८ वैशाख २०८१ शनिबार
समाज

क्षयरोग र जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान

भक्तपुर – हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधि सेवन गरिरहेका छन् । 
विश्व स्वास्थ्य सङ्गठनले नेपालमा ४३ हजार क्षयरोगी भएको अनुमान गरे गरिए पनि नौ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक शरच्चन्द्र वर्माले बताए। 

माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको कीटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ । 

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले समयमै उपचार गरे सहज ढङ्गबाट निको हुने क्षयरोगलाई मानिसकै लापर्बाहीका कारण उपचार गर्न कठिन हुने जीवाणु विकसित हुँदै गएको बताए । उनका अनुसार नेपालबाटै क्षयरोग र यसको जीवाणु अन्त्य गर्न राष्ट्रिय अभियान सञ्चालन भइरहेको जानकारी पनि दिए । रसुवा– उपकरणको अभावले सहज रुपमा क्षयरोगका बिरामी पत्ता लगाउन समस्या परेको छ । 

निमित्त जिल्ला स्वास्थ्य प्रमुख इसा दाहालले स्थानीय अस्पतालमा खकार परीक्षण भए पनि रगतको परीक्षण गर्ने विशेष उपकरण नहुँदा रोगको अन्तिम निर्णण गरी क्षयरोगका बिरामीलाई छिटोभन्दा छिटो औषधि खुवाउन समस्या परेको बताए । 

जिल्लामा तीन महिलासमेत १२ क्षयरोगीले औषधि सेवन गरिरहेको बताइएको छ । दुई हप्तासम्म लगातार खोकी र ज्वरो आउने, खानाको रुचिमा कमी, तौल घट्दै जाने जस्ता लक्षण क्षयरोगको हुने भएकाले यस्ता सङ्केत देखा परेमा नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा तुरुन्तै सम्पर्क राख्न सबै रसुवावासीलाई आग्रह गरिएको छ । 

क्षयरोगीको पहिचान गर्न यस वर्ष सीमावर्ती क्षेत्र टिमुरेमा खकार परीक्षण गरिने योजना रहेको क्षयरोग निवारण अधिकृत विष्णुप्रसाद जैसीले बताए । 
बागलुङ– जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा शुक्रबार आयोजित शिविरमा ७७ जना कैदीबन्दीको खकार जाँच गरिएको छ । तीमध्ये ७२ जनाको रगतमा मधुमेहसमेत जाँच गरिएको कार्यालयका क्षयकुष्ठ ‘सुपरभाइजर’ देवप्रकाश घिमिरेले जानकारी दिए । 

धौलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले समूहमा मानिस बस्ने ठाउँ क्षयरोगका लागि जोखिमयुक्त हुने हुँदा कारागारमा क्षयरोग परीक्षण शिविर राखिएको बताए। 

बुटवल–गुल्मी जिल्ला भार्सेकी झनीमाया दर्लामीले लुम्बिनी अञ्चल अस्पतालको डट्स क्लिनिकमा आवासीय रुपमै उपचार गर्न थालेको करिब दुई महिना भयो । उनले गुल्मी, तमघास र बुटवलका विभिन्न ठाउँ र उपचार गराए पनि रोग निको हुनुभन्दा झनै बल्झियो, रोगले झनै गलाउँदै लग्यो । अन्तमा बुटवल अञ्चल अस्पतालमा रहेको क्षयरोग क्लिनिकमा पुगेर जाँच गराउँदा उनलाई जटिल खालको एमडिआर क्षयरोग देखा पर्यो । 
रोग पत्ता लागेपछि उनीलाई चिकित्सकले २४ महिना क्षयरोगको उपचार गर्नुपर्ने सल्लाह दिएपछि उहाँले बुटवल डट्स आवास गृहमा चिकित्सकको निगरानीमा बसेर नियमित औषधि सेवन गर्दै आएका छन् । 

