७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारी सेवाप्रति जनताको विश्वास नभएको मन्त्री थापाको स्वीकारोक्ति

रौतहट – रौतहटको सरकारी स्वास्थ्य सेवाप्रति जनताको विश्वास नभएको स्वास्थ्य मन्त्री गगन थापाले स्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा आयोजित सप्ताहव्यापी निःशुल्क सघन स्वास्थ्य शिविरको स्थलगत निरीक्षणको क्रममा उपचारका लागि हजारौँको भीड देखेपछि जनताको स्वास्थ्य समस्यालाई सरकारले समाधान गर्न नसकेको स्वीकार्दै “विश्वसनीय स्वास्थ्य सेवा भएको भए शिविरमा दिनहँु उपचारका लागि हजारौँको भीड नदेखिने” बताए ।
सरकारी अस्पतालले विश्वसनीय र शुलभ किसिमले सेवा दिन नसेकेको कारण नेपाली सेनाको सहकार्यमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको शिविरमा दैनिक हजारौँजना आइरहेको प्रति स्वास्थ्य मन्त्री थापाले आश्चर्य व्यक्त गरेका छन् । जिल्ला अस्पतालको छेवैमा भइरहेको स्वास्थ्य शिविर मानवीय कारणले आयोजना गरेको भए पनि अस्पतालको सेवामा सुधार गर्नुपर्ने मोर्चाका नेता तथा नागरिक समाजले स्वास्थ्य मन्त्री थापासित आग्रह गरेपछि चालू आर्थिक वर्षभित्रै सम्पूर्ण स्वास्थ्य उपकरणहरुले जिल्ला अस्पताललाई पूर्ण बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला अस्पतालमा कम्तीमा एउटा बालरोग विशेषज्ञ र महिला रोग विशेषज्ञको दरबन्दी तत्काल कायम गरी डाक्टर पठाउने प्रतिबद्धता व्यक्त गरेका मन्त्री थापाले बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म अनिवार्यरुपमा अस्पतालमा बहिरंग सेवा उपलब्ध गराउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा पहिलो पल्ट नभई भूकम्पको बेलामा मिलेर काम गरेको अवस्थालाई दृष्टिगत गर्दै पहिलो चरणमा रौतहटमा काम गर्न वातावरण भएकोमा रौतहट पहिलो जिल्ला भएकोमा खुशी व्यक्त गरे । यो शिविरलाई अझै केही समय बढाउने तथा आउने दिनहरुमा हुने शिविरमा यत्रो विरामीको संख्या नहुने समेत बताए ।
स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिलाई हटाउदै सेनाको अस्पतालमा सर्वसाधारण जनताहरु समुचित रुपमा सेवा पाउने व्यवस्थाको आफू मन्त्री भएपछि सुरुआत गरेको बताउँदै स्वास्थ्य मन्त्री थापाले सेनाको अस्पताललाई स्तरवृद्धि गरेर राजनितिक आस्थाका विरामीहरुलाई विदेशमा पठाएर ठूलो व्यय भार थेग्दै आएको अवस्थामा अब त्यसता बिरामीहरुलाई बाहिर जानुपर्ने आवश्यक्ता नपर्ने स्पष्ट पारे ।
रौतहट लगायत मुलुकको विभिन्न सरकारी जिल्ला अस्पतालहरुको स्तरोन्नति गरी आम नेपाली नागरिकहरू आप्mनै मुलुकमा समुचित एवं गुणस्तरीय स्वास्थ्य सेवा पाउन भनेर आफू दिनराति लागि परेको बताए । रौतहटमा देखिएको जनशक्ति अभावलाई पुरा गर्न स्वास्थ्य मन्त्रालयको विशेष टोली यही बसेर अध्ययन गरिरहेको तथा जिल्ला अस्पतालमा चाहिने सबै साधनहरूको व्यवस्थापन गरिने समेत उनले जानकारी दिए । जिल्ला अस्पताल गौरको स्तरोन्नतिको लागि तत्काल ९० लाख र चन्द्रपुर अस्पतालको स्तरवृद्धिका लागि तत्काल ७० लाख रुपैया विनियोजन गरको बताउँदै रौतहटको स्वास्थ्य समस्याअनुसार उपचारको लागि सरकार गम्भीर रहेको बताएका छन् । 
संचारकर्मीहरूको प्रश्नको जवाफमा स्वास्थ्य मन्त्री थापाले मधेशी मार्चासंग हिजो प्रधानमन्त्री प्रचण्डको सकारात्मक वार्ता भएको छ, आशा छ उहाँको माग पुरा भई निर्वाचनमा जाने संकेत आएको जानकारी दिए ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ केसरी सहितका पदाधिकारीहरुले जिल्ला अस्पताल लगायत यहाँ स्वास्थ्यको अवस्था वारे जानकारी गराउदा मन्त्री थापाले कुनै पनि हालतमा स्वास्थ्यका कर्मचारीलाई खटाएको स्थानमा गई तुरुन्तै विरामीहरुलाई सेवा प्रदान गर्न निर्देशन दिदै यदी अटेर गर्ने स्वास्थ्यकर्मीलाई कारवाही हुने चेतावनी दिए । मानविय सेवा संग खेलवाड गर्ने स्वास्थ्यकर्मीलाई राज्यले निरुत्साहित गर्ने तथा राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेकोमा आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ पुरा गर्न समेत उनले जिल्ला स्वास्थ्य कार्यालय रौतहटका कर्मचारीहरुलाई निर्देशन दिए ।
सो निरीक्षण कार्यक्रममा रक्षा मन्त्री बालकृष्ण खाँड, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा सहितका उच्चपदस्थ पदाधिकारीहरुले शिविरको निरीक्षण गरेको शिविरका प्रमुख डा. प्रमुख सेनानी उदयबज्र बज्राचार्यले जानकारी दिए ।

प्रकाशित: ११ चैत्र २०७३ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App