८ वैशाख २०८१ शनिबार
विचार

भारतमा नवराष्ट्रवादको विस्तार

काशी। प्रत्येक संगठित धर्ममा एकजना सबभन्दा महान् ईश्वरका प्रतिनिधि, एउटा सर्वमान्य पवित्र ग्रन्थ एवं एक सर्वोत्कृष्ठ तीर्थको अवधारणा स्थापित गरिएको हुन्छ। सनातनी आस्थाहरूमा भने ईश्वरको प्रतिनिधि हुँदैनन्। उनी स्वयं अवतरित भइरहन्छन्। भगवान कृष्ण भन्छन्– सम्भवामी युगे युगे। त्यसैले भनिन्छ, राम भनौं वा कृष्ण, उनी एउटै हुन्। शिवको पूजा गरौं वा शक्तिको अराधना, पद्धति फरक भए पनि गन्तव्य एउटै हो। पवित्र ग्रन्थ भन्दा भजनहरू महत्वपूर्ण मानिन्छन्। पारम्परिक कथा श्रवणको महिमा छ। त्यो किनभने आस्थाका शब्दहरू गाउन वा सुन्न शिक्षित नै हुनुपर्छ भन्ने छैन। र, तीर्थहरूको स्थान पवित्रताले लिन्छ। भनिएकै छ– 'मन चंगा, तो कठौती में गंगा। चार धामको तीर्थाटन वा शक्तिपीठहरूको दर्शन त आआफ्नो गच्छेअनुसार घुम्ने निहुँमात्रै हो।

भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

सनातनी आस्थाहरूको 'हिन्दुत्वकरण' अभियानको सुरूवातबारे तिथिमिति तोकेर ठोकुवा गर्न गाह्रो छ। सम्भवतः बौद्ध तथा जैन धर्म जस्ता एकीकृत पन्थहरूले छोटो समयमा पाएको अपार सफलतापछि आत्तिएर सनातनी पण्डित, पण्डा तथा पुजारीले परम्परागत प्रचलन एकत्रित गरेर 'धर्म' निर्माण अभियानलाई गति दिएका थिए। भारतीय उपमहाद्वीपमा पश्चिम एसियाबाट इस्लाम धर्म प्रवेश गरेपछि सनातनी आस्थाहरू जोगाउन संगठितरूपमा अगाडि बढाउनुपर्ने आवश्यकता त्यसबेलाका सन्त/महन्तलाई आफ्नो अस्तित्व जोगाइराख्न पनि महत्वपूर्ण बन्न पुगेको थियो। युरोपेलीहरूले भारतीय उपमहाद्वीपमा नियन्त्रण फैलाउने बेलासम्म पनि 'हिन्दु' हुनु आस्थाको कुरा थियो। अभ्यासहरूमा एकात्मता थियो तर एकरूपता थिएन।

इस्ट इन्डिया कम्पनीमार्फत व्यापारिक राज्य वेलायतले भारतको औपनिवेशीकरण सुरू गर्न लाग्दा तिनका लागि मुख्य चुनौती सनातन धर्मावलम्वी नभएर तत्कालीन मुगल सम्राज्य एवं त्यसले प्रश्रय दिएको इस्लाम हुनु पनि स्वाभाविक थियो। सामान्यजनको सनातन 'धर्म' सँग तिनलाई खासै डर थिएन। बरू, औपनिवेशिक स्वार्थका दृष्टिकोणबाट मुसलमान एवं हिन्दुबीच फाटो ल्याउन फाइदाजनक थियो। दक्षिण एसियामा आक्रामक एवं एकत्रित हिन्दुत्व सम्भवतः औपनिवेशिक शासकहरूद्वारा प्रवर्धित पुरेत, पण्डित, पण्डा एवं धर्मगुरूहरूको 'देन' हो। र, त्यस प्रक्रियामा वरूणा एवं असी नदीबीच अवस्थित रहेकाले गर्दा वाराणसी पनि कहलिएको गंगा किनारको प्राचीन नगरी काशीको केन्›ीयताले थप ऊर्जा पाएको हुनुपर्छ। पुस्तकमा गीता, ईश्वरमा कृष्ण तर तीर्थ भने काशी 'हिन्दुत्व' उत्पाद हो।

