७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेमको नाटक, अपहरणमा प्रयोग अनि हत्या

काठमाडौं- कालीमाटीदेखि मखन गल्ली आउजाउ गर्ने क्रममा त्यही बीचमा रहेको एटुजेड मोबाइल रिपेयरिङ पसलमा बस्ने लक्काजवान प्रकाश लामिछानेसँग २५ वर्षीया राधिका श्रेष्ठको नजर जुधिरहन्थ्यो तर बोलचाल भएको थिएन।

उनी मखन गल्लीमा रहेको न्यु डालिज साडी संसारमा काम गर्थिन्। पैसाको खाँचो परेपछि तीन वर्षअगाडि उनी मोबाइल बेच्न ए टु जेड पसलमै पुगिन्। पसल सञ्चालक लामिछानेसँग उनको बोलचालमात्रै खुलेन, मन पनि साटियो।

दुवैबीचको भेटघाटमा प्रेमालापमात्रै हैन, श्रेष्ठले काम गर्ने पसलका सञ्चालक ६२ वर्षीय श्यामसुन्दर अग्रवालबारे समेत कुरा भइरहन्थ्यो। महिलाप्रति बढी झुकाव राख्ने अग्रवालबारे श्रेष्ठ प्रेमीसँग गुनासो गरिरहन्थिन्।

भक्तपुरका २८ वर्षीय लामिछानेले उनलाई विवाहको प्रस्तावसमेत राखिसकेका थिए। श्रेष्ठ नयाँ जीवन सुरु गर्न उत्साहित नै थिइन्। तर, लामिछानेको दिमागमा भने अर्कै योजना घुमिरहेको थियो।

होटलमा बोलाएर अपहरण

२०७३ फागुन ५। पसलबाट दिउँसो साढे १ बजे हिँडेका अग्रवाल बेलुकासम्म फर्किएनन्। उनीसँग सम्पर्क गर्ने परिवारको प्रयास सफल भएन। उनीसँगै श्रेष्ठसमेत सम्पर्कविहीन भएपछि परिवारका सदस्यले महानगरीय प्रहरी अपराध महाशाखामा जानकारी दिए।

'दुवै सम्पर्कविहीन भएपछि उनीहरू सँगै रहेको आशंकामा कालीमाटीमा रहेको श्रेष्ठको डेरामा पुग्यौं,' अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी अजय केसीले भने, 'उनी परिवारको समेत सम्पर्कमा नरहेको र अन्तिम पटक अग्रवालसँग सम्पर्क भएको खुलेपछि अनुसन्धानका लागि श्रेष्ठ परिवारका दुई जनालाई नियन्त्रणमा लियौं।'

बेलुका साढे ६ बजे अग्रवाल परिवारको सम्पर्कमा आए। उनी सुन्धाराको सनसाइन होटलको कोठा नम्बर ४०४ मा रहेको सूचना आएपछि प्रहरी टोली पुगेलगत्तै खुल्यो, उनी अपहरणमा परेका रहेछन्।

महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार उनलाई श्रेष्ठले 'अर्जेन्ट काम छ' भन्दै होटलमा बोलाएकी थिइन्। दुवै जना होटलमा बसेर मदिरा पिउन थाले। केही समयमा उनीहरू बसेकै कोठामा तीन युवा आए। उनीहरू थिए लामिछाने, किशोर गिरी र सरोज घोरासैनी। उनीहरूले अग्रवाललाई नियन्त्रणमा लिएर हातखुट्टा डोरीले बाँधिदिए। मुखमा कालो टेप लगाइदिए र सुरु भयो बार्गेनिङ। १० लाख फिरौतीमा अपहरणमुक्त गर्ने सहमति भयो।

अग्रवालसँग २ लाख ७० हजार नगदै थियो। उनले एस डेभलपमेन्ट बैंकको ८ लाखको चेक बनाइदिए। अपहरणमा संलग्नमध्ये एक जना गएर चेक साटेर पैसा निकाले र अग्रवाललाई होटलमै छाडेर चारै जना हिँडे।

१५ दिनपछि फेला पर्‍यो खाल्डोमा शव

महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली अग्रवाल अपहरणको अनुसन्धानमै थियो। पहिलो दिनमै प्रहरीले श्रेष्ठको नम्बर पाइसके पनि कल विवरण लिन अदालतको अनुमति लिनुपर्ने कानुनी प्रावधानका कारण अनुसन्धानले गति लिएन।

