८ वैशाख २०८१ शनिबार
अर्थ

हल्लाकै भरमा बढ्यो सेयर बजार

काठमाडौं- दुई अर्ब रुपैयाँ चुक्ता पुँजी सहित दर्ता हुन आउने नयाँ बिमा कम्पनीलाई बिमा समितिले लाइसेन्स दिने तयारी गरेको हल्ला सेयर बजारमा फैलाइँदा सोमबार सेयर बजार एक्कासि माथि उक्लेको ब्रोकरहरुले बताएका छन्। यसले नेप्सेमा सूचीकृत पुराना बिमा कम्पनीको पनि चुक्ता पुँजी दुई अर्ब पुर्‍याउन दबाब पर्ने अनुमानमा लगानीकर्ता बिमा कम्पनीको सेयर किन्नतिर लागेका हुन्। यस दिन बिमा समूहको सूचक ५६६.८३ बिन्दुले बढेको छ।

बिमा समूहको सूचक बढेकै कारण अरु समूहको सूचक पनि उकालो लाग्यो। उत्पादनमूलक बाहेक सबै समूहका सूचक माथि उक्लिए। सोमबार सेयर बजार मापक नेप्से ४२.१९ बिन्दुले उकालो चढेर १४२४.३८ मा पुगेको छ। दैनिक ५० करोड हाराहारी कारोबार हुँदै आएकोमा सोमबार एक अर्ब २६ करोड रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

लामो समयदेखि सुस्त बजार आइतबारदेखि बढ्न थालेको हो। विशेषगरी बिमा कम्पनीको सेयर बढ्दा समग्र बजारमा उकालो लागेको हो।

बिमासँगै होटल, जलविद्युत र बैंकिङ समूहमा पनि सोमबार बढेका छन्। कारोबार रकममा भने प्रभु बैंक अग्रपंक्तिमा छ। प्रभुको ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुन पुग्यो।

१८८१ बिन्दुमा पुगेको बजार निरन्तर घट्दै आएर नेप्से परिसूचक सवा १४ सयमा आइपुगेको छ। छोटो समयमा बजारमा ठूलो अंकले गिरावट आउँदा अधिकांश कम्पनीको सेयर भाउ निकै सस्तो भइसकेको र यही मौकामा सेयर खरिद गर्दा फाइदा हुने देखेर लगानीकर्ता सेयर खरिद गर्नतिर लागेको ब्रोकरको भनाइ छ।

बजार उच्च बिन्दुमा पुगेको बेला सेयर बिक्री गरेर निस्किएका लगानीकर्ता पुनः सेयर बजारमा फर्कन थालेको अनुमान उनीहरुले गरेका छन्।

विगतमा हकप्रद, एफपिओ र लिलामीका कारण कतिपय लगानीकर्ता त्यतातिर पनि लागेका थिए। ठूला कम्पनीको एफपिओ र आइपिओमा पनि अपेक्षाअनुसार सेयर नपरेपछि फेरि दोस्रो बजारमा लगानीकर्ता आकर्षित भएको अनुमान पनि विश्लेषकले गरेका छन्।

प्रकाशित: ८ चैत्र २०७३ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App