रामलाई ईश्वर मान्नेका लागि अयोध्या र जनकपुर तीर्थस्थल हुन्। कृष्णभक्तका लागि मथुरा, वृन्दावन वा द्वारकाभन्दा पवित्र अरू कुनै स्थान हुन सक्दैन। शिव त कैलाशवासी हुन्, उनी हिमवत् खण्डमा विचरण गर्ने गर्छन्। सबै शक्ति जंगलमा बस्छन्। लक्ष्मीनारायण क्षीरसागरमा शयन गर्छन्। काशी कुनै पनि 'अवतार' सँग सोझै जोÞडिएको छैन। पूर्णतः मानव ज्ञानले गर्दा महत्व पाएकाले हुनुपर्छ, वाराणसी सनातन धर्मका सबै पन्थको समागम स्थल हो। राजा हरिश्चन्›को सत्यनिष्ठाका कथाहरूमा तथ्यको मात्रा जे/जति भए पनि यथार्थ के हो भने उनको वचनबद्धताको मिथकले सनातनी आस्थाहरूलाई धर्ममा 'बाँध्ने' काम गरेको छ। प्रसंगवश, धर्मका लागि अंग्रेजी भाषामा प्रयोग गरिने 'रेलिजियन' शब्दको उत्पत्ति 'रेलिगेरे' बाट भएको हो, जसको अर्थ हुन्छ– बाँध्नु। धर्म बन्धन हो। स्वेच्छाले स्वीकार गरिएको भए तापनि संसारका सबै धर्मले मानवीय स्वतन्त्रतालाई पाप र पुण्यका नाउँमा संकुचित गरेका हुन्छन्। शायद त्यसैले भनिएको हुनुपर्छ– धर्मबद्ध राज्य एवं लोकतान्त्रिक व्यवस्था परस्पर विरोधी अवधारणा हुन्।

जुनसुकै धर्म र परम्पराले समर्थ र बलियालाई संरक्षण गरेका हुन्छन्। तिनै प्रभावशालीहरू परम्पराका पहरेदार हुन्छन्, त्यसैले परम्परा तिनको नियन्त्रणमा हुन्छ। भनिएकै छ– धर्मो रक्षति रक्षितः। लोकतन्त्रको प्रादुर्भाव भने कमजोरहरूको समेत हित संरक्षणका लागि भएको हो। राजनीतिका यी दुई मान्यताबीच तालमेल सहज छैन। महात्मा गान्धीले 'सर्वधर्म समभाव' अवधारणालाई पुनर्जीवन दिने प्रयत्न गरेका थिए। पाकिस्तान राज्य निर्माणमा उनका आस्थाहरूको भंगुरता (फ्रैजिलिटी) उजागर भएको थियो। कुनै पनि राज्यभित्र धर्मबद्धता र लोकमत सँगसँगै बस्नै नसक्ने होइन। तर परम्परा मजबुत भयो भने जनमतको शक्ति क्षीण हुन्छ। त्यसो हुँदाहुँदै पनि जनमत कहिलेकाहीँ परम्पराको पक्षमा देखिन्छ, जस्तो कि अहिले भारतका विभिन्न प्रान्तका निर्वाचन परिणाममा देखिएको छ।

