coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठ तस्करीमा संलग्न भएको आरोपमा दुई प्रहरी निलम्बित

धरान- अवैधरुपमा काठ तस्करीको आरोपमा पक्राउ परेका दुई प्रहरीसहित चार जनालाई सेक्टर वन कार्यालयले वन पैदावर ओसारपसार अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ।

वन कार्यालयका अनुसार जिल्ला अदालतले मंगलबार चारै जनालाई थप अनुसन्धानको लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ। धरान २० स्थित प्रस्तावित भवानीथान सामुदायीक वन समुहका उपभोक्ताहरुले आइतबार मध्यराती तस्करीमा संलग्न प्रहरीसहित ४ जनालाई पक्राउ गरेर वनको जिम्मा लगाएको थियो । पक्राउ पर्नेहरुमा विष्णुपादुकास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज हवल्दार खेमबहादुर कुँवर, जवान गंगा लिम्बु र काठ तस्करी गर्ने धरान १८ का विवेक लिम्बु, गाडी चालक विराटनगर ५ का नरेन्द्र कार्की छन् । उनीहरुले विष्णुपादुकास्थित के एण्ड के एग्रिकल्चर एण्ड रिसर्च सेन्टरको को १ च ७३८१ नम्बरको बोलेरोमा अवैध काठ धरानतर्फ ल्याइरहेका थिए भने को ४ प ८००७ नम्बरको मोटरसाइकलमा प्रहरीद्धयले सुरक्षा दिइरहेको उपभोक्ताहरुको दाबी छ । वन कार्यालयका अनुसार गाडीमा १८.९५ किबि चिरान गरिएको काठ बरामद भएको छ।

प्रहरीको मिलेमतोमा काठ तस्करीको घटना सार्वजनिक भएपछि सेक्टर वन कार्यालयले रेञ्जर इश्वरीप्रसाद बास्तोलालाई अनुसन्धान अधिकृत तोकेको छ । ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान शुरु गरेका छौं, आज १० दिनको म्याद थप पनि भएको छ’–सेक्टर वनका प्रमुख एवं सहायक वन अधिकृत ज्ञानकुमार लामाले भने–‘प्रहरी हिरासतमा रहेको बारेमा सम्बन्धित कार्यालयलाई जानकारी पत्र पनि पठाइसकेका छौं।’ उनका अनुसार पक्राउ परेका चारै जनालाई तरहरास्थित सशस्त्र वन सुरक्षा शाखा(जिल्ला कारागार)मा राखिएको छ । उनीहरुलाई वन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार अवैधरुपमा वन पैदावार ओसारपसारको मुद्दा दर्ता गरि कारबाही अघि बढाइएको हो।

मुद्दा दर्ता गरेको पत्र प्राप्त भएको जनाउदै इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले म्याद थप भएको मितिदेखि नै लागु हुने गरी हवल्दार कुँवर र जवान लिम्बु निलम्बनमा परेको बताए । कुँवरको ठाउँमा असई काजी खत्रीको कमाण्डमा एक हवल्दार र एक जवान विष्णुपादुकास्थित अस्थाई प्रहरी चौकीमा पठाइएको पनि उनले जानकारी दिए । ‘वनको पत्र प्राप्त भएको छ, म्याद थप भएको मितिले नै दुवै निलम्बन भएका छन् । कुँवरको ठाउँमा असईको कमाण्डमा ३ जना पठाइसकेको छु’–उनले थपे । आइतबार राती करिब ११ बजेट स्थानीयबाट सुचना आएपछि जिल्लाबाट गाडी मगाएर सशस्त्र वन रक्षकसहितको टोली विष्णुपादुका गएको थियो । करिब अढाई बजे वरडाँडा भन्ने ठाउँमा पुगेपछि स्थानीयले काठसहितको गाडी र प्रहरीलाई वनको जिम्मा लगाइदिएका थिए । प्रहरी चौकीको इञ्चार्ज नै पक्राउ परेपछि सोमबार प्रहरी निरीक्षकको नेतृत्वमा वन पुगेको टोलीले चारै जनासँग बयान लिएको थियो।

 

प्रकाशित: ८ चैत्र २०७३ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App