७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री दाहाल चीन भ्रमणमा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन्। बोआओ सम्मेलनमा भाग लिने सिलसिलामा नेपाली टोलीको नेतृत्व गर्दै उनी चीन भ्रमणमा निस्किएका हुन्। उनको भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको छ। भ्रमणक्रममा दाहालले चिनियाँ राष्ट्रपतिलाई भेट्ने कार्यक्रम तय भएको बताइएको छ।

दाहालको भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको चिनियाँ रक्षामन्त्रीले बताएका छन्। दाहाल चीन भ्रमणमा निस्कनु केही समयअघि काठमाडौं आएका चिनियाँ रक्षामन्त्री जनरल चाङ वानक्वानले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री दाहालसँगको भेटमा उक्त जानकारी गराएका थिए।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋृषिराज अधिकारीले बोआओ सम्मेलनमा दाहाल र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता तयारी भइरहेको बताए। अधिकारीले चिनियाँ रक्षामन्त्री चाङ र प्रधानमन्त्री दाहालबीचको भेटवार्तामा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध विषयमा कुराकानी भएको जानकारी दिए।  नेपालको विकास, विपत् व्यवस्थापन र शान्ति सेनामा नेपाली सेनाको क्षमता अभिवृद्धिमा चिन सकारात्मक रहेको अधिकारीले बताए।

अधिकारीका अनुसार चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनालाई २०० मिलियन युआन (करिब ३ अर्ब ४५ करोड रुपैयाँ) बराबरको प्राविधिक सैन्य सहयोगको प्रतिबद्धता जनाएका छन्। चाङले अघिल्लो पटक प्रतिबद्धता गरेको एक सय मिलियन युआनमा थप एक सय थपेर दुई सय मिलियनबराबरको सैन्य सहयोग उपलब्ध गराउने बताएका हुन्।

'प्रधानमन्त्रीको चीन भ्रमणको विषय र दुई देशका सेनाबीचको सम्बन्ध र आपसी हितमा चाङसँगको भेटवार्ता केन्द्रित भयो, प्रधानमन्त्रीले चिनियाँ नेतासँग वान बेल्ट वान रोडका विषयमा प्रतिबद्धता जनाउनु हुनेछ, कुनै सम्झौता भने हुने छैन,' अधिकारीले नागरिकसँग भने।

एसिया प्रशान्तको रणनीतिक भ्रमणमा निस्किएका चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेता तथा चीनका राष्ट्रिय रक्षामन्त्री चाङले बिहीबार नै आफ्ना समकक्षी रक्षामन्त्री बालकृष्ण खाँडसँग पनि सिंहदरबारमा भेट गरेका छन्। भेटवार्तामा नेपाली सेनाका लागि विपत् व्यवस्थापन, विकास निर्माण र क्षमता अभिवृद्धिका लागि आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता चाङले जाहेर गरेका छन्। यस्तै नेपाली सेनाका लागि आवश्यक सैन्य तालिमसमेत चीनले उपलब्ध गराउन विषयमा सहमति भएको छ।

'चीनले नेपालसँगको सीमा रक्षा र विपत् तथा विकास निर्माणमा आवश्यक सहयोगका लागि सहमति जनाएको हो, हामीले आवश्यक सामग्रीको विवरण उपलब्ध गराएपछि प्राप्त हुनेछ,' रक्षामन्त्री खाँडले भने। उनले दुई देशका सेनाबीच हुने संयुक्त सैन्य अभ्यास विषयमा शुक्रबार जंगी अड्डामा छलफल हुने बताए। 

चीनको महŒवाकाक्षी परियोजना वान बेल्ट वान रोड (ओबीओआर), सिल्क रोड र सैनिक सहयोग विस्तारका लागि क्षेत्रीय सुरक्षा रणनीतिक योजनाअनुसार १९ सदस्यीय टोलीको नेतृत्व गर्दै चाङ नेपाल आएका हुन्। उनी श्रीलंका हुँदै नेपाल आएका हुन्। उनी नेपालपछि बंगलादेश जानेछन्।

रक्षामन्त्री खाँडको औपचारिक निमन्त्रणामा चाङ नेपाल आएका हुन्। उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै क्वानले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नुका साथै भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदाको अवलोकन गर्नेछन्।

प्रकाशित: ११ चैत्र २०७३ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App