वृत्तान्त निर्माण

सन् १९९० पछि समाजवादको स्वप्न भंगले गर्दा पुँजीवाद एवं प्रजातन्त्रको विस्तार सँगसँगै भएको थियो। पुँजीवादबाट मोह भंग भएपछि जनमत सुस्तरी लोकरञ्जक प्रजातन्त्रतिर मोडिँदैछ। भारतीय प्रधानमन्त्री नरेन्› मोदीका राजनीतिक रणनीतिकारहरूले अनियन्त्रित बजारवादले निम्त्याएको सामान्यजनमा व्याप्त असुरक्षाभाव ठम्याएर तिनलाई 'बाँध्ने' हिन्दुत्वरूपी डोरी निर्माण गरेको हुनुपर्छ। गुजरातका पूर्वमुख्यमन्त्री मोदीले आफ्नो राष्ट्रिय चुनाव क्षेत्रका रूपमा 'रामजन्मभूमि' अयोध्या, कृष्णको नगरी मथुरा वृन्दावन, उत्तराखण्डको हरिद्वार वा भारतीय राजधानी नयाँ दिल्लीको साटो उत्तर प्रदेशको वाराणसी रोज्नु आफैँमा एउटा राजनीतिक सन्देश थियो। उनी सरकार बनाउनमात्र निर्वाचन लडेका होइनन्। त्यसको साटो उनी भारतीय राजनीतिको एउटा वैकल्पिक बृहत् आख्यान (ग्य्रान्ड न्यारेटिभ) निर्माणमा लागेका छन्। उनको 'हिन्दुत्व' बृहत् आख्यान स्थापित भयो भने नेपाल त्यसबाट अछूतो रहन सक्ने छैन। उत्तर प्रदेशको मुख्यमन्त्रीका रूपमा गोरख पीठका महन्थ योगी आदित्यनाथको छनोटबाट नेपालका राजावादी एवं हिन्दुत्ववादीहरू जतिसुकै उत्साहित भएको भए तापनि प्रम मोदीको हिन्दुत्व अन्ततः तिनको हितमा पनि हुने छैन। भारतीय मिडियाका अधिप्रचारकहरूले जतिसुकै 'विकास' भट्याए पनि प्रधानमन्त्री मोदीको राजनीति सूक्ष्म निर्देशनमात्र नभएर पूर्ण नियन्त्रणको दिशातिर उन्मुख छ। नेपालजस्तै भारतीय राजनीति पनि संक्रमणमा छ।

राजनीतिक संक्रमणलाई नकारात्मकरूपमा मात्र लिन जरूरी छैन। निरन्तर संक्रमण सामाजिक परिवर्तनको परिचायक पनि हो। संक्रमणले यदाकदा संकट निम्त्याउँछ। संकटकाल राजनीतिक उद्यमीहरूका लागि नयाँ प्रयोग गर्ने अवसर हो। प्रयोगधर्मी राजनीतिकर्मीले ध्रुवीकरणलाई प्रोत्साहित गर्ने गर्छन्। ध्रुवीकरणले द्वन्द्व एवं संघर्ष उत्पन्न गराउँछ। त्यसपछि राजनीतिक लेनदेनमार्फत द्वन्द्व निरूपण हुन्छ। राजनीतिक स्थिरता क्रमशः स्थायित्व र निश्चितता हुँदै जडतामा स्खलित हुन्छ। त्यसपछिको उकुसमुकुस र गतिको चाहनाले गर्दा स्थापित आस्थामा विचलन आउँछ, विद्रोहका तरंग दखिन्छन् र, संक्रमण एवं संकटको चक्र दोहोरिन्छ। सन् १९४७ पछि जवाहरलाल नेहरूको 'भारतीय' अवधारणा पश्चिमा प्रजातान्त्रिक उदारवाद एवं निर्देशित अर्थतन्त्रमा आधारित थियो। इन्दिरा गान्धीको आन्तरिक आपतकालपछि निर्मित भारतीय आमरायको मूल आधार प्रतिरक्षात्मक राष्ट्रवाद हुन पुग्यो। भारतीय प्रधानमन्त्री मोदीले प्रवर्धन गर्न लागेका राष्ट्रिय स्वयंसेवक संघको हिन्दुत्व आक्रामक राष्ट्रवादमा आधारित छ।

