७ वैशाख २०८१ शुक्रबार
अन्य

खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै दलीय भागबन्डा

काठमाडौं— उच्च शिक्षामा नेपालीको सहज पहुँच पुर्‍याउने लक्ष्यसहित सरकारले खोल्न लागेको खुला विश्वविद्यालय सञ्चालनमा नआउँदै पदाधिकारी नियुक्तिमा दलीय भागबन्डा सुरु भएको छ। 

पदाधिकारी नियुक्ति दलीय भागबन्डामा भए त्यसले खुला विश्वविद्यालयको मर्मलाई धुमिल बनाउने विज्ञहरूको विश्लेषण छ। खुला विश्वविद्यालय  ऐन पास भइसकेको छ। दलका नेताले उच्च शिक्षा विकासभन्दा पनि दलका कार्यकर्तालाई जागिर खुवाउनकै लागि पदाधिकारी नियुक्तिमा भागबन्डा गर्न थालेपछि विज्ञहरूले सो प्रक्रियाकै विरोध गरेका छन्। 

‘खुला विश्वविद्यालय शिक्षामा सबै नेपालीको न्यायका लागि हामी गैरआवासीय नेपालीले एक दशकदेखि क्रान्ति गरी ऐन पास गरायौं’, ढकालले नागरिकन्युजसँग भने, ‘हाम्रो आन्दोलन त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष   र माओवदिी केन्द्रले अपहरण गर्‍यो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले खुला विश्वविद्यालयको उपकुलपति केशरजंग बराललाई बनाउन दबाब दिइरहेका छन्। एक दशकदेखि नेपालमा खुला विश्वविद्यालय स्थापना गर्ने अभियानमा लागिपरेको गैरआवासीय नेपाली संघलाई समेत बेवास्ता गरी प्रधानमन्त्रीले बराललाई उपकुलपति नियुक्त गर्ने वातावरण बनाउन दबाब दिइरहेको संघका डा. प्रमोद ढकालले बताए। 

छनोट समितिले उपकुलपतिका लागि बराल (माओवादी केन्द्र), लेखनाथ कोइराला (माओवादी केन्द्र) र शिक्षाविद् विद्यानाथ  कोइरालाको नाम छानेको छ। अनुदान आयोगका अध्यक्ष परासर कोइराला संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ सदस्य छन्। 

खुला विश्वविद्यालय ऐनअनुसार विश्वविद्यालयको कुलपति शिक्षामन्त्री  हुनेछन्। खुला विश्वविद्यालयको अवधारणा अन्यभन्दा फरक भएकाले  दलका व्यक्ति पद अधिकारी नियुक्ति गर्दा विश्वविद्यालयको उद्देश्य पूरा नहुने ढकालको ठहर छ। 

‘खुला विश्वविद्यालय शिक्षामा सबै नेपालीको न्यायका लागि हामी गैरआवासीय नेपालीले एक दशकदेखि क्रान्ति गरी ऐन पास गरायौं’, ढकालले नागरिकन्युजसँग भने, ‘हाम्रो आन्दोलन त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष   र माओवदिी केन्द्रले अपहरण गर्‍यो।’ नेपालमा बढ्दै गएको ‘ब्रेनड्रेन’ फर्काएर नेपालमै रोक्ने वातावरण खुला विश्वविद्यालयले बनाउने हो।

उनले भने, ‘खुला विश्वविद्यालयमा हामीले गरेको योगदानको बेवास्ता गरी पार्टी भागबन्डा तथा नेताहरूले आफ्नो खल्तीबाट नेतृत्व नियुक्ति गर्ने प्रक्रियाको विरोध हो। यसको नेतृत्व गैरअवासीय नेपाली नै लिनुपर्छ।’ त्रिवि शिक्षाध्यक्ष त्रिपाठी पनि त्रिभुवन विश्वविद्यालयमा माओवादि कोटाबाट नियुक्त  भएकी हुन्। 

‘विश्वविद्यालय नखुल्दै दलगत भागबन्डा हुन थालेपछि विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थी  भर्ना हुँदैनन’, उनले भने, ‘दलको कब्जामा विश्वविद्यालय गएपछि उत्कृष्ट प्राध्यापकसमेत विश्वविद्यालयमा प्रवेश गर्न पाउँदैनन् र उत्कृष्ट जनशक्ति उत्पादन हुँदैन।’

शिक्षाविद् विद्यानाथ कोइरालाले खुला विश्वविद्यालय गुणस्तरीय शिक्षा कायम गर्न र सबै नेपालीको पहुँचमा उच्च शिक्षा पु¥याउने उद्देश्यले खुलेकाले प्राज्ञिक थलोबाटै पदधिकारी नियुक्ति गर्दा उपलब्धि हासिल हुने दाबी गरे। ‘खुला विश्वविद्यालय ऐन पारित हुँदा हामीले धेरैपटक कुलपति प्राज्ञिकहरूबाटै बनाउन सुझाव दिएका थियौं । तर हाम्रो कुरा सभासद्हरूले मानेनन्, हामीले हार्‍यौं।’

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा केशरजंग बराललाई च्यापेका छन्। शिक्षामन्त्रीको अनिर्णयका कारण उपुकलपति नियुक्ति हुन नसकेको उनले बताए। यसैगरी रजिष्ट्रारमा माओवादी केन्द्रका कमल ढकाल र कांग्रेसका कमलदीप ढकालको नाम सिफारिस भएको छ।  खुला विश्वविद्यालय प्राज्ञिक पहुँचभन्दा बाहिर जाने संकेतलाई इंगित गर्दै शिक्षाविद् कोइरालाले भने, ‘खुला विश्वविद्यालयमा पार्टीकरण भयो भने यो प्रमाणपत्र खरिदबिक्रीको थलो बन्ने खतरा बढ्छ।’

प्रकाशित: ११ चैत्र २०७३ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App