८ वैशाख २०८१ शनिबार
समाज

भँगेरामै छ जे छ

काठमाडौं- एक समय थियो, उपत्यकाका घरमा मानिस मात्र बस्दैनथे, भँगेरा पनि बस्थे। वनस्पतिशास्त्री डा. तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘उति बेला तीनतले एउटा घरमा एक परिवार मान्छे बस्थ्यो, तीस परिवार भँगेरा।’

उनका अनुसार काठमाडौंका रैथाने बासिन्दा घर बनाउँदा भँगेराका लागि गुँड बनाइदिन्थे । घरमा चखुँचा र बखुँचा नामक प्वाल बनाइएका हुन्थे । ती प्वालमा भँगेरा र परेवा बस्थे । श्रेष्ठका अनुसार नेवारीमा चखुँचा भनेको चरा वा भँगेरा हो भने बखुँचा भनेको परेवा हो ।

हुन पनि भँगेरा मानिससँगै बस्ने पन्छी हो । यसको वैज्ञानिक नाम डोमेस्टिक स्प्यारो हो । मानिसकै वरिपरि बस्ने र मानिसकै जुठापुरोसमेत विभिन्न किराफट्याङग्रा खाएर बाँच्ने भँगेरा घर भँगेरा र रूख भँगेरा गरी दुई प्रकारका हुने श्रेष्ठले बताए । जंगलमा नबस्ने भँगेरा टाढासम्म उड्न पनि सक्दैन । त्यसैले यिनीहरूको प्राकृतिक बासस्थान मानव बस्ती र मानिसकै घर हुन् ।

काठमाडौंको महाबौद्ध पुख्र्यौली घर भएका श्रेष्ठको पनि भँगेरासँग अनेक स्मृति छन् । उनी सानै छँदा एकपटक मध्यराति भँगेरा चिरबिराउन थाले । चिरबिरले ब्युँझिएपछि थाहा भयो छिमेककै घरमा आगलागी भएको रैछ । उनी सम्झन्छन्, ‘यसरी भँगेराले भवितव्यको संकेत पनि दिन्थ्यो ।’

तर अहिले गाउँ अनि सहरका घरआँगनमा चिरबिराउँदै उफ्रने भँगेरा हराउँदै गएका छन् । डा. श्रेष्ठ भन्छन्, ‘पाटनको कृष्णगल्लीमा भाटभटेनी बन्नुअघि केही रूख थिए । त्यहाँ प्रशस्त भँगेरा चिरबिराउँथे । तर अहिले भाट पनि छ भटेनी पनि छ तर भँगेरा हरायो ।’ आधुनिक बस्ती विकास भँगेरामैत्री नभएका कारण बिस्तारै भँगेरा हराउन थालेको उनको तर्क छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कविता नै लेखेका छन्—

‘कुरा गर्छन् कसरी

भँगेरा र भँगेरी

चुरचुर गर्छ भँगेरो

चिरचिर गर्छे भँगेरी...

पहिलेपहिले भँगेरा मानिसको बालस्मृतिसँग कुनै न कुनै रूपमा जोडिएको थियो । तर अहिलेका बालबालिकाले भँगेरालाई किताबका पाना र कवितामा मात्र हेर्नुपर्ने अवस्था छ ।

श्रेष्ठका अनुसार भँगेरा हराउँदै जानु मानव स्वास्थ्य र सभ्यतासमेत संकटमा रहेको संकेत हो ।

भँगेरा हराउँदा मानिसको जीवनमा कस्तो असर पर्छ भन्ने हेर्न चीनको उदाहरण पर्याप्त छ । सन् १९५९ देखि १९६१ सम्म चीनमा उपियाँ, मुसा र लामखुट्टेसहित भँगेरा निर्मूल पार्ने अभियान चलाइएको थियो । माओ त्सेतुङको पालामा सरकारले चलाएको अभियानबाट भँगेरा त निर्मूल भए तर त्यहाँ ठूलो भोकमरी लाग्यो।  डा. श्रेष्ठले भने, ‘त्यो भोकमरीपछि किसानका बालीमा लाग्ने हानिकारक किरा खाने भँगेराको महत्व चीनले बुझ्यो ।’

मार्च २० अर्थात् सोमबार भँगेरा दिवसको सन्दर्भमा ‘भँगेरामै छ जे छ’ नारासहित पाटनको यलमाया केन्द्रमा आयोजना गरिएको कार्यक्रममा श्रेष्ठले भँगेराको बासस्थान जोगाउनुपर्ने बताए । कार्यक्रममा कार्टुनिस्ट राजेश केसीले मोबाइल फोनका टावर र रेडिसनका कारण भँगेरालाई असर गरेको सन्देश दिने व्यंग्यचित्र बनाए । रातो बंगला स्कुलका विद्यार्थीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘भँगेरा भँगेरी’ कविता वाचन गरेका थिए । मानिस र वातावरणको साथीका रूपमा रहेको भँगेरा संरक्षण गर्ने उद्देश्यले सन् २०१० देखि बर्सेनि मार्च २० मा भँगेरा दिवस मनाउन थालिएको हो । 

 

प्रकाशित: ९ चैत्र २०७३ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App