मधेसमा द्वन्द्वको आगो

मङ्गलबार, ०८ चैत २०७३, १० : २० बीना झा


म सानो छँदा कैयौंपल्ट मेरो गाउँमा आगो लागेको देख्थें र अचानक सबै मानिस आगो निभाउन दगुर्थे। केहीबेरको सामूहिक प्रयासपछि आगो नियन्त्रित हुन्थ्यो, त्यसपछि खोजबिन हुन्थ्यो– कसरी, कसको लापरबाहीले आगो लागेको हो। अनि, पीडितलाई पुनःस्थापित गर्न एकापसमा सहयोग गर्थे।

आगो निभाउँदानिभाउँदै पनि दुई–चार घर नष्ट भइसक्थ्यो। क्षति ठूलो हुन्थ्यो।

आज बाल्यकालका ती घटना मानसपटलमा आइरहेको छ। किनकि वर्तमानमा हाम्रो समाजमा सद्भाव खलबलिएको, आपसी अपनत्व डढाउने आगो लागेको देख्दै छु। यो आगोले हामी सबैलाई पोल्छ र पीडामा राखेको छ। तर, आगो निभाउने प्रयास कसैबाट भएको देख्दिनँ। निहित स्वार्थवश लगाइएको यो आगोमा डढ्ने र मर्ने सर्वसाधारण नेपाली जनता नै होइनन् र? यो आगो निभाउने जिम्मा कसको त? राज्यको हो, यसमा कुनै दुई मत छैन। तर, समाजका हरेक व्यक्तिको सामूहिक प्रयास नभईकन यो आगो निभाउन सकिएला?

यसमा समाजका हरेक बुद्धिजीवी र  पेसाकर्मी शिक्षक, लेखक, पत्रकार डाक्टर सबैको सामूहिक प्रयास जरुरी छ, जसले समाजका प्रत्येक व्यक्तिले समानुभूति महसुस गरुन् र सद्भाव खलबलिने आगो बिस्तारै निभोस्।

लेखकले शब्दका माध्यमले, शिक्षकले शिक्षाको माध्यमले, राज्यका हर संयन्त्रले आफ्नो व्यवहारका माध्यमले सामाजिक सद्भाव बढाउने प्रयास गर्नुपर्ने हुन्छ। पीडा र अपमानको अनुभूति गरेकालाई यस्तो अनुभूति किन गरिस् भन्नु अवश्य पनि बुद्धिमानी होइन। कसरी, कुन व्यवहारले यस्तो अनुभूति भएको हो, यसमा कहाँ कमजोरी भएको छ, त्यसलाई सच्याउनु जरुरी हुन्छ, यो सामाजिक दायित्व पनि हो।

क्षणिक रुपमा हेर्दा त कुनै व्यक्ति वा समुदाय मात्र पीडामा देखिन्छ तर यसलाई बेवास्ता गरिराख्ने हो भने एउटा घरमा लागेको आगोले पूरै गाउँ नै जलाउन सक्छ।

सामाजिक सद्भाव खलबलिँदा कोही पनि त्यसको प्रभावबाट बच्न सक्दैन। एकको पीडामा अर्को हाँस्ने हो भने जित सधैं तेस्रो पक्षकै हुन्छ।

जिम्मेवार निकायका व्यक्ति र सर्वसाधारणको सोचमा परिवर्तन नआएकाले मधेसको समस्या बढिरहेको छ।

