७ वैशाख २०८१ शुक्रबार
खेल

पोडोलस्कीको स्वर्णिम बिदाइ

डर्टमन्ड- इङ्ल्यान्डमाथि १–० को विजय हासिल गर्दा बुधबार राति गोल गरेका स्ट्राइकर लुकास पोडोलस्कीले जर्मनीको राष्ट्रिय टिमबाट आफूले स्वर्णिम बिदाइ पाएको बताएका छन्। गत वर्ष नै अन्तर्राष्ट्रिय फुटबल करियरमा पूर्णविराम लगाइसकेका गालाटासरेका फरवार्ड पोडोलस्कीलाई प्रशिक्षक जोचिम लोउले बुधबारको मैत्रीपूर्ण खेलका लागि टिममा समावेश गरेका थिए। इङ्ल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जर्मनीको जर्सीमा सफल करियर बिताएका पोडोलस्कीलाई बिदाइका लागि उपयोग गर्ने जर्मन फुटबल संघ (डिएफबी) को योजना थियो। त्यसैले उनले जर्मनीका लागि १  सय ३०औं अन्तर्राष्ट्रिय खेल खेल्ने मौका पाएका थिए। अन्तिम पटक देशका लागि खेल्दै गरेको भावुक क्षणलाई जीवनभरको स्मरणमा परिणत गर्ने  क्रममा पोडोलस्कीले ४९औं अन्तर्राष्ट्रिय गोल गरे।

'मेरो करियरको अन्त्य फिल्मी शैलीमा भएको छ। मैले पनि अत्यन्तै सुुखद क्लाइमेक्स पाएँ, कुनै लेखकले आफ्नो नायकका लागि पनि योभन्दा सुखद स्त्रि्कप्ट लेख्न सक्दैनथ्यो होला,' घरेलु टोलीका लागि ६९औं मिनेटमा विजयी गोल गरेका पोडोलस्की भावुक भए, 'प्यारो भगवान् वा अरू कसैले मलाई बलियो बायाँ खुट्टा दिएका छन्। आज मैले त्यसैको प्रयोग गरेँ। म पछिल्ला १३ वर्षप्रति गौरवान्वित छु।'

अर्को वर्ष जापानको भिसेल कोबे प्रस्थानको तयारीमा रहेका पोडोलस्कीले कप्तानका रूपमा बुधबार जर्मन टोलीको नेतृत्व सम्हालेका थिए। उनकै कप्तानीमा जर्मनीले १९८७ यता पहिलो पटक पुरानो प्रतिद्वन्द्वी इङ्ल्यान्डमाथि घरेलु मैदानमा पहिलो जित हालिस गरेको थियो।

'मेरा लागि यो एउटा महान् खेल थियो। हामीले त्यस्तै ठूलो नतिजा पनि हात पार्‍यौं। मेरो विचारमा बाईबाई भन्नका लागि आजको माहोल अत्यन्तै उपयुक्त रह्यो,' विश्व च्याम्पियन टोलीबाट बिदा लिने क्रममा पोडोलस्कीले भने।

बुधबारको जित जर्मनीका मुख्य प्रशिक्षक लोउका लागि पनि उत्साहजनक रह्यो। यस नतिजासँगै उनको टोलीले एउटै गोल नखाएको खेलसंख्या सात पुगेको छ। पछिल्लो पटक गत वर्ष फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा आयोजकसँग पराजित भएयता जर्मनीले पोस्ट पूर्ण रूपमा सुरक्षित राख्न सफल भएको छ।

गोलकिपर म्यानुअल नुयुर, जेरोम बोएटिङ, सामी खेदिरा, मेसुट ओजिल, मार्को रिउस र मारियो गोमेजजस्ता पहिलो रोजाइका मुख्य खेलाडीहरूको अनुपस्थितिमा पनि विजय पाउनु लोउका लागि झनै महत्वपूर्ण थियो।

पोडोलस्कीले गोल गर्नुअघिसम्म गारेथ साउथगेटको इङ्ल्यान्डले खेलमा पकड कायम राखेको थियो। ३०औं मिनेटमा एडम लालानाको कडा सट पोस्टमा लाग्नु भ्रमणकारी टोलीको दुर्भाग्य थियो। त्यसपछि डेले अलीले अर्को खतरनाक प्रहार गरे पनि इङ्ल्यान्ड अग्रता लिन सफल भएन। उनको कडा प्रहार जर्मनीका मार्क आन्द्रे टेर स्टेगेनले बिजुलीको गतिमा बचाएर पहिलो हाफसम्म खेल गोलरहित बराबरीमै राखे।

