७ वैशाख २०८१ शुक्रबार
समाज

अपराध नियन्त्रण गर्न ‘अप्रेशन डेल्टा’

लागुऔषधसहित पक्राउ गरेका युवा। तस्बिर: रोहित राई

धरान- कोशी अञ्चल प्रहरी कार्यालय धरानले कोशीका सबै जिल्लामा ‘अप्रेशन डेल्टा’ नाम दिएर अपराध नियन्त्रणको नयाँ सुरक्षा कार्ययोजना थालनी गरेको छ।

कोशी अञ्चलको प्रहरी प्रमुख भएर आएका एसएसपी उत्तमकुमार कार्कीले एक महिना लगाएर अध्ययनपछि अप्रेशन डेल्टाको कार्ययोजना तयार गरेका थिए। उक्त कार्ययोजनालाई यही चैत ७ गते (आइतबार) देखि कोशी अञ्चलका सबै ६ जिल्लामा कार्यान्वयन गर्न थालिएको एसएसपी कार्कीले बताए। उनका अनुसार लागुऔषध, गुण्डागर्दी र तस्करी नियन्त्रण गर्ने उद्देश्यले अप्रेशन डेल्टाको कार्ययोजना तयार गरिएको हो। नयाँ सुरक्षा कार्ययोजनालाई कार्यान्वयन गर्न विशेष टिम परिचालन भएपनि आफ्नो मातहतका सबै जिल्ला एवं युनिटहरुमा प्रहरीहरुले अप्रेशन डेल्टालाई सघाउने एसएसपी कार्कीले बताए। ‘ठाउँ बिशेषमा अलग अलग किसिमको अपराध हुनेगर्छ, ती ठाउँ बिशेषको अपराध नियन्त्रण गर्न विशेष कार्यक्रम अप्रेशन डेल्टा तयार गरिएको हो । यसले लागुऔषध, गुण्डागर्दी र तस्करीविरुद्ध कार्य गर्नेछ’–कार्ययोजनाबारे एसएसपी कार्कीले भने।

                अप्रेशन डेल्टा कोशी अञ्चलको सबै जिल्लालाई लक्षित गरेर तयार गरिए पनि धरान क्षेत्रमा हुने अपराधलाई बढी केन्द्रीत गरिएको छ । लागुऔषधको कारोबार तथा प्रयोगमा र गुण्डागर्दीमा धरान वद्नाम छ। पछिल्लो समय हत्या, ग्याङ्फाइटको घटनाले पनि धरानको शान्ति सुरक्षामा थप चुनौती थपिएको बेला अञ्चल प्रहरीले अप्रेशन डेल्टा शुरुवात गरेको हो। एसएसपी कार्कीका अनुसार अप्रेशन डेल्टाको नेतृत्व जिल्लामा जिल्ला प्रहरी प्रमुख (एसपी) र मातहतको युनिटमा इञ्चार्जको कमाण्ड हुनेछ । कोशी अञ्चलभरिका ४ हजार ५ सय बढी प्रहरीहरु यसको सदस्य रहनेछन् । आवश्यकता अनुसार अञ्चल प्रहरीले स्पेशल स्क्वाड परिचालन गर्नेछ । ‘अपराध नियन्त्रण प्रहरीबाट मात्र सम्भव छैन, समाज र प्रत्येक नागरिकको पनि साथ सहयोग हामीलाई आवश्यक छ’–कार्कीले आग्रह गर्दै भने।

                अपराधीसँग प्रहरीको साँठगाठ वा मिलेमतोलाई पुर्णरुपमा बन्द गराउने र त्यस्तो भएको प्रमाणित भए विभागीय कारबाही गर्ने एसएसपी कार्कीले प्रतिवद्धता जनाए । राजनीति र अपराध फरक पाटो भएको जिकिर गर्दै उनले अपराध गर्ने जो कोहीलाई पनि अपराधीकोरुपमा व्यावहार र कारबाही गर्ने दाबी गरे। ‘राजनीति म जान्दिन, अपराध गर्ने जो कोही होस, अपराधी नै हो । अपराध गर्नेलाई कारबाही हुन्छ’–उनले थपे–‘हुलहुज्जत, पैसा असुली होस वा जस्तोसुकै गुण्डागर्दीविरुद्ध कारबाही गछौं।’

लागुऔषध कारोबारी पक्राउ

कोशी अञ्चलको जिल्लामा अपराध नियन्त्रण गर्न नयाँ सुरक्षा कार्यक्रम लागु गरेलगत्तै प्रहरीले धरानमा ठूलो मात्रामा लागुऔषधसहित एक कारोबारी पक्राउ गर्न सफल भएको छ। अञ्चल र धरान प्रहरीको संयुक्त टोलीले धरान १५ स्थित पिण्डेश्वरी चोकबाट २८ बर्षीय एक युवालाई बिहिबार लागुऔषधसहित समातेको हो।

प्रहरीका अनुसार ती युवाबाट २ हजार २ सय ५ एम्पुल डाइजेलाव, एभिल र लुप्रिजेसिक इकजेक्सन वरामद भएको छ । यसको बजार मुल्य १० लाख बराबर भएको एसएसपी उत्तम कार्कीलले जानकारी दिए। ‘अप्रेशन डेल्टा लागु गरेलगत्तै यो सफलता हात पारेका हौं, प्रारम्भिक अनुसन्धानबाट भारतीयले नेपाल भित्र्याएको खुलेको छ’–उनले भने । अनुसन्धान कार्य नसकिएको र कारोबारीको थप जालो पत्ता लगाउन बाकी भएको भन्दै प्रहरीले पक्राउ परेका युवाको नाम भने सार्वजनिक गरेको छैन। गुरुङ थरका ती युवाको घर धरान ५, देउराली घर भएपनि पिण्डेश्वरी चोकमा कोठा डेरा लिएर लागुऔषध कारोबार गरिरहेको प्रहरीको भनाई छ । उनलाई कोठाबाटै लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले कार्टुनभित्र लुकाएको अवस्थामा ती लागुऔषध फेला परेको थियो।

 

 

 

 

प्रकाशित: ११ चैत्र २०७३ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App