८ वैशाख २०८१ शनिबार
समाज

होटलमा शेर्पा युवक मृत फेला

गाईघाट (उदयपुर)—उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन्। 

शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट बसमा कटारी आएर कटारी बजारको सोलु होटल एन्ड लजमा बास बसेका थिए। तर मङ्गलबार बिहान अबेरसम्म पनि युवक नउठेको र सोही कोठाको अर्को बेडमा सुत्ने अर्का व्यक्तिले युवक नउठेको होटल सञ्चालकलाई बताएपछि घटनाका बारेमा होटल सञ्चालकलाई जानकारी भएको प्रहरीले बताएको छ। 

घटनाका बारेमा जानकारी हुने बित्तिकै होटल सञ्चालकले सो कुरा इलाका प्रहरी कार्यालय कटारीमा खबर गरेको प्रहरीले बताएको छ। प्रहरीको अनुसन्धानपछि मृतक युवाको शवलाई सोमबार नै कटारी अस्पतालमा राखिएको र मृतकका आफन्तलाई सोलुखुम्बुमा सम्पर्क गरेर शव बुझ्न आउन भनिएकाले आजसम्ममा युवकका आफन्त आइपुगेपछि शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाइने इप्रका कटारीका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीले बताए। 

प्रहरीका अनुसार मृतक युवा तीन महिनाअघि नै घर छाडेर भारतको मेघालयतिर गएको र फर्कनेक्रममा भारतमा नै लुटिएको कुरा कटारीमा आइपुगेपछि बेलुकी बास बस्नुअघि होटल सञ्चालकलाई भनेका थिए। युवाले कटारीस्थित होटलमा आइपुगेपछि बेलुकी खाना पनि नखाई सुतेको र आफू बिरामीसमेत भएको होटल सञ्चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ। 

प्रहरीले मृतक युवाको साथमा झोला पनि नभएको र गोजीमा रु आठसय रहेको अनुसन्धानमा देखिएको बताएको छ। अन्य कुरा अनुसन्धान भइरहेको र शवपरीक्षणपछि मात्र थाहा हुने समेत प्रहरीले बताएको छ। रासस 

प्रकाशित: ९ चैत्र २०७३ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App