आक्रामक राष्ट्रवादमा सहयोगीका लागि ठाउँ हुन्छ, मित्रता भने कमजोरीको परिचायक ठहराइन्छ। पुँजीवादलाई नवराष्ट्रवादले स्वीकार गर्दैन। त्यो किनभने उन्मुक्त बजारले राज्यको सर्वव्याकतालाई चुनौती दिन्छ। चाकर पुँजीपतिलाई भने नवराष्ट्रवादीहरूले प्रवर्धन गर्ने गर्छन्। तिनकै बलमा नवराष्ट्रवादको रथ अगाडि बढ्छ। नवराष्ट्रवादले सामाजिक ध्रुवीकरणको प्रक्रियालाई तीव्रता दिन्छ। मतको राजनीतिमा तर्कभन्दा उद्वेग बढी प्रभावशाली हुन्छ भन्ने कुरा नवराष्ट्रवादीले ठम्याएका हुन्छन्। दिगो वर्चस्व निर्माण कार्य बहुमतलाई जनमतका रूपमा अर्थ्याउने वृत्तान्त स्थापित गरेरमात्र गर्न सकिन्छ। एमालेको मधेसीलाई होच्याउने कार्यनीति एवं भारतीय जनता पार्टीले मुसलमानको निरन्तर बेवास्ता गर्ने रणनीति समान उद्देश्यबाट अभिप्रेरित छन्। व्यक्तिगत वा संस्थागत अभिरूचिबाट मुक्त त्यस्तोखाले राजनीतिक प्रवृत्ति मूलप्रवाहको शुद्धता एवं पवित्रतालाई सुरक्षित राख्ने उद्देश्यबाट अभिप्रेरित छन्। कूटनीतिमा नवराष्ट्रवादको अभिव्यक्ति मूल्य एवं मान्यता मुक्त 'राष्ट्रहित' अवधारणाको सर्वोच्चताका रूपमा देखिन सक्छ। भारतमा नवराष्ट्रको उदयको नेपालमा देखिने असर हिन्दुत्वको विस्तारभन्दा पनि भारतीय 'राष्ट्रहित' अवधारणाको प्रमुखताले ल्याउन सक्छ।

भारतीय नवराष्ट्रवादको असर थेग्न सक्ने नेपालको आन्तरिक क्षमता भने भरपर्दो देखिँदैंन। भूराजनीतिक अवस्थितिबाहेक नेपाली कूटनीतिका सक्षम पक्ष खासै केही छैनन्। अर्थतन्त्र मूलतः दास व्यापारको आधुनिक संस्करण (श्रम निर्यात एवं विप्रेषण) आधारित छ। नेपालभित्रको आन्तरिक राजनीति विषाक्त छ जहाँ स्वच्छ बहसको ठाउँ आरोप/प्रत्यारोपले लिएको छ। सामाजिक सहिष्णुता कमजोर छ। धार्मिक कट्टरता बढ्दै गएको छ। यस्तो विषम परिस्थितिमा नेपालमा लोकतन्त्रको स्थायी तरलताले भारतको 'राष्ट्रहित' सुरक्षा सहकारी भएर प्रवर्धन गर्न सक्दैन। त्यसैले भारतको नवराष्ट्रवादले नेपाललाई 'समस्या र जोखिम' ठानेर सूक्ष्म व्यवस्थापन गर्ने (माइक्रो म्यानेजमेन्ट) प्रयत्न गरिरहनेछ। रूचाउनु वा नरूचाउनु छनोट हुनसक्छ तर भारतीय हस्तक्षेपको तिव्रीकरणबाट मुक्त रहन सक्ने सम्भावना निकट भविष्यमा देखिँदैन। शीतयुद्धताका भारतको प्रभाव न्यूनीकरण गर्न विश्व शक्ति गुहार्ने विकल्प उपलब्ध हुने गर्थ्याे। अब त्यस्तो कार्यनीतिले सोझै अफगानिस्तानको नियतितर्फ घचेट्न सक्छ। भौगोलिक छिमेकी चीन र आकाशे पडोसी अमेरिका नेपालका अभिन्न मित्र हुन्, संरक्षक भने हुन सक्दैनन्।

