७ वैशाख २०८१ शुक्रबार
अर्थ

टेलिभिजन अब डिजिटल प्रसारणमा लगिने

काठमाडौं-काठमाडौं उपत्यकासँगै मुख्य सहरमा अझै पनि अधिकांशले टेलिभिजनमा तार जोडैरै च्यानलहरु हेर्ने गरेका छन् । अधिकांश टेलिभिजन ग्राहकले एनालग सिस्टमबाटै टेलिभिजन हेरे पनि डिजिटल प्रविधिबाट टेलिभिजन च्यानल प्रसारण भएको करिब ६ वर्ष पुगिसकेको छ ।

पछिल्लो पटक संशोधित डिजिटल प्रसारणसम्बन्धी ऐनअनुसार नेपाल सरकारले आगामी वैशाख १५ देखि महानगर र उपमहानगरका सम्पूर्ण टेलिभिजनलाई डिजिटल माध्यमको प्रसारणमा लैजाने निर्णय गरिसकेको छ । तर, डिजिटल प्रविधिको प्रचार प्रसार हुन नसक्दा पुरानै सिस्टमबाट टेलिभिजन हेरिरहेको केबल कम्पनीहरुले जनाएका छन् । 

डिस होमले नेपालमा सन् २००९ मा डिजिटल प्रविधिबाट टेलिभिजन हेर्ने प्रविधि भिœयाएको थियो । डिटिएच प्रविधिबाट डिजिटल टेलिभिजन हेर्न सकिन्छ । अहिलेसम्म झन्डै ३० प्रतिशत उपभोक्ताले डिजिटल प्रविधिबाट टेलिभिजन हेर्ने गरेको डिस होमले जनाएको छ । डिस होमका मार्केटिङ म्यानेजर कल्याण अधिकारीले डिजिटल प्रविधिबाट दृश्य गुणस्तर र ध्वनी समेत उत्कृष्ट हुने जानकारी दिए । उपभोक्ताले यो प्रविधि प्रयोग गरेर आफूलाई आवश्यकता अनुसारको प्याकेज लिएर गुणस्तरीय सेवा लिन सकिने अधिकारीको भनाइ छ । उक्त प्रविधिबाट हाइ डेफिनेसन, मुभी डिमान्ड पाउन सकनिे उनले बताए ।

जसरी एनालग सिस्टमबाट टेलिभिजन ग्राहक लुकाउन मिल्छ त्यसरी डिजिटल प्रविधिमा लुकाउन मिल्दैन । यसले राजस्वमा समेत प्रभाव पार्ने भन्दै अधिकारीले भने, ‘डिजिटल प्रविधिबाट वार्षिक ७० करोड राजस्व संकलन हुन्छ । यसले राज्यलाई पनि फाइदा पु¥याउँछ ।’

डिस होमका मार्केटिङ म्यानेजर अधिकारीले भने, ‘यो प्रविधि महंगो छैन, मासिक दुई सय ९० देखि पाँच सय ५० रुपैयाँसम्मको प्याकेज रहेकाले गुणस्तरीय सेवा लिन सकिन्छ ।’

यो आवश्यकता अनुसार लिने प्याकेज हो । आफूलाई नचाहिएको च्यानल नलिन पनि पाइन्छ । मन्त्रालय र केबल महासंघले यस विषयमा निर्णय नै गरिसकेकाले यसमा उपभोक्ता अल्मलिनु नपर्ने अधिकारीले जानकारी दिए । प्रचारप्रसार अभावले गर्दा सहरमा अझै पनि उल्लेखनीय प्रभाव हुन नसकेको उनको भनाइ छ ।

सुबिसुका प्रेसिडेन्ट सुधिर पराजुलीले दुई वर्षदेखि डिजिटल प्रविधि भिœयाएको छ । एनलग सिस्टम गुणस्तरीय नभएकै कारण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा दिनका लागि डिजिटल टेलिभिजन सेवा आवश्यक भएको प्रेसिडेन्ट पराजुलीले जानकारी दिए । यस विषयमा सरकारले प्रचारप्रसारमा जोड दिनुपर्छ भन्दै उनले भने, ‘सुविसुले नयाँ वर्षसँगै डिजिटल प्रविधिका लागि नयाँ–नयाँ स्किम ल्याएका छौं, यसले उपभोक्ताको मन जित्छौं ।’

उनका अनुसार डिजिटल प्रविधिबाट विश्वभरिका हजारौं च्यानल हेर्न सकिन्छ । तर आफूलाई आवश्यक च्यानल मात्रै पनि प्याकेजमा लिन सकिने पराजुलीले जानकारी दिए । सुबिसुले पहिलो तीन महिनाका लागि नौ सय ५० रुपैयाँको प्याकेज ल्याएको छ ।

यस्तै सिम टिभीका म्यानेजिङ डाइरेक्टर दक्ष पौडेल ‘सुभाष’ले घरमा नै बसेर डिजिटल प्रविधिबाट विना झन्झट गुणस्तरीय च्यानल हेर्न सकिने बताए । यसका लागि सरकारसँग केबल कम्पनीहरु पनि वैशाखदेखि एग्रिसिप भएर लागेको जानकारी दिए । अप्टिकल फाइबारकै माध्यमबाट डिजिटल प्रविधिको प्रयोग गर्न सकिने उनको भनाइ छ ।

अहिले  सिम टिभीको डिजिटल प्रविधि प्रयोगकर्ता दुई लाख ५० हजार रहेकामा नयाँ वर्षमा सात लाख ग्राहक बनाउने योजना रहेको म्यानेजिङ डाइरेक्टर पौडेलले जानकारी दिए ।

उनका अनुसार आफू अनुकूल विभिन्न वित्तीय संस्थाबाट रिचार्ज कार्ड लिएर समेत उक्त सेवा लिन सकिने छ । गाउँगाउँमा केबलको तार नपुग्ने भएपछि डिजिटल प्रविधि प्रभावकारी बन्दै गएको पौडेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय प्रसारण मापदण्डअनुसार पनि २०१६ सम्म डिजिटल प्रविधिमै टेलिभिजन च्यानल प्रसारण भइसक्नुपर्ने थियो । तर प्रयोगकर्ता, सरकारी संयन्त्र र व्यवसायीहरुकै कारण पछि परेको केबल कम्पनीहरुको भनाइ छ । नेपालका टेलिभिजनलाई डिजिटल प्रसारणमा लैजान सकेमा यसले देशको राजश्वमा समेत उल्लेखनीय योगदान पुग्ने उनीहरुको भनाइ छ ।

सूचना तथा सञ्चार मन्त्रालयले यस विषयमा बिस्तारै–बिस्तारै एनालग सिस्टमका टेलिभिजन च्यानल बन्द गर्दै लैजाने जनाएको छ । यससँगै सञ्चार मन्त्रालयले डिजिटल प्रविधिका टेलिभिजनलाई व्यवस्थित गर्दै लैजाने निर्णय पनि गरेको छ ।

प्रकाशित: ९ चैत्र २०७३ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App