८ वैशाख २०८१ शनिबार
विचार

खुसी नेपाली

विश्वका खुसी राष्ट्रको सूचीले नेपाली जनता निकै खुसी हुन थालेको सन्देश दिएको छ । एक सय ५५ मुलुकमध्ये नेपालको स्थान ९९ मा रहेको छ । एकातिर, हामी अनकेन समस्यासँग जुधिरहेका छौँ, अर्कोतिर संसारका अन्य मुलुकले विकासको गतिलाई तीव्र पारिसक्दा पनि हामी अव्यवस्थापनको रन्थमोलमा अल्झिएका छौँ । यस्तो विषम परिस्थितिमा पनि नेपालीलाई खुसी पार्ने तत्वबारे जान्न पाउनु निश्चय नै रमाइलो हुनेछ । बेखुसी हुनेहरूका निम्ति ससाना कारण पर्याप्त हुन्छन्, तर खुसी हुनेहरूका लागि पनि केही न केही कारण अवश्य चाहिन्छन् । नेपाली जनता निकै साना कुरामा पनि धेरै खुसी हुँदा रहेछन् भन्ने सन्देश पनि यो सर्वेक्षणले दिएको छ । छिमेकी देश भारतभन्दा बढ्ता खुसी देखिनुका पछाडि हाम्रा नागरिकमा आध्यात्मिक भावनाले बढ्ता काम गरेको हुन सक्छ । स्वान्तसुखायः अर्थात् आफ्नै खुसीका निम्ति काम गर्ने प्रवृत्ति कतिपय नेपालीमा छ । जति धेरै समस्या भए पनि त्यसलाई सहजै पार लगाउँदै जीवन चलाउन जान्ने तŒव हामीमा धेरै रहेको महसुस विदेशीहरूले पनि बेलाबेलामा गरेको देखिन्छ । दुई वर्षअघिको भूकम्पलगत्तै आएका विदेशीहरूले नेपालीमा रहेको परिस्थितिसँग भिड्न सक्ने क्षमता (रिजिलियन्स)का बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चासमेत भएको थियो । दैनिक जीवनमा संघर्ष गरिरहेका भए पनि अरुका लागि सोच्ने र सहयोग गर्ने प्रवृत्तिले नेपालीलाई महान्तम छवि भएका नागरिकका रूपमा चर्चा गरिएको थियो ।

अमेरिकाको न्युयोर्क मुख्यालय रहेको ह्यापिनेस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार नेपाल सार्क क्षेत्रमा तेस्रो खुसी मुलुक बनेको हो । यस क्षेत्रको सबैभन्दा खुसी मुलुक पाकिस्तान र भुटान रहेका छन् । केही वर्षदेखि भुटानले कुल गार्हस्थ्य खुसी अर्थात् ग्रस न्यासनल ह्यापिनेस (जीएनएच)को मापन गर्दै आएको छ। जसरी मुलुकले आर्थिक उन्नति गर्दै गएपछि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्दै जान्छ, त्यहीअनुरूप खुसीको सूचक बढाउन भुटानले पहल गर्दै आएको छ । त्यहाँको सरकारले यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारसमेत गर्दै आएको छ । नेपाल सरकार आफैले भने खुसीका बारेमा यस किसिमको पहल गरेको छैन। तैपनि, नेपालीले खुसी हुनुपर्ने कारण महसुस गरेका रहेछन् भन्ने बुझ्न सकिन्छ । संसारकै मानिसको सपनाको देश मानिने अमेरिका भने गत वर्षभन्दा अलि कम खुसी भएको सूचकले देखाएको छ । नागरिकको औसत आयु, आपसी सहयोगी सामाजिक भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त अन्य प्रकृतिका भ्रष्टाचार, व्यक्तिमा रहेको दया तथा क्षमाशीलताको भावना आदिका आधारमा कुनै पनि मुलुक सुखी वा दुःखी के हो भन्ने पहिचान हुने गर्छ । यस हिसाबले नर्वे संसारकै सबैभन्दा खुसी मुलुकको श्रेणीमा चढ्न पुगेको छ । उता सेन्ट्रल अफ्रिकन रिपब्लिक सबैभन्दा कम खुसी मुलुक देखिएको छ । खुसीका सूचक पहिल्याउन निर्धारित गरिएका तŒवहरू निश्चय नै नेपालमा अधिक रहेको यसले देखाएको छ । भौतिक विकास कम भए पनि अन्य सन्तुष्टिका विषयले नागरिकलाई खुसी तुल्याउन सक्ने रहेछ भन्ने यसबाट स्पष्ट भएको छ ।

त्यसो त भारतीय नाकाबन्दीका बेलामा पनि नेपालीले कुनै बाधाविरोध नगरी सरकारलाई सहयोग गरेका थिए । अन्यथा, पाँच महिना लामो त्यो कष्टकर क्षणले कुनै पनि बेला सरकारलाई अप्ठ्यारो पार्न सक्ने थियो । संविधान जारी भएको असन्तुष्टि प्रकट गर्न भारतले मधेस आन्दोलनलाई हतियारको रूपमा उपयोग गरेको प्रष्ट भइसकेको छ । यहाँ नागरिकलाई असन्तुष्ट पारेर सरकारविरुद्ध क्रियाशील गराउने उद्देश्यसमेत रहेको थियो, तर त्यो कठिनाइलाई सर्वसाधारणले धेरै जटिल नबनाएको देख्दा विदेशीहरू आश्चर्यमा परेका थिए । त्यतिमात्र होइन, त्यस्तो कठिनाइमा पनि राष्ट्रिय चाडबाड हाँसीखुसी मनाएका थिए। खुसी रहन सक्ने राष्ट्रिय चरित्र नेपालीको देखिएको छ । कुनै पनि मुलुकको विकासका निम्ति राष्ट्रिय चरित्र महत्वपूर्ण पक्ष हुन जान्छ । हामी नेपालीको सजिलै खुसी हुन सक्ने प्रवृत्ति निश्चय नै सुखद पक्ष हो। तर, कतै यही प्रवृत्ति हाम्रो अविकासको कारण भने नबनोस् भन्नेतर्फ सजग हुनुपर्छ । व्यक्ति वा राष्ट्रको जीवनमा प्रगति त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला उनीहरूमा आफू र मुलुकप्रति अविकासको छटपटी हुन्छ । बिनाकारण सहजै खुसी हुने प्रवृत्तिले हामीलाई अहिलेकै अवस्थामा राखिरहन सक्छ । नेपालीमा रहेको सहयोगी भावना र आध्यात्मिकताले खुसी बनाएको भए पनि विकासका निम्ति छटपटाउनु आवश्यक छ । घरअगाडि बाटो भत्किएको छ, खुसी भएर बसे कसैले आएर बनाइदिँदैन । कम्तीमा त्यसका लागि सरोकारवालाहरूलाई घच्घच्याउने तहको जागरण आवश्यक छ । ठीकै छ, बाटोमा धुलो उडेर के भयो र यसैले अलिकति भए पनि भिन्न स्वरूप दिएको छ भनेर खुसी हुने हो भने त हामी यस्तै रहन्छौँ । यस्ता अन्तर्राष्ट्रिय सर्वेक्षणले अर्को वर्ष हाम्रो खुसी अरु बढेको घोषणा गरिदिइहाल्ने छन् !

प्रकाशित: ९ चैत्र २०७३ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App