८ वैशाख २०८१ शनिबार
खेल

भलिबलमा चार खेलाडी डेब्यु गर्दै

काठमाडौं- नेपालले माल्दिभ्समा जारी तेस्रो एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा बिहीबार तुर्कमेनिस्तानको सामना गर्नेछ। बलियो प्रतिद्वन्द्वीसँग खेल्दै प्रतियोगिता सुरु गर्ने तयारीमा रहेको नेपाली टोलीबाट चार नयाँ खेलाडीले 'डेब्यु' गर्ने सम्भावना छ। पहिलो पटक राष्ट्रिय टोलीमा परेका ओपन स्पाइकर दिल सुनार, क्विक स्पाइकर हरि अधिकारी, सेटर दुर्गाप्रसाद महतो र  स्पाइकर राजकुमार निरौलाले बिहीबार डेब्यु गर्ने सम्भावना बलियो छ।

प्रतियोगितामा सहभागीमध्ये नेपालले माल्दिभ्सबाहेक अरूलाई अहिलेसम्म हराउन सकेको छैन। झन्डै एक महिना विशेष तयारी गरेर माल्दिभ्स पुगेको टोलीले शुक्रबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ भने सोमबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

एसियाको सेन्ट्रल जोनमा पर्नेमध्ये चार देश समावेश प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा हुनेछ। राउन्ड रोबिन लिगको शीर्ष टोली सोझै फाइनललाई छानिन्छ भने दोस्रो र तेस्रो हुनेबीच प्लेअफ गराएर फाइनलको अर्को टोली चयन गरिन्छ।

नेपाली टोलीका कप्तान इम रानाले विगतको तुलनामा टिम बलियो रहेको बताउँदै उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। 'विगतको तुलनामा हाम्रो टोली यसपालि बलियो छ। टिममा नयाँ प्रतिभावान् युवा र अनुभवी खेलाडीको राम्रो तालमेल छ,' कप्तान इमले भने, 'प्रतियोगितामा भएका अरू देश पनि हाम्रै स्तरका हुन्। उपाधि जित्नु हाम्रो एक मात्र लक्ष्य हो। त्यो लक्ष्य हासिल गर्न पहिलो खेलको नतिजा सबभन्दा महत्वपूर्ण हुन्छ। त्यसैले हामी पहिलो खेलमा विशेष रूपमा प्रस्तुत हुनेछौं।'

इमसँगै उपकप्तान महेन्द्र श्रेष्ठ र हरि थापा टोलीका अनुभवी खेलाडी हुन्। इमले ११ र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेका थिए भने महेन्द्र र हरिले १२औं सागको नेपाली भलिबल टोलीका सदस्य थिए। सेन्ट्रल जोन प्रतियोगितामा नेपालको यो लगातार तेस्रो सहभागिता हो। यसअघि बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताका पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो। दुवै सहभागितामा इमले नेपालको कप्तानी सम्हालेका थिए भने हरि र महेन्द्र टोलीका मुख्य खेलाडी थिए।

नेपालका प्रशिक्षक जगदीश भट्टले विपक्षीको तयारी उच्चस्तरीय भए पनि जित्ने विश्वास व्यक्त गरे। 'प्रतियोगितामा हामीले हराउन सक्ने टोली माल्दिभ्स हो। यसपालि उनीहरूले उच्च स्तरको तयारी गरेका कारण गाह्रो हुन सक्छ। तर हामीले पनि पछिल्लो समध धेरै सुधार गरेका छौं,' भट्टले भने, 'हामी पछिल्ला दुई संस्करणमा सेमिफाइनल पुगेका टिम हौं। त्यसैले यसपालि जित्नेमा आशावादी छौं।'

प्रकाशित: १० चैत्र २०७३ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App