काठमाडौं- टासी छिरिङले बिहीबार गोकर्ण गल्फ क्लबमा प्लेअफसम्म मिहिनेत गर्दै नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्। तीन दिनसम्म ५४ होलमा प्रतिस्पर्धा भएको प्रतियोगिताको अन्तिममा ३ ओभर २ सय १९ स्कोरमा बराबरी भएपछि पहिलो अतिरिक्त होलमा टासीले शुक्रबहादुर राईलाई पराजित गरेका थिए। बिहीबार सम्पन्न तेस्रो चरणको खेलमा टासीले १ अन्डर ७१ स्कोर गरे भने शुक्रबहादुरले १ ओभर ७३ खेलेका थिए।
१ ओभर ७३ खेलेका वाङचेन धेन्दुप समग्रमा ४ ओभर २ सय २० स्कोरसहित तेस्रो भए। प्रतियोगिताकै उत्कृष्ट कार्ड बनाउने क्रममा बिहीबार टंकबहादुर कार्कीले ३ अन्डर ६९ खेले। समग्रमा ७ ओभर २ सय २३ स्कोर गरेका उनी चौथो भए। शीर्ष स्थानमा रहेर दिनको खेल सुरु गरेका शिवकुमार माझीका लागि अन्तिम चरण बिर्सनलायक रह्यो। अन्तिम दिन ८ ओभर ८० को खराब प्रदर्शन गरेका उनी समग्रमा ९ ओभर २ सय २५ स्कोरका साथ भुटानका सेन्द्रा दोर्जी र बंगलादेशका मोहम्मद शोमरत सिक्डरसँग संयक्त रूपमा पाँचौं स्थानमा सीमित भए। बिहीबार सेन्द्राले ४ ओभर ७६ तथा शोमरतले २ ओभर ७४ स्कोर गरेका थिए।
अघिल्लो दिन टिम इभेन्टतर्फ नेपाल 'बी' ले कुल २ सय ९१ स्कोरका साथ उपाधि कब्जा गरेको थियो। नेपालका शिवकुमारले पहिलो दिन ७२ तथा दोस्रो दिन ७३ स्कोर गरेका थिए भने उनका टिम सहयात्री शुक्रबहादुरले पहिलो दिन ७४ तथा दोस्रो दिन ७२ स्कोर गरेका थिए।
बंगलादेश टिम इभेन्टमा दोस्रो हुँदा टंकबहादुर कार्की र तेन्जिङ छिरिङ समावेश नेपाल 'ए' तेस्रो भएको थियो।
तेन्जिङ छिरिङले जुनियर विधाको उपाधि जित्दा सुवास घिसिङ दोस्रा भए। यसै गरी राजेन्द्रराज पाण्डेले ५० वर्षमाथिका सिनियरहरूको ९ होलको प्रतिस्पर्धामा बाजी मारे।
नेपाल गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बा, उपाध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, महासचिव टासी घले, सल्लाहकार प्यारजंग थापालगायतले बिहीबारै विजेताहरुलाई पुरस्कृत गरे। प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशका गरी ४८ एमेच्योर गल्फरको सहभागिता थियो।
प्रकाशित: ११ चैत्र २०७३ ०४:०७ शुक्रबार