१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विख्यात प्रशासकको आत्मवृत्तान्त

हरि अधिकारी

तेजबहादुर प्रसाईं (१९८६– ०७२) ०४६ सालको परिवर्तन अघिका प्रख्यात निजामती प्रशासक हुन्। पूर्वाञ्चलका सम्पन्न प्रसाईं घरानाका सदस्य तेजबहादुरले त्यतिबेलाको नेपाली समाजले राख्ने सोच र प्रचलनभन्दा विपरीत अंग्रेजी माध्यममा पढेर उच्च शिक्षा हासिल गर्ने अवसर पाएका थिए, जुन नेपाली समाजमा व्याप्त रूढीवादका दृष्टिले हेर्दा निकै प्रगतिशील मान्नुपर्ने हुन्छ। पिता पूर्णप्रसाद र काका लप्टन देवीप्रसादको सहयोग र प्रेरणाबाट खेती, कामत, आसामी, उठ्ती–पुठ्ती जस्ता सम्पन्न जमिनदार परिवारको कुलदीपकको जीवनचर्याका नियमित कार्य वा व्यापारबाट माथि उठ्न सफल भएका थिए उनी।

यो किताब पढ्दा महेन्द्रकालीन र वीरेन्द्रकालीन नारायणहिटीको कार्यशैली बीचको फरक राम्रोसँग थाहा पाउन सकिन्छ। महेन्द्रले दरबार प्रशासनलाई बडो दृढतापूर्वक आफ्नो पूर्ण नियन्त्रणमा राखेका थिए भने वीरेन्द्रको प्रशासन उनले भन्दा अरूले नै हाँकेका थिए भन्ने निचोडमा पुग्छ पाठक किताबमा परेको दरबारसम्बन्धी प्रसंग पढिसकेपछि।

एउटा विकासे परियोजनाको अनुसन्धानकर्ता साथै प्राध्यापक भएर सार्वजनिक सेवामा प्रवेश गरेका उनले कालान्तरमा बडाहाकिम, अञ्चलाधीश, महाप्रबन्धक र सचिवजस्ता उच्च ओहोदामा रही तीन दशकभन्दा लामो समय सेवा गरेका थिए। जुनसुकै तह र स्थानमा काम गर्दा प्रसाईंले आफ्नो छवि सदैव चमकदार नै राखेका थिए। उनलाई उनका अन्नदाता मुख्यतः राजा महेन्द्रले मात्र होइन, सहकर्मी एवं सेवाग्राहीले समेत एकजना दृढ, कर्तव्यनिष्ठ, क्षमतावान्, अनुशासित र स्वच्छ प्रशासकका रूपमा हेर्थे। कतिपय कारणले उनलाई नरुचाउनेले पनि उनको योग्यता र क्षमतामाथि प्रश्न उठाउने हिम्मत गर्दैनथे।

नेपालको प्रशासनिक सेवामा प्रवेश गर्नुअघि नै नेपाली कांग्रेसको राजनीतिमा माथिल्लै तहमा पुगिसकेका थिए प्रसाईं। काठमाडौंमा हाइस्कुल अध्ययनका बेला नै मुलुकमा सन्निकट भएको प्रजातान्त्रिक आन्दोलनलाई बल पुर्‍याउने हेतुले यिनको समेत प्रयत्नमा नेपाली साहित्य सम्मेलनको गुप्त ढंगमा गठन भएको थियो। अध्ययनकै सिलसिलामा बनारस पुगेपछि यिनी त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीले खोलेको ऐतिहासिक संगठन नेपाली छात्र संघमा पनि सक्रिय हुन पुगे। नेपाली छात्र संघ नै त्यो संगठन थियो, जसले राणाको जेल तोडेर फरार भई बनारस पुगेका क्रान्तिकारी नेता गणेशमान सिंहलाई आफ्नो संघर्षगाथा सुनाउने र क्रान्तिका लागि जमिन तयार गर्ने पहिलो मौका प्रदान गरेको थियो।

