लागेकाले यसबाट अर्थतन्त्रमा विचलन आउन सक्ने उद्योगी–व्यवसायीको चिन्ता छ।

प्रकाशित: ७ चैत्र २०७३ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App