७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

संसारकै स्वस्थ मुटु

दक्षिण अमेरिकी मुलुक बोलिभियाको जंगलमा बस्ने आदिवासी चिमेनेहरुको मुटु सबैभन्दा स्वस्थ पाइएको शोधकर्ताहरुले गरेको एउटा अध्ययनले देखाएको छ। लान्सेन्ट पत्रिकामा छापिएको अध्ययनअनुसार वृद्धावस्थामा पनि चिमेनेहरुको मुटुको धमनीमा समस्या देखिदैन।

बेग्लै किसिमको खुराक र रहनसहनका तरिकाहरुका कारण उनीहरुको मुटु अति स्वस्थ देखिएको र यस किसिमको समूह ‘ज्यादै असाधारण’ रहेको समेत शोधकर्ताहरुले बताएका छन्।

बोलिभियामा अमेजन जंगलमा अति वर्षा हुने स्थानमा बस्ने चिमेनेहरुको जनसंख्या बढीमा १६ हजार रहेको आँकलन गरिएको छ । यो मेनिक्वी नदी किनारामा सिकार गरेर गुजारा चलाउँछन् । उनीहरु माछा पक्रने तथा खेतिपातीसमेत गर्ने गरेका छन् ।

उनीहरुको यस किसिमको जीवनशैली हजारौँ वर्षदेखि यसरी नै चलिआएको छ । हजारौँ वर्ष पुरानो मानव सभ्यतासँग उनीहरुको काम गर्ने शैली मिल्छ । उनीहरुको बस्तीमा पुग्न वैज्ञानिक र चिकित्सकहरुको समूहले निकै लामो यात्रा गर्नुपरेको थियो ।

चिमेने र हाम्रो खुराकमा फरक

उनीहरुको खुराकको १७ प्रतिशत अंश सिकारमा भर पर्छ।

उनीहरुको खान्कीमा ७ प्रतिशत ताजा पानीमा पाइने पिरान्हा र क्याटफिस जातिका माछा अनिवार्य रुपमा हुन्छ।

उनीहरुले भात, मकै र केराजस्ता खाद्यान्न र फल पनि रुचाउने गरेका छन् । यसका अतिरिक्त दैनिक रुपमा सुख्खा फल र बदामजस्ता फल पनि खाने गर्छन् ।

यसको अर्थ, उनीहरुको खुराकमा ७२ प्रतिशत क्यालोरी कार्बोहाइड्रेड हुन्छ । जबकि अमेरिकामा कार्बोहाइड्रेड ५२ प्रतिशत मात्र हुन्छ । अमेरिकी खान्कीमा ३४ प्रतिशत जति चिल्लो पदार्थ अर्थात् फ्याट हुन्छ भने चिमेनेको खान्कीमा जम्मा १४ प्रतिशत फ्याट हुन्छ।

अमेरिकीहरुको खान्कीमा १४ प्रतिशत क्यालोरी प्रोटिनका रुपमा लिने गर्छन् भने चिमेनेहरुको खान्कीमा पनि सोही किसिमको प्रोटिन खाने गरेका छन्।

सामान्यतयाः उनीहरुको स्वास्थ्यको मूल कारक दैनिक रुपमा उनीहरुको हिँडाइ मुख्य जिम्मेवार रहेको देखिन्छ। पुरुष चिमेनेहरुले दैनिक १७ हजार पाइला हिँड्छन् भने महिलाहरु १६ हजार पाइला हिँड्छन् । ६० वर्षभन्दा बढी उमेरका चिमेनेले पनि कम्तीमा १५ हजार पाइला अनिवार्य रुपमा हिँड्नुपर्ने बाध्यता हुन्छ ।

शोधकर्तामध्येका एक क्यालिफोर्नियास्थित लङविच मेमोरियल मेडिकल सेन्टरका डा. ग्रिगोरी थोमस भन्छन्, ‘उनीहरुको बेस्कन हिँड्ने बानी नै हामीले गर्ने चर्को व्यायामभन्दा बढी महŒवको हुने गरेको छ ।’

मुटु कति दह्रो !

सामान्यतयाः चढ्दो उमेरमा सर्वसाधारणले ठूलो सास्ती खेप्ने भनेको मुटुको धमनीमा अवरुद्ध हुने रगतको आवागमन हो । यो कोरोनरी आर्टरी क्याल्सियमका कारणले हुने गर्छ । ७५० चिमेनेहरुमाझ गरिएको अध्ययनले के पत्ता लाग्यो भने ४५ वर्षको उमेरसम्म कुनै चिमेनेको धमनीमा सिएसी अर्थात् कोरोनरी आर्टरी क्याल्सियम थिएन । तर सोही उमेरका अमेरिकीमा २५ प्रतिशतले यस्तो समस्या रहेको पाइयो ।

७५ वर्षको उमेर पुग्दापुग्दै दुई तिहाई चिमेनेमा सिएसीको समस्या बिल्कुलै देखिँदैन जबकि ८० प्रतिशत अमेरिकीमा यस किसिमको समस्या पाइन्छ । क्यालिफोर्निया विश्वविद्यालयका एन्थ्रोपोलोजीका प्राध्यापक माइकल गुर्वेन भन्छन्, ‘यी तथ्य र आँकडाले के देखाउँछ भने यस किसिमको रोग नहुनु भनेको संसारको जुनसुकै देश वा समुदायमा भएकाहरुको भन्दा निकै कम हो ।’ उनका अनुसार चिमेनेको नजिक–नजिक आउनेमध्ये जापानी महिला मात्र छन् ।

गुर्वेन भन्छन्, ‘एक हप्तामा एक पटक व्यायाम गरेर हामीलाई पुग्दैन । हामीले त्योभन्दा बढी मिहिनेत गरेर जिउलाई तङ्ग्र्याउनुपर्ने हुन्छ । साइकल चलाउनुस्, काममा जानुस्, सिँढी चढ्नुस् । अनि मात्र तपाईंलाई व्यायाम पुग्छ ।’

एसेक्स विश्वविद्यालयका क्लिनिकल साइकोलजीका रिडर डा. गेभिन सेन्डरकक भन्छन्, ‘यो त गज्जबकै अध्ययन पाएँ । अहिलेसम्म के लाग्थ्यो भने कार्बोहाइड्रेड स्वास्थ्यका लागि हानिकारक हुन्छ तर यहाँका आदिवासीमा त कार्बोहाइड्रेडले त्यति धेरै हानि पु¥याएको देखिएन । अँ, यो बेग्लै कुरा हो– हामीले कार्बोहाइड्रेड उपयोग गर्दा उनीहरुले जत्ति नै दैनिक रुपमा दह्रो मिहिनेत चाहिँ गर्दैनौँ ।’

बिबिसी

प्रकाशित: ९ चैत्र २०७३ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App