७ वैशाख २०८१ शुक्रबार
राजनीति

आयोगको निर्णय विरुद्ध राप्रपाद्वारा धर्ना


पाल्पा – निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय अगाडी जुलुस सहित धर्ना गरेको छ । राप्रपाले सोमबार नै जिल्ला निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ । 
    राप्रपाको ज्ञापनपत्र बुझाउँदै निर्वाचन कार्यालय अगाडी एक घण्टा धर्ना गरेको हो । धर्ना पछि ज्ञापनपत्र बुझाउँदै अध्यक्ष डुलबहादुर कुँवरले संविधान गतिशील दस्तावेज भएकोले संशोधनकालागि राप्रपा लागि पर्ने बताए । कुँवरद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, संसारको कुनै पनि संविधान शत प्रतिशत पूर्ण हुँदैन । संविधान निर्माणका क्रममा केही विषयहरुमा फरक मत राखेको पार्टीले संविधानप्रति आलोचनात्मक समर्थनमात्र गरेको हो । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले भने, ‘संविधानका कतिपय प्रावधानप्रति असहमति कायम राख्ने, आलोचना गर्ने र जनताको विश्वास जितेर परिवर्तन गर्ने अधिकार प्रत्येक नागरिक एवं राजनीतिक दलको संवैधानिक एवं प्रजातान्त्रिक हक हो । राप्रपाले केही व्यवस्थामा असहमत छ तर संविधानको पालना र कार्यान्वयनमा पूर्णतः प्रतिबद्ध छ ।’
ज्ञापनपत्र बुझ्दै जिल्ला निर्वाचन अधिकृत धर्मा बेलवासेले पार्टीको ज्ञापनपत्रलाई निर्वाचन आयोगमा पठाउने बताईन् । राजतन्त्र र हिन्दुराष्ट्रका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएको राप्रपाले आफ्नो आधारभूत मान्यता र औचित्यतामा प्रश्न उठाएकोमा असन्तुष्टि जनाएको हो । 
निर्वाचन आयोगले राप्रपाको विधानबाट राजसंस्था र हिन्दुराष्ट्र हटाएको भन्दै सो पार्टीले त्यसविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार जिल्ला सदरमुकाममा सोमबार जुलुससहित गएर जिल्ला निर्वाचन कार्यालयसमक्ष ज्ञापनपत्र बुझाउने र एक घन्टा निर्वाचन कार्यालयअगाडि धर्ना दिने, काठमाडांैमा निर्वाचन आयोगको कार्यालय बहादुर भवनअगाडि एक घन्टा धर्ना दिने र आयोगसमक्ष ज्ञापनपत्र बुझाउने, उक्त निर्णयबाट पार्टीको संवैधानिक हक खोसिएको बारे कानुनी उपचार खोज्नेलगायत संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । त्यसैगरी, चैत तेस्रो साताबाट हिन्दुराष्ट्र पुनःस्थापनाको माग राखेर देशव्यापी शान्तिपूर्ण सडक संघर्ष गर्ने, धर्म्निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि तत्काल संसद्मा संविधान संशोधन प्रस्ताव पेस गर्ने तथा सदनमा सशक्त रूपमा आवाज उठाउने कार्यक्रम घोषणा गरेको छ ।
 

प्रकाशित: ७ चैत्र २०७३ ०९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App