दर्लामीले निक्कै चिन्तित भएर लुम्बिनी अञ्चल अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलसँग जिज्ञासा राख्नुभयो, “शाक्तिशाली औषधिले समेत काम नगर्ने एमडिआर टिबी के साँच्चिनै निको हुन्छ त ?” जवाफमा डा पौडेलले भने, “नियमित र चिकित्सकको निगरानीमा नियमित औषधि सेवन र जाँच गरेमा केही लामो समय लागे पनि रोग निको हुन्छ ।” 

बुटवलको डट्स क्लिनिकमा आर्घाखाँचीबाट उपचारार्थ आएर आवासीय रुपमै उपचार गराएका दिवाकर नेपाली यस्तै खालको जटिल क्षयरोग एक्सडिआर टिबीको उपचार गरेर निको भए । उनी २० महिना नियमित औषधि सेवन र नियमित जाँच गराएर अहिले पूर्ण रुपले निको भएर घर फर्कने तयारीमा हुनुहुन्छ । नेपालीले भने, “सरकारले उपलब्ध गराएको सेवाले म जस्ता धेरै बिरामीलाई सुविधा भएको छ तर जिल्लामा पनि यो सेवा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।” 

बुटवलमा जटिल क्षयरोगीलाई नियमित औषधि सेवन र चिकित्सकीय सेवा प्रदान गर्न पाँच वर्षदेखि डट्स आवासगृहको व्यवस्था गरिएको छ । आवासगृहमा अहिले पनि यस्तै लामो समय औषधि सेवन गर्नुपर्ने र जटिल खालका क्षयरोगी बस्दै आएको लुम्बिनी अञ्चल अस्पताल, बुटवल क्षयरोग क्लिनिकका प्रमुख सत्यराज शाक्यले जानकारी दिए । उनीहरुलाई सरकारले खान बस्नसहित मासिक रु दुई हजार ५०० समेत उपलब्ध गराउँदै आएको छ । 

रुपन्देहीमा पछिल्लो तथ्याङ्कानुसार क्षयरोगका नयाँ रोगी प्रतिएक लाखमा एक सय ४० जना पत्ता लाग्ने गरेको पाइएको छ । यस्तै क्षयरोगी निको हुने दरमा पनि उल्लेख्य प्रगति देखिएको छ । मृत्युदर भने प्रतिएक लाखमा चार जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ । 

यस्तै एक वर्षमा जिल्लामा एक हजार तीन सय ८६ क्षयरोगी पत्ता लागेका छन् । तीमध्ये जटिल खालका डिआर टिबीका बिरामी ४२ जना अर्थात् ११ प्रतिशत रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग निरीक्षक टीकाराम अधिकारीले जानकारी दिए । 

यस्तै क्षयरोगको उपचारलाई सर्वसुलभ बनाउन चालु आवमा ८० उपचार र २२ रोग निदान केन्द्र, २० सहरी उपचार केन्द्र तथा उपकेन्द्र, दुई डिआर टिबी उपचार केन्द्र एक एक डिआर टिबी निदान केन्द्र, जिन एक्सपोर्ट केन्द्र र डिआर टिबी आवास गृह छन् । 

उनका अनुसार जिल्लामा रोग निदानका लागि निःशुल्क खकार, कल्चर तथा जेन एक्सपर्ट जाँच, डट्स सेन्टरबाट औषधि, आवास र पुनःउपचार तथा मासिक पोषण खर्चको व्यवस्था गरिएको छ । 

वरिष्ठ छातीरोग विशेषज्ञ डा विष्णुप्रसाद पौडेलले सरकारले क्षयरोग न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरेर जनतालाई सेवा उपलब्ध गराएको बताउँदै यसको न्यूनीकरणका लागि सबै पक्ष सचेत हुन जरुरी रहेकामा जोड दिए । रोगसँग लड्न बेलैमा रोगको निदान र नियमित औषधि सेवन गरेमा अन्यमा सर्ने खतरा निक्कै कम रहेको जनाइएको छ । रासस 

प्रकाशित: १२ चैत्र २०७३ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App