पोडोलस्कीले समय सकिन २१ मिनेट बाँकी रहँदा उत्कृष्ट गोल गरेर मैत्रीपूर्ण खेल जर्मनीको पक्षमा ढल्काए। आन्द्रे सुरलको पासमा पोडोलस्कीले २५ यार्डबाट प्रहार गरेको कडा सट इङ्ल्यान्डका गोलकिपर जोए हार्टलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो।

'सामान्यतया फुटबलमा परीको कथाजस्तो हुँदैन। तर आज पोडोलस्कीका लागि त्यस्तै भयो,' पोडोलस्कीको गोललाई 'सनसनीपूर्ण' गोलको दर्जा दिँदै साउथगेटले भने, 'उनले देशका लागि जति अन्तर्राष्ट्रिय खेल खेले, जति गोल गरे र आज जस्तो गोल गरे, ती सब असाधारण उपलब्धि हुन्। उनको आजको गोल अत्यन्तै उत्कृष्ट थियो। जति प्रशंसा गरे पनि त्यो गोललाई कम हुन्छ। जोए हार्टको ठाउँमा बसेर हेर्दा त्यो गोल जोगाउन सम्भव थिएन।'

२००४ मा जर्मन टोलीबाट 'डेब्यु' गरेका पोडोलस्की २००६ को विश्वकपपछि लोउले मुख्य प्रशिक्षकको जिम्मेवारी लिएयता पूरै एक दशक टोलीको मुख्य सदस्य थिए। विश्वकप २०१४ मा दुई पटक मात्र उनले वैकल्पिक खेलाडीका रूपमा मैदानमा उपस्थिति जनाएका थिए। तर ब्राजिलमा जर्मनीले प्रभावशाली रूपमा उपाधि जित्दा टोलीलाई उत्साह प्रदान गर्नमा उनको भूमिका अत्यन्तै महत्वपूर्ण थियो।

'त्यो गोल विश्वस्तरीय थियो, तर विशेष खेलाडी यस्तै विशेष बिदाइको हकदार हुन्छन्। आजको खेल, गोल र नतिजा पोडोलस्कीका लागि पनि राम्रो रह्यो,' लोउले भने, 'हामी उनलाई अली चाँडै बाहिर निकाल्न चाहन्थ्यौं। तर मध्यान्तरमा उनले सकेसम्म बढी समय खेल्ने इच्छा देखाए। त्यसलाई हामीले सम्मान गर्‍यौं।'

लोउले बुधबार पहिलो रोजाइमा विश्वकप विजेता टोलीबाट टोनी क्रुस, माट्स हुमेल्स र पोडोलस्कीलाई मात्र खेलाएका थिए। २१ वर्षे स्ट्राइकर टिमो वार्नरलाई 'डेब्यु' को मौका दिएका लोउले टिममा थुप्रै प्रयोग गरेका थिए।

'केही खेलाडी पहिलो पटक टिममा एक–अर्कासँग सँगै खेलेका थिए। त्यसैले पहिलो हाफमा तालमेलमा समस्या आउँदा हामी धेरै नर्भस देखियौं,' लोउले भने। 

क्रुस र वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थोमस मुलरले पोडोलस्कीको बिदाइ योभन्दा राम्रो कल्पना गर्न नसकिने बताए। 'यस्तो सुखद संयोग फुटबलमा मात्र हुन सक्छ,' क्रुसले भने, 'बिदाइको अवसरमा त्यस्तो गोल र जित साँच्चै अविश्वसनीय भयो। त्यो गोल उनीहरूले हामीलाई दिएको उपहार थिएन, खासमा यो पोडोलस्कीका लागि जीवनभरको स्मरण थियो। हामीमध्ये केही नभए पनि हामीले दोस्रो हाफमा उत्कृष्ट संगठित प्रदर्शन गरेर विश्वलाई फेरि एक पटक देखायौं।'

मुलरले पोडोलस्कीको सुखद करियरले त्यतिकै सुखद बिदाइ पाएको प्रतिक्रिया दिए। 'म योभन्दा राम्रो बिदाइको स्त्रि्कप्ट कसैले लेखेको पनि कल्पना गर्न सक्दिनँ। त्यो उनका लागि दुर्लभ गोल थिएन, उनले सही समयमा सही निर्णयसहित गोल गरेका थिए,' मुलरले भने, 'सामान्यतया खेल सकिएको १० मिनेटमा रंगशाला खाली भइसक्छ। तर आज सबै जना उनलाई हेर्न चाहन्थे। १ सय ३० अन्तर्राष्ट्रिय खेल खेल्नेले विशेष सम्मान पाउनै पर्छ।'

बुधबार राति नै सम्पन्न अन्य अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्कटल्यान्ड र क्यानाडाले १–१ को बराबरी नतिजा निकाले।

प्रकाशित: ११ चैत्र २०७३ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App