पाराग्वे(एपी)– युरोपेली फुटबल संघ (युइएफए) का प्रमुख एलेक्जेन्डर सिफ्रिनले मंगलबार ४८ टोली सम्मिलित विश्वकप आयोजनाका लागि युरोपमा केही राष्ट्र मात्र सक्षम रहेको बताएका छन्।
फिफाले जनवरीमा सन् २०२६ को विश्वकपबाट प्रतियोगितामा सहभागी हुने टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याउने निर्णय गरेको थियो।
चेक फुटबल फेडरेसनको मुख्य कार्यालय भ्रमणका क्रममा प्रतिक्रिया दिँदै सिफ्रिनले प्रतियोगिता आयोजनाका लागि एकै पटक धेरै राष्ट्रले दर्जनभन्दा बढी सुविधाजनक रंगशाला उपलब्ध गराउन कठिन हुने औंल्याएका हुन् ।
‘मेरो विचारमा युरोपमा यस प्रतियोगिता गर्नका लागि सम्भवतः दुई वा तीनवटा राष्ट्र मात्र सक्षम छन्, त्योभन्दा धेरै होइन,’ मिचेल प्लाटिनीको स्थानमा गत सेप्टेम्बरमा युइएफए अध्यक्ष निर्वाचित सिफ्रिनीले भने, ‘अफ्रिकामा पनि कोही छैन । सम्भवतः चीन अथवा अमेरिकामा यो नै पर्याप्त छ । ४८ भनेको ठूलो संख्या हो । यो रोचक हुनेछ ।’
यसअघि सिफ्रिनले ४८ टोलीमध्ये युरोपबाट सहभागी हुने टोलीको संख्या १६ हुनुपर्ने बताएका थिए ।
अमेरिकालाई सन् २०२६ को फिफा विश्वकप आयोजनाको प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।
उनले हालैका दिनमा च्याम्पियन्स लिगमा छनोट हुने टोलीका बारेमा गरिएको परिवर्तनबाट आफूहरू खुसी रहेको बताएका छन् । नयाँ नियमअनुसार प्रिमियर लिग, इटालियन सिरी ए, बुन्डेसलिगा र स्पेनिस ला लिगाका शीर्ष चार टोली स्वतः च्याम्पियन्स लिगको समूहचरणका लागि छनोट हुनेछन् ।
‘हामी अहिलेको नियम परिवर्तन गर्ने सोचमा छैनौं,’ सिफ्रिनले भने ।
सिफ्रिनले सन् २०१६ मा युरो कपमा सहभागी टोलीको संख्या बढाएर २४ पु¥याउनु सही निर्णय भएको बताएका छन् ।
‘यो प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रह्यो,’ उनले भने, ‘धेरै साना राष्ट्र छनोट भए र राम्रो प्रदर्शन गरे । ’
अर्को संस्करणको युरो कप पनि युरोपका विभिन्न देशमा आयोजना हुनेछन् तर सिफ्रिनले फेरि एक पटक आयोजक राष्ट्रको संख्या सीमित हुनुपर्ने बताएका छन् ।
‘दुई राष्ट्र त्योभन्दा धेरै होइन,’ युइएफएलाई सन् २०२० को युरो कप आयोजना गर्न सहज नभएको भन्दै उनले भने, ‘यस्तो भविष्यमा फेरि कहिले हुने छैन, कम्तीमा जबसम्म म यहाँ रहनेछु ।’
प्रकाशित: ९ चैत्र २०७३ ०३:५३ बुधबार