कडा रोग लागेर त्यसको उपचारका लागि लामो अवधिसम्म सेनेटोरियममा बस्नु परेकाले तेजबहादुरले २००७ सालमा निरंकुश राणाशासनविरुद्ध भएको क्रान्तिमा भाग लिन पाएनन्, जसको उनलाई आजीवन अपसोच रह्यो। आफ्नो आत्मकथाको यो किताबमा उनले यस कुराको उल्लेख मन फुकाएर गरेका छन्। क्रान्तिमा भाग लिन नपाए पनि तेजबहादुरको राजनीतिक जीवनको यात्रा सहज रूपमा अघि बढेको देखिन्छ। त्यतिबेलाको कांग्रेसका जल्दाबल्दा युवा, बिपी बाबुका विश्वासी विश्वबन्धु थापामार्फत यिनले कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए। पहिलो झमटमै इलाम जिल्ला कार्यसमितिको सभापति चुनिन सफल भएका यिनको थोरै समयपछि नै कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा पदोन्नति भएको थियो।

आफ्नो ठाउँका नामुद र सुपठित व्यक्ति तेजबहादुरको नेपाली कांग्रेसको राजनीति, प्रकारान्तरमा सम्पूर्ण देशकै राजनीतिमा धेरै ठूलो भूमिका हुने सम्भावना निश्चय नै थियो भन्ने दखिन्छ, यो किताब पढ्दा। तर नियतिले सायद उनका लागि अर्कै बाटो तोकिदिएको थियो। उनले कांग्रेसमै पदासीन रहेका बेला सिक्किमबाट आएका इमानसिंह चेम्जोङले परिकल्पना गरेको लिम्बुवान सुधार संघको प्रधानमन्त्री (महासचिवको अर्को नाम) भएर काम गर्न सुरु गरे, जसलाई कांग्रेस सभापति बिपीले पटक्कै रुचाएनन्। चेम्जोङ र प्रसाईंको लिम्बुवान सुधार संघसँग सम्बन्धित यस पुस्तकमा प्रकाशित दस्तावेज पढ्दा त्यो संघ अत्यन्तै सकारात्मक सोचका साथ त्यस भेगमा विद्यमान समाजिक, सांस्कृतिक, साम्प्रदायिक समस्याको शान्तिपूर्ण समाधान खोज्ने उद्देश्यले गठन भएको देखिन्छ। तर, कांग्रेस नेतृत्वले त्यसलाई अर्कै ढंगले हेर्‍यो र तेजबहादुरको राजनीतिक जीवन प्रश्नको घेरामा पर्न गयो।

त्यति हुँदाहुँदै पनि तेजबहादुरको राजनीतिक जीवनको रथ कुनै न कुनै प्रकारले अगाडि बढ्दो हो, यदि यिनका अभिभावक लप्टन देवीप्रसाद र इलामका कुमारदास श्रेष्ठले यिनलाई सधैँका लागि राजनीतिको बाटो त्याग्न प्रोत्साहन र फरक मार्गमा लगाइदिएका हुँदैनथे भने।

लप्टन साहेबले त यिनलाई राजनीतिको कुरूप पक्षबारे उपदेश दिएर हच्काइदिएका मात्र थिए, कुमारदासले त शिक्षासचिवका हैसियतले यिनलाई छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्न नयाँदिल्ली पठाएर यिनको राजनीतिक जीवनको ढोका सधैँका लागि बन्द गरिदिएका थिए।

भारत, नयाँदिल्लीको प्रसिद्ध शैक्षिक संस्था श्रीराम कलेजबाट एमकमको डिग्री लिएर फर्केको केही समय प्राज्ञिक र वित्तीय क्षेत्रमा काम गरेपछि तेजबहादुर तत्कालीन राजा महेन्द्रको कृपापात्र बन्न पुगे, जुन कृपा ०२८ सालको हिँउदमा राजाको निधन नहुँदासम्म कायम रह्यो। नयाँ राजा वीरेन्द्रका पालामा पनि प्रसाईंको हैसियत त्यति खस्केन तर दरबार प्रशासनमा पकड जमाउन सफल एकथरी भारदारको पेचमा परेर यिनले बेलाबेला हन्डर खानुपरेको भने देखिन्छ। यो किताब पढ्दा महेन्द्रकालीन र वीरेन्द्रकालीन नारायणहिटीको कार्यशैली बीचको फरक राम्रोसँग थाहा पाउँछ पाठकले। महेन्द्रले दरबार प्रशासनलाई बडो दृढतापूर्वक आफ्नो पूर्ण नियन्त्रणमा राखेका थिए भने वीरेन्द्रको प्रशासन चाहिँ उनले भन्दा अरूले नै हाँकेका थिए भन्ने निचोडमा पुग्छ पाठक किताबमा परेको दरबारसम्बन्धी प्रसंग पढिसकेपछि।

