coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार भेटवार्ता भएको छ । 

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुवै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । 

सो अवसरमा उनीहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

रक्षामन्त्री चाङको सम्मानमा सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेका थिए । उनले सो अवसरमा सम्मान गारतको निरीक्षणसमेत गरे । 

यसअघि जनरल चाङ सैनिक मञ्च टुँडिखेल गइ त्यहाँस्थित वीर सैनिकको स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रदाञ्जलि व्यक्त गरे । 

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले शुक्रबार दिउँसो भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री खाँणसँग बिहीबार भएको भेटमा चिनियाँ रक्षामन्त्री चाङले नेपाल र नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता हुने विश्वास दिलाएका थिए । 

चीन र नेपालबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा समेत यसले राम्रो प्रभाव पारेको जनाउँदै चाङले नेपालले एकचीन नीतिअन्तर्गत उत्तरी सीमा सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको रक्षामन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यसलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग बढाउने तत्परता चिनियाँ पक्षबाट व्यक्त भएको थियो । 

हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहान्छौँ, हामी नेपालको हित चाहान्छौँ, नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव रहेको कुरा रक्षामन्त्री चाङले सो अवसरमा उल्लेख गरेका थिए। रासस 

प्रकाशित: ११ चैत्र २०७३ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App