७ वैशाख २०८१ शुक्रबार
समाज

भानुजयन्ती मनाउन राष्ट्रपति मुखर्जी दार्जिलिङ आउँदै

इलाम-नेपालीभाषी बाहुल्य भारतको दार्जिलिङमा बुधबार २ सय २ औं भानुजयन्ती मनाइँदैछ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउन भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमेत दार्जिलिङ पहाड आउँदैछन्।

   केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया, पश्चिमबंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जी, राज्यपाल गभर्नर केशरीनाथ त्रिपाठी, गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन प्रमुख विमल गुरुङलगायत विशिष्ट व्यक्तिहरू समारोहमा सहभागी हुने पश्चिम बंगाल सरकारले जनाएको छ ।

  दार्जिलिङमा राष्ट्रपति नै सहभागी भएर भानुजयन्ती मनाउन लागिएकाले यो अपूर्व समारोह भएको स्थानीय पत्रकार ज्ञानेन्द्र अर्यालले नागरिकलाई बताए। पश्चिम बंगाल सरकारले आयोजना गर्न लागेको समारोहमा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) तथा दार्जिलिङ नेपाली साहित्य सम्मेलनको पनि सहयोग र समर्थन छ । ‘नेपाली भाषाका आदिकविको जयन्ती मनाउन यो वर्ष भव्य समारोह आयोजना गरिँदैछ,’ उनले भने, ‘धेरै संख्यामा विशिष्ट व्यक्ति आउने भएकाले समारोहको तयारी पनि भव्य छ ।’ समारोह आयोजनाका लागि दार्जिलिङ झकिझकाउ पारिएको छ । भानुभक्तको पूर्णकदको शालिक रहेको पर्यटकीय चौरस्ता क्षेत्रमा कार्यक्रम आयोजना गरिने र समारोहको राष्ट्रपति मुखर्जीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।

 कार्यक्रममा सहभागी साहित्यकार र विशिष्ट व्यक्तिले भानुभक्तको रामायण सामूहिक बाचन गर्नेछन्। भारतका विभिन्न क्षेत्रबाट आएका साहित्यकारबीच भानुभक्तको बारेमा चर्चा–परिचर्चा गर्ने कार्यक्रम रहेको उनले बताए । ‘देशभरबाट भेला भएका कलाकारहरूले समेत त्यस अवसरमा आफ्ना प्रस्तुति राख्नेछन्,’ उनले भने, ‘भानुजयन्तीमा राष्ट्रपति नै सहभागी हुनु चाहिँ अहिलेसम्मकै ठूलो उपलब्धि हुनेछ । यसले भानुभक्त आचार्यप्रति गरिमा बढाउने छ ।’

  केन्द्रीय, पश्चिम बंगाल सरकार र स्थानीय साहित्यकार साहित्यको कुनै भाषा–भूगोल नहुने आशयसाथ कार्यक्रम भव्य बनाउन लागिपरेको उनको भनाइ छ । कोलकाताको थर्ड लाइन क्रिएसन संस्थाले स्टेज व्यवस्थापन गर्दैछ । स्टेज वरिपरि अढाई सयभन्दा बढी बिजुली बत्ती जडान गरिँदैछ। जिटिएले पनि स्टेज सजाउन र सरसफाइमा सघाएको स्थानीय हिमालय दर्पणले लेखेको छ। प्रशासनले चौरस्तामा मंगलबारदेखि घोडा लैजान निषेध गरेको छ । चौरस्ता घुम्न आउने पर्यटकले घोडचढीको अनुभव लिने गर्थे।

 राष्ट्रपतिलगायत केन्द्र सरकारका प्रतिनिधि मंगलबार दिउँसो दार्जिलिङ पहाड आइपुग्ने छन्। मुख्यमन्त्री बेनर्जी सोमबार बेलुकै दार्जिलिङ पहाड आउने तय भएको छ । विशिष्ट व्यक्तिहरूको आगमनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले सुरक्षा व्यवस्था ‘अत्यन्त कडा’ बनाएको छ । दार्जिलिङ सहर, चौरस्ता, राज भवन, रिचमन्ड हिल र लेबोङ क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबार राष्ट्रपति मुखर्जी बागडुग्रा विमानस्थलमा ओर्लिएपछि स्थल सवारीमा दार्जिलिङ आउने छन् । मुख्यमन्त्री बेनर्जीले मुखर्जीलाई लेबोङ सेना छाउनीमा स्वागत गर्नेछिन् । राष्ट्रपति र राज्यपाल राज भवनमा बास बस्नेछन् ।

      जिटिएले पनि राष्ट्रपति मुखर्जीलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । हिमालय दर्पणका अनुसार बुधबार भानुभक्तको जन्मजयन्ती समारोहपछि राष्ट्रपति मुखर्जी भोलिपल्ट दार्जिलिङ टी एसोसिएसनको सभामा सहभागी भएर शुक्रबार फर्किनेछन्।

 

प्रकाशित: २७ असार २०७३ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App