१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

केरुङमा रोकिए पाँच सय कन्टेनर

तस्बिर सौजन्यः बौद्ध व्यापार संघ

काठमाडौं- चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाकानजिकै केरुङमा रोकिएका छन्। चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन्। लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएका छन्।

भन्सार कर्मचारी र एजेन्टको बदमासीले करिब पाँच सय कन्टेनर रोकिएको बौद्ध व्यापार संघका पूर्वअध्यक्ष दुर्गानाथ दाहालले बताए। 'महिनौंदेखि अर्बौंका सामान रोकिएपछि समस्यामा परेका छौं,' दाहालले भने, 'भन्सारलाई दोषी देखाएर एजेन्टले हाम्रा लत्ताकपडा रोके।' सामान नआउँदा व्यापार व्यवसाय ठप्प भएको दाहालले गुनासो गरे।

धेरै उद्योगका कच्चा पदार्थ रोकिएकाले कलकारखाना बन्द हुने अवस्थामा पुगेको उनी बताउँछन्। स्रोतका अनुसार विगतमा रसुवागढी भन्सारका अधिकारी र केरुङबाट काठमाडौंसम्म सामान ल्याइदिने एजेन्टबीच 'सेटिङ'मा न्यून भन्सार शुल्क तिरेर सामान पास गराइन्थ्यो। अहिले भन्सार र एजेन्टबीच कुरा नमिलेर भन्सारले कडाइ गरेपछि सरकारले निर्धारण गरेकोे मूल्य तिनुपर्ने भएको छ।

काठमाडौंका व्यापारीले चीनबाट सामान किनेपछि भन्सार पास र ढुवानीको जिम्मा एजेन्टलाई दिन्छन्। व्यापारीसँग कम मूल्यमा काठमाडौंसम्म सामान ल्याउने सम्झौता गरेका एजेन्टले अहिले भन्सारमा निर्धारित मूल्य तिनुपर्ने भएपछि कम मूल्यमा भन्सार पास गराउन सामान ढुवानी गरेका छैनन्।

केरुङमा पाँच सयभन्दा बढी कन्टेर रोकिएको हिमालय सीमा व्यापार संघका अधिकारीले बताए। केही समय चीनतर्फ र नेपालतर्फको भन्सारको कारण सामान ल्याउन ढिलाइ भएको संघका उमेश सुवेदीले बताए। 'भन्सार कर्मचारीले किताबी मूल्यांकनभन्दा धेरै  तिराएकाले पनि सामान रोकिएका हुन्,' सुवेदीले भने, 'भन्सार प्रमुखको हेरफेर र विभिन्न कारणले ढिलाइ भयो।'

सामान रोकिएको विषयमा सरकारी अधिकारीलगायत सबै क्षेत्रसँग हारगुहार गर्दा पनि सुनुवाइ नभएको अर्का व्यापारी सुदर्शन घिमिरेले बताए। 'सयौं व्यापारीले ल्याएको अर्बौंका सामान रोकिँदा पनि ल्याउन पहल भएन,' घिमिरेले भने, 'सामान रोकिनुमा भन्सार अधिकारी र एजेन्टको दोष छ।'

विगतमा भन्सारका कर्मचारीले न्यून मूल्यमा भन्सार महसुल असुलेर सामान छाडेका कारण यो अवस्था आएको बताए। 'आउनेजति सबै सामानमा समान कर लगाएबजारमा पनि समान मूल्य हुन्छ,' उनले भने, 'अहिले पनि ठूला व्यापारीले सेटिङ मिलाएर ल्याएका छन्।'

आउने सामानको वास्तविक मूल्यका आधारमा कर लगाउने हो भने समस्या नआउने बताउँछन् सरोकारवाला। भन्सार कार्यालयका प्रमुख फेरिएसँगै व्यापारीसँग गर्ने डिल फरक हुँदापनि यस्तो भएको उनीहरुको भनाइ छ।

त्यहाँ क्यारिङ एसोसिएसन, हिमालय सीमाव्यापार संघ, नेपाल-केरुङ व्यापार संघ लगायतले सामान आयातगर्न समन्वयको कामगर्दै आएका छन्। ढुवानीमा संलग्न व्यवसायीको सिन्डिकेटले यस्तो अवस्था आएको अर्का व्यवसायीले बताए। 

भन्सारका अधिकारीहरुले भन्सारको कारण सामान नरोकिएको बताए। भन्सारमा सामान नआएको रसुवागढी भन्सार कार्यालय प्रमुख केदार पनेरुले बताए। 'केरुङदेखि २६ किलोमिटर वर भन्सार कार्यालय छ,' प्रमुख पनेरुले भने,'सामान रोकिएको औपचारिक जानकारी छैन।' भन्सारको कारण नभई एजेन्टकै कारण रोकिएको हुनसक्छ।' भन्सारमा आए नियमानुसार मूल्यांकन गरेर कर असुल्ने उनको भनाइ छ।

चीनबाट ल्याउने सामान रसुवागढी हुँदै सिधै ल्याउँदा छिटो आउने भएकाले व्यापारीले पछिल्लो समय यो रुट प्रयोग गर्दै आएका छन्। विगतममा ग्वान्जाउदेखि कलकत्ताहुँदै काठमाडौं ल्याउँथे। ग्वान्जाउबाट कलकत्ता हुँदै काठमाडौंसम्म सामान आइपुग्न झन्डै दुई महिना लाग्छ।

पछिल्लो समय नेपाली व्यवसायीले कपडा, फर्निचर, इलेक्ट्रोनिक्स सामानयो रुटबाट ल्याउने गरेका छन्। चीनले केही महिनाअघि निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएको नयाँ रेल्वे तथा सडक कार्गो सेवाबाट सामान तिब्बत हुँदै काठमाडौं आउँछ।

प्रकाशित: ११ चैत्र २०७३ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App