coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिला सहचालक ठूला बसतिर

काठमाडौं- महिना दिनअघिसम्म उनको दैनिकी माइक्रोबसभित्रै कोचिएर बित्थ्यो। छड्के उभिएर यात्रु बोलाउनु, ओराल्नु र भाडा उठाउनु कम्ती सकसपूर्ण थिएन। अब भने उनले होचो माइक्रोभित्र छड्के उभिनुपर्दैन। कपन–सुन्धारा रुटको धुम्रवाराह यातायातको ठूलो बसमा सहचालक बनेपछि झापा, शनिश्चरेकी ३२ वर्षीय गोमा श्रेष्ठको दैनिकी फेरिएको छ। अहिले उनको काम सजिलो मात्र भएको छैन, कमाइ पनि पहिलेभन्दा धेरै हुन्छ, मासिक १९ हजार रुपैयाँ।

'तीन जनाको परिवार यसकै भरमा पालेकी छु', उनले भनिन्। पति तीन वर्षदेखि बेपत्ता भएपछि गोमा सहचालककै काम गरेर परिवार धान्दै आएकी छन्।  सकुन्जेल यही काम गर्ने उनले निधो गरेकी छन् । चालक अनुमति पाउने स्थिति भए बसको चालक नै बन्ने उनको धोको छ।

चक्रपथ रुटमा चल्ने महानगर यातायातमा सहचालक छिन्, काभ्रेकी २० वर्षीया संगीता श्रेष्ठ। भरपर्दो आम्दानी हुने अन्य क्षेत्र नदेखेपछि यो जागिर रोजेको श्रेष्ठले बताइन्। 'घरमा छोरी मात्रै छौं, छोराको जस्तै कमाइ गर्न यही पेसा उचित लाग्यो', श्रेष्ठले यो पेसा रोज्नुको कारण खुलाइन्।

बाह्र कक्षासम्म पढेकी श्रेष्ठले यो काम गरेबापत मासिक २० हजार जति कमाइ गर्छिन्। 'मेरो आम्दानीले घरखर्चमा सहयोग पुगेको छ', उनले भनिन्। सुरुमा आफन्त र आफैंलाई अप्ठेरो लागेको यो काम अहिले सहज बन्दै गएको उनले सुनाइन्। 'घरपरिवार सबैले कुरा बुझिसक्नुभएको छ', उनले भनिन्।

उनले यो काममा दाम र सम्मान दुवै मिलेको बताइन्। 'हामी भएको बसमा यात्रु पनि खुसी छन्, कम्पनी मालिक पनि', उनले भनिन्। श्रेष्ठका अनुसार चक्रपथ रुटको महानगर यातायातमा वृद्धवृद्धा घन्टौं पर्खेर भए पनि महिला सहचालक भएको बस चढ्छन्।

'बाटोमा चढिराख्ने आमाबुबा कतिबेर पर्खेपछि छोरी आयो भन्दै चढ्छन्', उनले भनिन्। महिला सहचालकले महिला, बालबालिका तथा वृद्धवृद्धालाई सिट मिलाएर राखिदिने कारण आफूसँग खुसी हुने गरेको श्रेष्ठले बताइन्। भविष्यमा बस चलाउन सिकेर चालक बन्ने उद्देश्य रहेको उनले बताइन्। आफू सहचालक भएपछि आत्मविश्वास, आम्दानी र सम्मान बढ्दै गएकाले अन्य महिलालाई पनि यो काममा आउन श्रेष्ठ सुझाव दिन्छिन्।

सोही यातायातकै सहचालक हुन्, सिन्धुपाल्चोककी २८ वर्षीया सबिना घिमिरे। महानगर यातायातले महिलालाई प्राथमिकता दिने सुनेपछि सम्पर्कमा आएकी हुन्। यो कामबापत घिमिरेले मासिक २०  हजार कमाउँछिन्। यो कमाइले परिवारको खर्च चलेको घिमिरेले बताइन्। यो पेसामा महिला दिदीबहिनीबाटै हौसला मिलेको उनको अनुभव छ।  'पहिला महिला पनि कन्डक्टर भन्थे, अहिले उल्टै सम्मान दिन्छन्', उनले भनिन्। भविष्यमा चालक नै बन्ने सोच रहेको घिमिरेले सुनाइन्।

सहचालक महिलाको अनुभवमा पुरुष सहचालक भएको बसको तुलनामा महिला सहचालक भएको बसमा बढी यात्रु चढ्छन्। यसको मुख्य कारण भने महिला सहचालकले यात्रुलाई गर्ने सम्मानित व्यवहार र मिठो बोलीचाली भएको उनीहरुको दाबी छ। 'म यात्रुहरुलाई हँसाई–हँसाई यात्रा गराउन सक्छु', महानगर यातायातकी सहचालक श्रेष्ठले भनिन्। कहिलेकाहीँ मातेका मान्छे बसमा चढे पूरै वातावरण बिग्रिने भएकाले यस्ता मान्छे चढ्न नदिने गरेको उनीहरुले बताए।

दस वर्षअघिसम्म यो पेसामा एकाध महिला देखिन्थे। अहिले भने महिलाको आकर्षण बढ्दै गएको बससञ्चालक बताउँछन्। 'पाँच/छ वर्षपहिले यो काम गरेका महिलाले बीचमै छाडेका थिए, अहिले निरन्तरता दिएका छन्', महानगर यातायातका सञ्चालक केशव नेपालले भने। महिलालाई यो पेसामा आकर्षण दिनेमा मुख्य भूमिका पनि यो कम्पनीको रहेको उनको दाबी छ।

'थोरै पैसाका लागि बिदेसिनुपर्ने महिलाहरुको बाध्यतालाई कम गर्न सोचेर महिला नै माग गरेका थियौं', प्रबन्धक नेपालले भने। यो यातायातमा अहिले १५ जना महिला सहचालक छन्।

महिला सहचालक राखेको एक वर्षमा सेवाआकर्षक र सम्मानित बन्दै गएको उनको अनुभव छ। 'महिला सहचालक इमानदार र लगनशीलता दुवै पाइयो', उनले भने। ठूलो बसलाई टाढा रिजर्भमा लैजानुपर्दा र बस बिग्रेको बेला भने पुरुष सहचालकको सहयोग लिएर व्यवस्थापन गर्ने गरेको नेपाल बताउँछन्।

प्रकाशित: ११ चैत्र २०७३ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App