७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालले श्रीलंकाली भेट्रानसँग खेल्ने

काठमाडौं- विश्व क्रिकेटमा सनथ जयसूर्याको विस्फोटक ब्याटिङ र तीव्र गतिका बलर चामिन्दा भासको बलिङबाट नडराउने कमै खेलाडी होलान्। श्रीलंकाका यिनै महान् क्रिकेटरसँग नेपाली क्रिकेट टोलीले तीन ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवको अवसरमा पेरिविंकल सर्भिसले तीन ट्वान्टी–२० शृंखला गर्न लागेको हो। गोर्खा राइनोज नाम दिइएको नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने श्रीलंकन लायन्स नाम दिइएको श्रीलंकन टोलीको कप्तानी पूर्वकप्तान अरविन्द डी सिल्भाले गर्नेछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख १४ गतेबाट हुने उक्त शृंखलामा नेपाली टोलीबाट हाल राष्ट्रिय टोलीमा रहेका खेलाडी खेल्ने पेरिविंकल सर्भिसका प्रमुख कार्यकारी अधिकृत दीपेश घलेले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।

श्रीलंकाको टोलीमा सनथ जयसूर्या र चामिन्दा भाससँगै पूर्वखेलाडीहरू रोमेस कालुबिथर्ना, उपुल चन्दना, फरभेज माहरुफ, दिलहारा फर्नान्डो, कौशल्या बैरारत्ने तथा वर्तमान राष्ट्रिय टोलीका रंगना हेराथ, उपुल थरंगा, डिल्सान मुनावेरा, सचित्रा सेनानायक, चामरा भिल्भादारालगायतको सहभागिता रहने घलेले बताए।

बैशाख १४, १६ र १८ गते हुने तीन खेलको ट्वान्टी–२० शृंखला खेलाडीलाई प्रतिभा देखाउने राम्रो अवसर भएको नेपाली क्रिकेट टोलीका कप्तान पारसले बताए।

‘हाम्रा लागि यो राम्रो अवसर हो। विश्व क्रिकेटका चर्चित अनुहारहरू आँउदै हुनुहुन्छ। उहाँहरूबाट हामीले धेरै सिक्ने मौका पाउनेछौं,’ नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुवुदु दसानायके र रोय लुक डायस पनि श्रीलंकाकै भएको स्मरण गर्दै कप्तान पारसले भने, ‘संयोग हाम्रा दुवै पूर्वप्रशिक्षक पनि श्रीलंकाबाटै हुनुहुन्थ्यो। त्यसैले यस शृंखलाबाट दुई देशबीचको क्रिकेट सम्बन्धमा नयाँ आयाम थपिने विश्वास लिएको छु।’

यस शृंखलाका लागि विगत दुई वर्षदेखि तयारी गरिरहेको भन्दै पेरिविंकलका घलेले क्यानको प्राविधिक सहयोग रहेको बताए। उनले नेपाली टोलीबाट कोको खेल्ने पछि मात्र निर्णय गर्ने बताए।

‘क्रिकेट खेलाडी संघ (सिप्यान) मार्फत गोर्खा राइनोजबाट कोको खेल्ने तय गर्नेछौं,’ घलेले भने, ‘दुई वर्षदेखि यसका लागि तयारी गरिरहेका थियौं तर विनाशकारी भूकम्प र लगत्तै भएको नाकाबन्दीका कारण शृंखला पछाडि धकेलियो।’

शृखलाको समापन समारोहमा नेपाली राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिने पेरिविंकलका घलेले जनाकारी दिए। उनले कर्माचार्यसँगै महिला राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापा, नेपाल नेत्रहीन संघका अध्यक्ष पवन घिमिरे, नेत्रहीन क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ तथा महिला टोलीकी कप्तान भगवती भट्टराई र नेपालका पहिलो आइसिसी प्यानल क्रिकेट अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिने बताए।

पारस डिपिएलबाट फर्किने

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का सगरमाथा धनगडी प्रिमियर लिग (डिपिएल)बाट खेलमा फर्किने भएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको खेलअघि पेटको शल्यक्रिया गरेका पारस हाल आराममा छन्।

उनले त्यसै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न केन्याविरुद्धको दुवै खेल खेलेनन्। पारसले चैत १६ गतेबाट बंगलादेशमा हुने एसिसी इमर्जिङ कप पनि खेल्ने छैनन्। बुधबार एक कार्यक्रममा उनले डिपिएलबाट खेलमा फर्किने बताए। ‘अहिले हल्का अभ्यास गरिरहेका छु,’ पारसले भने, ‘तर, डिपिएलमा म खेल्छु।’ चैत २८ गतेबाट हुने डिपिएलमा पारसले टिम चौराह धनगढीको कप्तानी सम्हाल्नेछन्।

प्रकाशित: १० चैत्र २०७३ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App