coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सरकारले महानिरीक्षक नियुक्त गर्न सकेन

काठमाडौं- सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षक नियुक्ति गर्न सरकार असफल भएको छ। महानिरीक्षक नियुक्ति हुन नसक्ने स्थिति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रमसमेत मन्त्रिपरिषद्बाट पारित हुन सकेन।

महानिरीक्षकको नियुक्तिका निम्ति एकैदिन दुईपटक मन्त्रिपरिषद् बैठक बोलाइए पनि बस्न सकेनन्। मन्त्रिपरिषद् बैठक स्थगित हुँदा प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको अजेन्डासमेत पारित हुन सकेन। यही स्थितिमा उनी चीन भ्रमणमा जान लागेका छन्।

सरकारले फागुन १ गते प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ति सर्वोच्च अदालतले मंगलबार बदर गरेपछि सरकारले नयाँ महानिरीक्षक नियुक्ति गर्नुपर्ने भएको हो। प्रधानमन्त्री दाहालले चीन भ्रमण जानुअगाबै नेपाल प्रहरीको नेतृत्व टुंग्याउने भन्दै बैठक बोलाएका थिए। त्यसका लागि तयारी अवस्थामा रहन पनि प्रधानमन्त्री दाहालको अनौपचारिक सन्देश प्रहरीकहाँ पुगिसकेको थियो।

'बिहान १० र साँझ ५ बजेका लागि बैठक बोलाइएको थियो तर स्थगित हुन पुग्यो, कारण थाहा पाइएन', कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले बताए। उनका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिदेखि प्रधानमन्त्रीको चीन भ्रमणसहित अन्य नियमित अजेन्डा बैठकका लागि तय भएको थियो।

'प्राविधिक कारण प्रधानमन्त्रीको चीन भ्रमणको अजेन्डा पारित हुन सकेन, पछि मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेगरी सो अजेन्डा सार्वजनिक गरिएको छ', प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नागरिकसँग भने।

प्रकाशित: १० चैत्र २०७३ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App