७ वैशाख २०८१ शुक्रबार
अर्थ

'विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं'

काठमाडौं- रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका कामदारको सीप स्वदेशमा उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संसारका विभिन्न मुलुक पुगेर फर्केका व्यक्तिले थुप्रै सीप सिके पनि त्यस्ता व्यक्तिले स्वदेशमा रोजगारी नपाउँदा या व्यवसाय गर्ने वातावरण नहुँदा वैदेशिक रोजगारी नेपालका लागि खासै उपलब्धिमूलक हुन नसकेको औंल्याइएको छ। वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशी श्रम बजारमा पुनर्स्थापन गर्ने विषयमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले नेपालको भौतिक विकास र आर्थिक उन्नतिका लागि विदेशबाट सीप सिकेकालाई स्वदेशमा मान्यता दिनुपर्ने धारणा राखेका हुन्।

पछिल्लो समयमा दैनिक १२ देखि १५ सय युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला श्रम विज्ञहरूले देश निर्माणका लागि जसरी वैदेशिक रोजगारीमा जानेको संख्या घटाउन रविदेशबाट फर्केकालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्न आवश्यकता रहेको बताए।

१० वर्ष कोरियामा बिताएका सिद्धिचन्द्र बरालले आप्रवासी कामदार स्वदेशमा उद्यम गर्न इच्छुक भए पनि सहयोग पाउन नसकेको धारणा राखे। विदेशमा काम गरेर फर्केका कामदारको हकमा सरकार निकै पूर्वाग्रही भएको समेत भुक्तभोगीको अनुभव छ। श्रम तथा रोजगार मन्त्रालयले रोजगारीको क्रममा बिदेसिनेको विवरण संकलन गर्ने तर विदेशबाट फर्कनेको विवरण संकलन गर्ने व्यवस्था नगर्नुलाई सरोकारवालाले विदेशबाट फर्केकाप्रतिको सरकारी उदासीनताको रुपमा चित्रण गरे। वैदेशिक रोजगारीबाट फर्किएका प्रभात साहले आफूहरुका लागि कृषि क्षेत्र नै सबभन्दा उत्तम हुने बताए।

पछिल्लो समय वार्षिक सरदर पाँच लाख श्रमशक्ति काम गर्न विदेश जाने गरे पनि करिब ७५ प्रतिशत अदक्ष हुने गरेको केन्द्रीय तथ्यांक विभागको विवरणमा उल्लेख छ। रोजगारीमा जानुअघि अदक्ष अवस्थामा रहेका कामदार विदेश गइसकेपछि काम गर्दागर्दै सीप सिक्ने गरेको बताइन्छ। रोजगारीको क्रममा खाडी मुलुक जानेलाई दुई र मलेसिया जानेलाई तीन वर्षको श्रम स्वीकृति प्रदान गर्ने कानुनी व्यवस्था रहेकाले त्यस अवधिसम्म धेरैले सीप सिक्ने विज्ञको धारणा छ ।

दुई–तीन वर्षको बीचमा काम गर्दागर्दै अदक्ष श्रमिक सम्बन्धित काममा दक्ष भइसक्ने भएकाले स्वदेश फर्केका उनीहरुलाई सरकारी निकायले प्रमाणपत्र दिएर काममा लगाउन सक्ने बताइएको छ। नेपालमा भूकम्पपछि नै निर्माण क्षेत्रका लागि करिब सात लाख मजदुरको आवश्यक रहेको बताइन्छ। वैदेशिक रोजगारीमा सीप सिकेका व्यक्तिलाई स्वदेशमै सीप परीक्षण गर्न सक्ने व्यवस्था हुने हो भने यतिखेर आवश्यक परेका श्रमिक विदेशबाट फर्केका व्यक्तिबाटै पूर्ति गर्न सकिने धेरैको भनाइ छ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनाल स्वदेशमा दक्ष जनशक्ति राख्नअहिले हुने गरेको नातावाद, कृपावाद तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताउँछन्। सोही कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवनकुमार राईले नेपालका युवायुवतीले जागिरको मानसिकता त्यागेर उद्यमी बन्नुपर्ने बेला आएको बताए। साथै उनले देशको अवस्था राम्रो छैन भनेर बिदेसिने तथा स्वदेशमा कुनै उद्यम नगर्ने अवस्थाको अन्त्य हुनु पर्ने धारणा राखे। 'देशको अवस्था ठीक छैन भनेर सधैं गुनासो गर्ने हो भने नेपालको विकास कहिले होला?,' उनले भने।

सिटिइभिटीका सदस्य सचिव रमेशकुमार बखेतीले सधैं रेमिटेन्सको मात्र कुरा नगरी अध्ययनको लागि बिदेसिने युवायुवतीका कारण बाहिरने रकमको खोजी गर्ने बेला आएको बताए। 'अध्ययनका लागि बिदेसिने युवायुवतीमार्फत जाने रकममध्ये ७५ प्रतिशत रकम स्वदेश फर्कंदैन,' बखेतीले भने। उक्त कार्यक्रममा चन्द्रभक्त नकर्मीले सीप परीक्षणको वर्तमान अवस्था र इशान घिमिरेले वैदेशिक रोजगारीबाट फर्केका कामदारको अवस्थाबारे प्रस्तुति राखेका थिए।

प्रकाशित: ११ चैत्र २०७३ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App