तेस्रो दिन श्रेष्ठको नम्बरको आधारमा प्रहरीले अन्य तीन शंकास्पद नम्बरको सूची बनायो। श्रेष्ठको मोबाइल नम्बरको कल लोकेसन र सम्पर्क भएको नम्बरका आधारमा ती नम्बरको पहिचान भएको थियो। नम्बर खुलेसँगै प्रहरीले तिनका प्रयोगकर्ता पनि पहिल्यायो। तर, श्रेष्ठसँगै सबैको मोबाइल बन्द थियो।

फागुन २० मा घटनाले अर्कै मोड लियो। भक्तपुर, वागेश्वरी गाविसको मुहानपोखरीमा प्रहरीले श्रेष्ठको शव फेला पर्‍यो। शवको हातगोडा बाँधिएको थियो। मुखमा कालो टेप लगाएर पुरिएको थियो।

'जोजो शंकामा थिए, उनीहरूको मोबाइल लोकेसन अपहरणका बेला सुन्धारा क्षेत्रमै थियो, पछि भक्तपुर देखियो,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'नम्बर खुलेकै बेला लोकेसन निकाल्न सकिएको भए घटनाको मोड अर्कै हुनसक्थ्यो।'

अन्य तीन आरोपी प्रहरीको पहुँचभन्दा बाहिर थिए। तीनै जना नेपालबाहिर पुगिसकेका थिए। उनीहरू भारत पुगे पनि सामाजिक सञ्जालमा भने सक्रिय नै थिए। उनीहरूले मोबाइलबाट इन्टरनेट चलाएकाले प्रहरीले भारतीय पक्षको सहयोगमा उनीहरूले प्रयोग गर्ने नम्बर पहिल्यायो र अपहरणमा संलग्नमध्ये गिरी र घोरासैनीलाई बुधबार पक्राउ गर्‍यो। यी दुबैको बयानबाट खुल्यो जे विवरण खुल्यो त्यसले प्रहरीको मनसमेत चसक्क बनायो। 'अपराधीले अपराध लुकाउन कतिसम्म त्रु्कर काम गर्न सक्छन् भन्ने यो घटनाले देखायो', महाशाखा प्रमुख अमात्यले भने।

पक्राउबाट जोगिन प्रेमिकाको हत्या

एसएसपी अमात्यका अनुसार श्रेष्ठ प्रेमी लामिछानेकै योजनामा मारिएकी थिइन्। हत्याको कारण देखियो श्रेष्ठमार्फत प्रहरी उनीहरूसम्म आइपुग्ने खतरा।

अग्रवालले श्रेष्ठलाई मात्रै चिन्ने र उनले नै होटलमा बोलाएकाले उनी पक्राउ पर्ने निश्चित थियो। अग्रवालको अपहरणमा श्रेष्ठको संलग्नता खुले पनि आफूहरू जोगिनेमा लामिछानेसहित तीनै जना विश्वस्त थिए।

एसएसपी अमात्यका अनुसार फिरौतीबापतको रकममध्ये गिरी र घोरासैनीलाई २–२ लाख दिएर बाँकी रकम लामिछाने आफैंले राखेका थिए। पैसा बुझेपछि उनी श्रेष्ठलाई सँगै लिएर ट्याक्सीमा भक्तपुरको घरमा आए। केही समयपछि अन्य दुई जनासमेत भक्तपुरमै आइपुगे। त्यसपछि तीनै जनाले श्रेष्ठलाई डोरीले बाँधेर अग्रवाललाई बन्धक बनाउन प्रयोग गरेको टेपले मुख टाली घाँटी थिचेर हत्या गरेका थिए।

हत्यापछि लामिछानेले शव प्लास्टिकले बेरेर मोटरसाइकलमा राखी भक्तपुरको मुहानपोखरीमा लगेर खाल्डो खनी पुरेका थिए।  प्रहरीका अनुसार घटनाको दिन तीनै जना भक्तपुरमै थिए। भोलिपल्ट सबैले नेपाल छाडेका थिए।

प्रकाशित: ११ चैत्र २०७३ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App