राजा महेन्द्रको अत्यन्तै नजिक रहेर काम गरेका तेजबहादुरले यस किताबको माध्यमबाट आफ्ना ती स्वामीको मुक्तकण्ठले भक्तिगान गरेका छन्, जसलाई यिनको गुणग्राहिता मान्न सकिन्छ। महेन्द्रमा भएका नैसर्गिक गुणहरूको खुलेर प्रशंसा गरिएको छ, यस आत्मवृत्तान्तमा। यसलाई नकार्न वा प्रश्नको घेरामा ल्याउन आवश्यक छैन। महेन्द्र कुशाग्र मेधायुक्त थिए होलान्। उनमा आफ्ना सेवकको गुणदोषको परख गर्ने क्षमता थियो होला। तर त्यसको के मतलब हुन्छ र!

नेपाली मात्र होइन, विश्वभरिका प्रजातन्त्रवादी जनताका निम्ति स्वर्गवासी राजा महेन्द्र त्यस्ता अति महŒवाकांक्षी राजा मात्र हुन्, जसले बन्दुकका बलमा, औचित्यपूर्ण कारण नदेखाई र औपचारिक अभियोग नलगाई १८ महिना पहिले मात्र प्रचण्ड जनादेशबाट सत्ता सम्हालेका प्रधानमन्त्री, उनको क्याबिनेटका सम्पूर्ण सदस्यहरू र सांसदहरूलाई समेत बन्दी बनाएर मुलुकमा सुरु भएको विकास– निर्माणको अभियानलाई ठप्प पारेका थिए। त्यसपछिका दिनमा महेन्द्रको एउटै मात्र ध्याउन्ना त्यो गलत कदमलाई सही ठहर्‍याउन कसरत गर्नु मात्र हुन पुगेको थियो। यस किताबका लेखकले यथार्थको यो पाटोतर्फ ध्यान नै दिएका छैनन्, त्यसैले उनको निचोड त्रुटिपूर्ण बनेको छ।

अरू कतिपय महेन्द्रभक्तले जस्तै प्रसाईंले पनि २०१७ पुस १ को काण्डका लागि प्रधानमन्त्री बिपीको अहंकारलाई जिम्मेवार ठहर्‍याउन खोजेका छन्। यसो गर्दा ती सबैले त्यो ऐतिहासिक यथार्थको बेवास्ता गरेका छन्, जसको आलोकमा हेर्ने हो भने देखिन्छ, प्रम बिपीले राजालाई खुस राख्न भरमग्दुर प्रयत्न गरेका थिए। निदाएकालाई उठाउन सकिन्छ, बहाना मात्र गरेकालाई सकिँदैन भनेझैँ जसरी पनि बिपीलाई हटाउन खोजिरहेका महेन्द्र रिझिएनन्।

तेजबहादुर बिपीका पनि त्यत्तिकै ठूला प्रशंसक थिए र थिए नेपाली कांग्रेसका अरू कतिपय नेताका नजिक, गाह्रो–साँघुरोमा मद्दत गर्न पनि तयार। राजा महेन्द्रका निकट सेवक भए पनि पञ्चायतमा हालिमुहाली गर्न पुगेका मण्डले तŒवले यिनलाई धेरैपटक कांग्रेसीको आरोपमा दुःख दिएका रहेछन्। तर यिनको कर्तव्यपरायणता र स्वच्छताका कारण यिनलाई नोक्सान पार्न भने सकेका रहेनछन्।

आत्मकथा भएकाले स्वाभाविक रूपमा यो ग्रन्थमा लेखकले आफ्नो पारिवारिक पृष्ठभूमि, प्रेम र दाम्पत्य जीवन, पेसागत अनुभव र अनुभूति, घर–परिवार, स्वजन र सहकर्मीबारे अनेक प्रसंग लिपिबद्ध गरेका छन्। वंशवृक्षसम्बन्धी पुराना कुराबारे पर्याप्त खोज गरिएको देखिन्छ, जसले पुस्तकको महŒव बढाएको छ। समग्रमा यो किताब पठनीय मात्र होइन, संग्रहणीय पनि बनेको छ भन्न कन्जुस्याइँ गर्नुपर्दैन। 

 

पुस्तक :  फर्केर हेर्दा

विधा :  तेजबहादुर प्रसाईंको आत्मकथा

प्रकाशक :  मोहनबहादुर प्रसाईं

सम्पादक :  महामुनीश्वर आचार्य

मूल्य  रू. ३४०/–

प्रकाशित: १२ चैत्र २०७३ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App