६ वैशाख २०८१ बिहीबार
समाज

‘हामीलाई तिर्खा मेट्ने पानी दिनुस्’

एलडिओसंग खानेपानी माग्न जिल्ला समन्वय समिति धादिङमा पुगेका चेपाङ महिलाहरू । तस्विर : शंकर श्रेष्ठ

धादिङ –डाँडाको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दाे मुहान छैन । एउटा कटुस गैह्रा धारो थियो त्यो पनि सुक्यो । २ वर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं । एलडिओको अगाडि उभिएकी विमला चेपाङले भनिन् ‘हामीलाई तिर्खा मेट्ने पानी दिनुस् ।’
    गाउँमा भएको पानीको मुहान सुकेपछि धादिङको गजुरी गाउँपालिकाका ६ स्यामेडाँडाका चेपाङ समुदाय खानेपानीको योजना माग्दै जिल्ला समन्वय समितिमा आइपुगेका छन् । पानी खाने गरेको पँधेरोे त सुक्यो नै अन्य साना खोल्सीहरूको पानी समेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ । गत वैशाख १२ गतेको भूकम्पले पानीको मुहान सुकाएपछि अहिले रातभर कुवामा लाइन बसेर एक गाग्रो पानी भर्ने गरेको विमलाले बताइन् ।
    खानेपानी योजना सञ्चालन गरी प्रत्येक परिवारलाई पानी उपलव्ध माग गर्दै स्थानीयहरूले जिल्ला समन्वय समिति धादिङ र खानेपानी तथा सरसफाई डिभिजन कार्यालसंग माग गरेका छन् । 
    गाउँभरीमा पाँच ओटा पानीको मुहान थियो । भूकम्पपछि सबै सुक्यो । गाउँ भन्दा तलको  खोलामा एउटा कुवा बाँकी छ । राती देखिनै लाइन बसेर पानी भर्नु पर्छ । त्यसले गर्दा बालबालिका पढाई समेत प्रभावित बनेको रामहरि चेपाङले बताए । एक त रात्तिनै उठेर पानी लिन गएपछि बच्चाहरू स्कुल जान भ्याउँदैनन् । पानी लिन नगए स्कुलमा पानी पिउन पाउँदैनन् । ‘व्यक्तिगत र घर आँगन सरसफाई गर्न सक्ने त कुरै छैन’ चेपाङले भने । 
    स्यामेडाँडा र आसपासका स्थानीयहरू विहान ३ बजेनै छोराछोरी उठाएर अन्धकारमै डेढ घण्टाको बाटो पिठ्युमा गाग्री झुण्डाएर पानीको लाइनमा पठाउन बाध्य छन् । खानेपानीको अभावले गाउँमा चरम निराशा बढेको छ । गाउँको पँधेरामा पानी आउन छाडेपछि चेपाङ समुदायले तरकारी खेती गर्न, गाई वस्तुलाई पानी खुहाउन त परै जाओस् राम्रोसंग कपडा धुन समेत पाएका छैनन् । एक गाग्री पानी ल्याउन घण्टौ लाग्छ, छोराछोरीलाई पकाएर खुवाएर स्कुल पठाउनु भ्याइदैन । गाउँलेहरू भन्छन् ‘पानी हामीलाई रगत भन्दा महंगो बनेको छ ।’ 


    श्यामैडाँडामा हाल १ सय ५५ चेपाङ परिवार बसोवास गर्दै आएका छन् । खाद्य अधिकार जिल्ला संजालको तथ्याङ्क अनुसार यहाँ ४ सय १० महिला र ३ सय ९२ पुरुष छन् । अधिंकाश परिवारको खेती गर्ने जमिन ४ रोपनी भन्दा कम हुँदा खाद्यन्न संकट भोक्दै आएकोमा अहिले पानीको समेत समस्या थपिएपछि गाउँलेमा निराशा छाएको छ । पहिले त भात खान मात्रै समस्या थियो, अहिले त पानी नै छैन अब हामी कसरी बाँचौला र ?’ संगिता चेपाङले सुनाइन् । 
    गाउँको उत्पादनले अधिकांश परिवारलाई ६ महिना खान पुग्दैन । ज्याला मजदुरी नगरी धर छैन । केही परिवार जलचरमा निर्भर छौ । पुरुष एक घण्टा भन्दा बढी समय हिँडेर वालुवा झिक्ने काममा जान्छन् । उनी भन्छिन् ‘गाउँको समस्या सुनाइसाध्यै छैन ।’ पानीको समस्याले गर्भवती महिला र नवजात शिशुको ज्यान समेत जोखिममा रहेको उनले गुनासो गरिन् । 
    महिलाहरू गवर्भवती तथा सुत्केरी अवस्थामा समेत टाढाबाट पानी बोक्न र ज्याला मजदुरी  गर्न बाध्य छौँ । खाद्यन्न समेत अभाव हुने गाँउमा पोषणयुक्त खानाको त कुरै भएन । बाबु आमा ज्याला मजदुरीमा जानु पर्ने भएका कारण बालबच्चाहरू समेत पानी बोक्न तथा पालो बस्न बाध्य छन् ।    
    लामो संघर्ष गरेर खानेपानीको मुहान समेत दर्ता गरेका छन् । चालु आर्थिक वर्षमै नापजाँच गर्ने व्यवस्था र आगामी आर्थिक वर्षमा खानेपानी योजना तथा आवश्यकीय सामाग्री उपलव्ध गराई दिन माग उनीहरुले माग गरेका छन् । 
    नेपालको संविधानले स्वास्थ्य, खानेपानीको अधिकारको अतिरिक्त रोजगारीको अधिकारलाई समेत मौलिक हकमा राखेको छ । पानी भनेको सार्वजनिक वस्तु होे जसको अभावमा स्वस्थ खानेकुरा तयार गर्न सकिदैन । तर यहाँका समुदायले वर्षाैदेखि पानीको समस्या भोग्दै आएपनि अहिलेसम्म कसैले पानीको समस्या समाधानतर्फ काम गरेको छैन ।

     
 

प्रकाशित: १० चैत्र २०७३ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App