काशी विमर्श

दार्शनिक रामु गान्धीले काशीको बयान अचम्भित भएर गरेका छन्– 'कस्तो सहर! स्थापत्यकला स्वर्गको र सरसफाइ नर्कको!' उनी जीवित रहेका भए शायद अर्को एउटा विशेषता थप्थे होला– चियोचर्चामा भने पक्का मर्त्यलोक। दार्शनिक अमर्त्य सेनले बहस गर्ने नागरिक 'अर्गुमेन्टेटिभ इन्डियन' अवधारणा काशीको शाश्त्रार्थ परम्पराकै आधारमा विकसित र परिष्कृत गरेको हुनुपर्छ। वाराणसी विलोमहरूको सहर पनि हो जहाँ गंगा नदीको किनारमा एकातिर स्नान, पूजाअर्चना एवं संगीतको जीवनोत्सव चलिरहेको हुन्छ भने अर्कोतिर मृत्यु संस्कार पनि उत्तिकै गतिका साथ भइरहेको हुन्छ। गंगा किनारका अनुभूति इन्›ियबोध भन्दा व्यापक भएकाले तिनलाई शब्दातीत भन्न मिल्छ। अर्कोतिर काशी हिन्दु विश्वविद्यालय परिसरभित्र व्यावहारिक ज्ञानको खोज र प्रचार निरन्तर चालु छ।

सार्वजनिक बहसका लागि उपलब्ध आमवृत्त (पब्लिक स्फेयर) को निरन्तर संकुचन प्रायः सबैजसो संकटग्रस्त देशको एक प्रमुख परिचायक हुने गर्छ। नेपालभित्र भारतीय नागरिकले नेपालबारे स्वतन्त्र भएर बोल्न सक्ने वातावरण छैन। त्यसैले नेपालबारे स्वतन्त्र एवं दबाबमुक्त छलफल गर्नुपर्‍यो भने भारतीय संस्थापनले नेपालीलाई निम्त्याएर भारतभित्रै बहस गराउने गर्छन्। त्यस्तो मञ्चमा तिनले आफ्ना कुरा पनि खुलस्त भएर राख्न पाउँछन्। त्यसमा पनि 'विद्या हराए काशी जानू' भन्ने खस आर्य नृजातीय समुदायमा चलेकै आहान छ। र, काशीसँग गोर्खालीहरूको सम्बन्ध आधुनिक नेपालको गठनभन्दा पुरानो छ। भनिन्छ, गोरखाका राजा पृथ्वीले आफ्नो 'असली हिन्दुस्थाना' खडा गर्ने विजय अभियान काशीबाट खरिद गरेर लगेका बन्दुकबाट गरेका थिए। उनको परिवार खस वा मगर जुनसुकै जनजातिका भए तापनि कश्यप गोत्र ग्रहण (इतिहासकारहरूले गोत्र परिवर्तन पनि भन्ने गरेका छन्) गरेर हिन्दुत्वको रक्षक हुने प्रण पनि उनले काशीमै लिएका थिए। गोर्खाली दरवारसँग काशीको अटुट सम्बन्ध सन् १९८० पछिमात्र केही कमजोर हुँदै गएको हो।

नेपालको प्रतिपक्षी राजनीतिका लागि समेत काशी केन्› रहँदै आएको गोर्खाली दरवारको निरन्तर घात/प्रतिघातका पालादेखि नै हो। संसदीय राजनीतिको परिकल्पनाका साथ नेपाली राष्ट्रिय कांग्रेसको त स्थापना नै सन् १९४६ को अन्ततिर वाराणसीमै भएको हो। पञ्चायतकालमा बिपी कोइराला र पुष्पलाल, दुवैथरी शीर्ष नेताको आश्रयस्थल यही सहर थियो। माओवादी सशस्त्र संघर्षका बेलादेखि नेपाली राजनीतिमा त्यसअघि पटना, कलकत्ता एवं वाराणसीले निर्वाह गर्ने गरेको सबै भूमिका नयाँ दिल्लीतिर सर्‍यो। विद्वत् वर्ग एवं राजनीतिकर्मीहरूको हातबाट भारतको नेपाल नीति लगभग पूरैतवरले सुरक्षा संस्थापनको जिम्मामा पुगेको काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणपछि हुनुपर्छ। आजभोलि नयाँ दिल्ली नेपालीहरूको नयाँ तीर्थाटन गन्तव्य बन्न पुगेको छ।