जब परिवर्तन एक पक्षमा मात्रै आउँछ र अर्को पक्ष परिवर्तित हुँदैन वा हुन चाहँदैन, त्यहाँ द्वन्द्व सुरु हुन्छ। मधेसका जनतामा चेतनाको स्तर बढ्यो तर केन्द्रमा सत्तामा रहेकाले शक्ति विकेन्द्रीकरण गर्न चाहेनन्, सम्पूर्ण शक्ति आफूमै केन्द्रित गर्न चाहे, जसले गर्दा समस्या उत्पन्न भयो। स्वस्थ समाज जहिले पनि शक्ति, सम्पत्ति र सम्मानमा अडेको हुन्छ। जब यी तीन तŒवमाथिको पहुँच र पकड असमान, असहज र अन्यायपूर्ण बनाइन्छ, तब समाजमा विभेद हुन्छ र द्वन्द्व उत्पन्न हुन्छ। समानताका लागि मधेसको वर्तमान समस्या पनि यसैको सेरोफेरोमा रहेको छ। मधेस आफैंमा समस्या होइन, त्यसप्रति भएका दुराग्राही सोचले समस्या जन्माएको हो। राज्य र मधेसबीचको दूरी बढाउने काम राज्य स्वयंले गरेको छ। त्यस आगोमा घिउ थप्ने काम आसेपासे र  क्षेत्रीय बुद्धिजीवी सबैले मिलेर गरेका हुन्। जसरी कि अहिले अमेरिकामा डोनाल्ड ट्रम्प आउनासाथ बाह्य मुलुकका व्यक्तिले अपमान र अपेक्षित भएको महसुस सबै क्षेत्रबाट गर्न थालेका छन्। किनकि नेतृत्व वर्गले गलत व्यवहार गर्‍यो भने अरुले पनि त्यसलाई बढाउने कार्य गर्छ, धेरै टाढा जानुपर्दैन, संविधानसभा निर्वाचन– ०७० पछि गठन भएका कांग्रेस, एमाले र माओवादी केन्द्रको  सरकारले गरेका नियुक्तिलाई सरसर्ती हेर्दा पुग्छ। कांगेसले एक सय ३० मा १० मधेसी, एमालेले एक सय २२ मा १० मधेसी वर्तमान प्रचण्ड नेतृत्वको सरकारले ४० मा तीन मधेसी नियुक्त गरे। अब यो खाकाले समावेशिताको अनुभूति गराउन सक्छ त? कि समावेशी शब्दको रटानले समावेशी बनिन्छ? ०६३ देखि ०७३ सम्म मधेस सल्किरह्यो कल, बल र छलको पीडा भोगी रह्यो तर कतैबाट पनि शब्द, व्यवहार र कार्यले अपनत्व पाउन सकेन। सत्ताबाहिर गइसकेपछि मधेसीलाई धर्तीपुत्र भने पनि सत्तामा रहने कसैले पनि मधेसीको अपमान गर्नु हुँदैन भन्न सकेनन्। मधेसबाट जितेर आउने तर सिंहदरबारमा छिर्नासाथ बोली, व्यवहार र कार्यले मधेसीलाई लŒयाउने पुरानै बेइमान प्रवृत्ति रहिरह्यो । पात्र जति फेरिए पनि प्रवृत्ति फेरिएन, जसले गर्दा मधेस राज्यप्रति झन्झन् भयभित र सशंकित हुँदै गयो। पहिलेदेखि नै बिच्किएको मन झन्झन् टाढा हुँदै गयो। राज्यसँग जनता टाढिनु भनेको धेरै नै विषम परिस्थिति आउने संकेत हो। किनकि अहिलेको २१औं शताब्दीमा जहाँ हामी अन्तर्राष्ट्रिय मानव अधिकारको कुरा गर्छौं, आधुनिक वैज्ञानिक आविष्कारले गर्दा विश्व जोडिएको देख्छौं, त्यहाँ आफ्नै जनता टाढिनु राम्रो संकेत होइन। जनताको छाती र टाउको ताकेर गरिने हत्याले कसरी अपनत्व जगाउन सकिन्छ?

इतिहासको रटानले वर्तमान बन्दैन तर त्यसको सिकाइले वर्तमानलाई झन् सुन्दर बनाउन सकिन्छ। तर परिवर्तनको प्रयास सामूहिक हुनुपर्छ। कुनै समयमा नेपाली समाजमा रहेको सतीप्रथा, जमिनदारी प्रथा, जातीय आधारमा पाउने सजायको व्यवस्था अहिलेसम्म परिमार्जित र परिवर्तित नगरिएको भए अहिलेको हाम्रो समाज रहँदैनथ्यो होला र अहिलेका विकृति कमी–कमजोरी बेलामै सच्याइएन भने भोलिको नेपाल कस्तो होला भन्न सकिन्न। अहिले मधेसको समस्याले पिल्सिएर गुम्सिन पुगेका सक्षम युवा शक्तिलाई सकारात्मक उपलब्धिका लागि प्रयोग गर्न नसक्नु मधेससँगै देशको पनि दुर्भाग्य हो। यसले अरु दुर्भाग्यलाई पनि निम्त्याउँदै जान्छ।









यसमा तपाईको मत

अन्य समाचार

ओस्कारमा 'सेतो सूर्य'

ओस्कारमा 'सेतो सूर्य'

ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ।...

'मोडल हन्ट'मा र्‍याम्प शो

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका...

छेडछाड विरुद्ध इलियाना

छेडछाड विरुद्ध इलियाना

सेलिब्रिटीलाई फ्यानहरूले जिस्क्याउनु नयाँ कुरा होइन। तर सेलिब्रिटी आफंैले फ्यानले आफूमाथि गरेको दुव्यर्वहारका बारेमा सार्वजनिक गर्नु भने पक्कै नौलो हो।...

तीजको विकृतिमा बहस

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित...