८ वैशाख २०८१ शनिबार
राजनीति

तातोपानी नाका खुलाउन चीन सकारात्मक

काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उनले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताए।

'अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको छ', चिनियाँ रक्षामन्त्री चाङ वानक्वान।

गृह मन्त्रालयमा एको भेटमा निधिले तातोपानी नाका खुलाउन चिनियाँ रक्षामन्त्री चाङको ध्यानाकर्षण गराएका थिए। त्यसपछि चाङले तातोपानी नाका खुलाउन बेइजिङ पुगेपछि थप कुराकानी गर्ने बताएका थिए। २०७२ वैशाख १२ गतेको भूकम्पले तातोपानी नाकामा ठूलो क्षति पुर्‍याएपछि उक्त नाका बन्द गरिएको थियो। नेपालले पटकपटक प्रयास गर्दा पनि चीनले तातोपानी नाका खोल्न मानेको छैन।

'तातोपानी नाका खुलाउन पहल गर्न मन्त्री निधिले रक्षामन्त्री चाङको ध्यानाकर्षण गराउनुभयो', निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, 'त्यस अवसरमा चिनियाँ रक्षामन्त्री चाङले अरनिको राजमार्ग पुनर्निर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताउँदै आफू स्वदेश फर्किएपछि यस विषयमा थप कुराकानी गर्ने बताउनुभयो।'

असल छिमेकीका नाताले नेपालको विकासमा चीन सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता पनि चिनियाँ रक्षामन्त्रीले भेटमा व्यक्त गरेका थिए। नेपालको तीनदिने औपचारिक भ्रमणका लागि रक्षामन्त्री चाङ बिहीबार काठमाडौं आएका हुन्।

गृहमन्त्रीसँगको भेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउने विषयमा छलफल भएको दाहालले जानकारी दिए। 

गृहमन्त्री निधिले नेपाल र चीनबीच लामो समयदेखि गहिरो र आत्मीय सम्बन्ध रहिआएको उल्लेख गर्दै यस किसिमका भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका थिए। 'भेटमा गृहमन्त्रीज्यूले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउनुभयो', दाहालले भने। नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महŒवपूर्ण रहेको बताउँदै गृहमन्त्री निधिले सहयोगका लागि आभार प्रकट गरेका थिए। 

त्यस अवसरमा गृहमन्त्री निधिले सशस्त्र प्रहरी तालिम केन्द्र निर्माणका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। 

चिनियाँ रक्षामन्त्री चाङसँग शुक्रबार नै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले भेट गरेका थिए। जंगीअड्डामा भएको भेटमा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। त्यसअघि चाङले टुँडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए। जंगीअड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उनको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो।

'छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ व्यक्तिको यस किसिमको भ्रमणलेे दुई देशबीचको सैनिक सम्बन्ध सुमधुर एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,' सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०७३ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App