कार्यकारी प्रमुख गुजराती भए पनि भारतीय संस्थापनमा गढवाली हावी भएका एवं सन्तमहन्त प्रभावशाली हुँदै गएकाले होला, भारतको नवराष्ट्रवाद प्रवर्धनमा परम्परागत केन्›हरूको भूमिकालाई पुनर्जीवन दिने प्रयत्न हुन थालेको छ। त्यसका लागि काशी विश्वविद्यालय एउटा थलो हुन सक्छ जहाँ अझैं पनि विभिन्न संकायमा गरेर झण्डै ८०० नेपाली विद्यार्थी अध्ययनरत् छन्। हजारमा गणना हुने बेंगालुरू वा नयाँ दिल्लीको तुलनामा नेपाली विद्यार्थीको संख्या काशीमा अपेक्षाकृत कम छ। तर गंगाको पानी एवं लंका (विएचयुको मूल द्वार) क्षेत्रको 'पहलमान' लस्सी पिएकाहरूको राजनीतिक चेतना एवं संघर्षशीलता अपेक्षाकृत बढी हुने रहेछ। जोखिम के हो भने काशी विश्वविद्यालयभित्र परम्परागत धर्मसँगसँगै प्राज्ञिक विमर्शहरूमा अर्थराजनीतिको दक्षिणपन्थी धार व्याप्त छ। त्यस अर्थमा विएचयु नयाँ दिल्लीस्थित जेएनयुको विलोम जस्तै हो। र, काशीले अब मधेस चिन्ने प्रयत्न गर्न थालेको छ। डर त्यसमा पनि छ। भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

सन् १९७० ताका विएचयुले 'नेपाल सेन्टर' मार्फत नेपाल अध्ययनलाई औपचारिकता दिएको थियो। सन् १९९० पछि त्यो केन्› अस्तित्व जोगाइराख्नमै सीमित छ। अहिले त त्यसभित्र 'हिमालपार अध्ययन' पनि जोडिएको छ। तर प्रम मोदीको आक्रामक नवराष्ट्रवादलाई गति प्रदान गर्न परम्परागत बौद्धिक विमर्शका केन्›हरूलाई प्रचारक बनाउने प्रयत्न हुन सक्छ। हुन त काशीको स्वतन्त्र बौद्धिकताको इतिहास पनि कमजोर छैन। तर जेएनयुको बौद्धिक विलोम विएचयु बन्दै गयो भने त्यसबाट मधेस वा देश उत्साहित हुनुपर्ने कुनै कारण छैन। परम्परा एवं परिवर्तनको परस्पर द्वन्द्वमा जो जिते पनि हार्ने सामान्यजन नै हुन्छन्। समन्वय र सामञ्जस्यमात्र सही बाटो हो। त्यही कुरा महात्मा गान्धीले आजीवन दोहोर्‍याइरहे। उनलाई भारतभित्र पनि अब कमैले मात्र सम्झन्छन्। काशीमा आजभोलि अर्कै गुजरातीको चर्चा छ। र, गान्धीको देश मोदीमय हुनु भयमिश्रित विश्मयको कुरा हो। आश शायद गंगा नदी सभ्यताको निरन्तरतामा छ। बित्नु समयको नियति हो र कठिन समय पनि अन्ततः बित्ने नै हो।

प्रकाशित: ११ चैत्र २०७३ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App