८ वैशाख २०८१ शनिबार
अन्य

एसएलसी नोस्टाल्जिया

डा. सुमनराज ताम्राकार

थाहा पाएँ, बजारनजिकैको सरकारी माविमा यसपटक सरकारी र निजी गरी आठ स्कुलका विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको रहेछ। सरकारी भईकन पनि परीक्षा केन्द्र तोकिएको माविमा ठीकैको ढलानयुक्त दुईतले भवन थियो, वरिपरि पक्की पर्खालले घेरिएको।

०७२ सालको एसएलसी। म परीक्षा केन्द्र परिसर पुग्दा परीक्षा सकिन १५ मिनेट बाँकी रहेको घन्टी बज्ने क्रममा थियो। त्यहाँ चरोमुसो केही थिएन। म करिब तीन दशकअघिको समयमा पुगेँ। सिरानचौर नेरको मेरो हाइस्कुलको दुईतिहाइ भाग काँडेतारले बेरिएको थियो। एसएलसी परीक्षाका बेला चिट दिनका लागि काँडेतारबाहिर अभिभावक आफ्ना दलबलसहित उपस्थित हुन्थे। त्यसमध्ये एकाध शिक्षण पेसाका, जसले एसएलसी तहका जहाँसुकैका, जतासुकैका समस्या हल गर्न सक्ने क्षमता राख्थे, यस क्रममा कहिले मुसा–बिरालो त कहिले अलि उग्र रूप लिई रणसंग्राममै परिणत हुनबेर लाग्दैनथे।

खेलमा त विभिन्न तौल समूहमा वर्गीकरण गरी प्रतियोगिता हुन्छ। यो एसएलसीमा कति पक्षपाती व्यवहार? अंग्रेजी माध्यममा पढे–बढेका विद्यार्थी र एउटा साधारण प्यासेज पनि कनीकुथी अर्थ्याउनुपर्ने सरकारी परीक्षार्थीबीच एकै प्रतिस्पर्धा, समान प्रश्नपत्र।

यहाँको परिस्थिति पृथक नै लाग्यो। अर्थात् म अहिले पुगेको याने कि मेरो छोराले अहिले एसएलसी दिँदै गरेको परीक्षाकेन्द्र बाहिरको माहोल फरक थियो, चरोमुसो केही थिएन।

लाग्थ्यो, सबै परीक्षार्थीका अभिभावक निकै व्यस्त थिए, जसकारण परीक्षा केन्द्रसम्म आई आफ्ना सन्तानलाई हौसला प्रदान गर्ने औपचारिकता निभाउने समय थिएन। वा, तिनीहरू सबै आ–आफ्ना सन्तानको क्षमताप्रति निश्चिन्त थिए। नयाँ मूल्यांकन पद्धतिअनुसार ए वा ए प्लस ल्याउनेमा ढुक्क थिए।

म परेँ भीरमा फलेको फर्सीजस्तो, चिट चोराउने उद्देश्य नै होइन मेरो, मानसिक ढाडस मिल्छ कि भन्ने अभिप्रायले मात्र पुग्थें दिनहुँजसो। आज म परीक्षा केन्द्र परिसर पुग्दा भित्रबाट पनि कोही पनि परीक्षार्थी निस्किसकेको थिएन। अनुमान लगाएँ– या त प्रश्न निकै गाह्रो आएको छ, परीक्षार्थीले तारा देखिरहेका छन् वा निकै सजिलो छ र लेख्यालेख्यै छन्।

एसएलसी परीक्षाको सातौँ दिन थियो, ऐच्छिक गणितको पालो। करिब पाँच मिनेट बाँकी छँदा दुई विद्यार्थी निस्किए। तिनीहरूको चालढाल र लवाइ हेर्दा सरकारी स्कुलबाट परीक्षा दिन आएका हुन् भन्ने अनुमान लगाउन गाह्रो भएन। नीलो पाइन्ट र आकाशे रंगको सर्ट त नेपालभरिका सरकारी स्कुलका सिग्नेचर ड्रेस कोड हो भन्दामा फरक पर्दैन। एकाध ठाउँमा आकाशे रंगका ठाउँमा सेतो सर्ट हुन सक्छ।

परीक्षा केन्द्रको मूलगेटबाट बाहिरिनेबित्तिकै मैले ऐच्छिक गणितका प्रश्नमाथि सरसर्ती आँखा दौडाएँ। मेरो छोराले विगत तीन–चार महिना तयारी क्रममा अभ्यास गरेभन्दा प्रश्न फरक र गाह्रो लाग्यो। कतिपय प्रश्न मनमनै समाधान गरेँ।

मेरो प्रकृतिअनुसार मेरो ध्यान केवल ती प्रश्नमा मात्र अडेन। मैले ती परीक्षार्थीसँग बुझेँ। उनीहरूलाई योपटकको प्रश्न तुलनात्मक रुपमा सजिलो लाग्यो रे। मैले क्रिकेटको भाषामा सोधेँ, त्यसो भए कति रन (अंक) बटुल्न सकिएला?

तिनीहरूको आशा सुन्दा म त छाँगाबाट खसेझैं भएँ। उत्तीर्णांक ३२ हो, उनीहरू ४० त कसो नकट्ला भन्छन्। त्यसो त तिनीहरूका अभिभावक त्यहाँ थिएनन्, कतै मेलापातमा हुँदा हुन्। त्यहाँ भएको भए आफ्ना सन्तानको कन्पि्कडेन्सले अवश्य पनि गर्व महसुस गर्थे होला।

ती विद्यार्थी भोलिको अन्तिम सैद्धान्तिक विषयको तयारी गर्नुछ भनेर मेरो नजरबाट ओझेल पर्दै गए।

मेरो व्यग्रता अनि छटपटी यसमा थियो– आजको विषयमा मेरो सन्तानले ९० माथि अर्थात् ए प्लस ल्याउला कि नल्याउला! त्यसैले निधारमा चिन्ताका रेखा बोकेरै परीक्षा केन्द्र परिसरमा ढुकिरहेँ, छोरा कहिले बाहिर निस्केला भनेर।

ती सरकारी स्कुलमा पढेका विद्यार्थी भेटेपछि म एकछिन सोचमग्न भएँ। ४० कटाउँछु भन्दा पनि कति निर्धक्क! तिनीहरूको अनुहारमा सन्तोषको भाव दौडिरहेको थियो। कहाँको ४० माथि (डी प्लस), कहाँको ९० माथि (ए प्लस)। ९० माथि नल्याउला कि भन्ने उग्र चिन्ता, ४० माथि ल्याउँछु भन्ने निश्चिन्तता।   मानिसको आशामा किन यति सारो फरक?

फेरि फ्ल्यासब्याकमा पुगें, मेरो एसएलसीताका ९, १० का पाठ्यक्रमका आधारमा प्रश्न सोधिएको हुन्थ्यो। मैले ९, १० कक्षा पढ्दा अनिवार्य गणित, ऐच्छिक गणित पढाउने शिक्षक आउने, जाने भइरह्यो। निरन्तर कहिल्यै पढ्नै पाइएन। हामीले एसएलसी राम्रो अंक ल्याउने भनेकै यी दुई गणित विषय हुन्। उसबेला कम्प्युटर विषय छँदै थिएन। गाउँका सरकारी स्कुलका विद्यार्थीको अंग्रेजी त्यसै कमजोर। नेपाली आफ्नै राष्ट्रिय भाषा भईकन पनि खै के, खै के? साइन्स साइन्स नै भैगो, ल्याब उर्फ प्रयोगशाला कुन जन्तुको नाम हो भन्नुपर्ने थियो। कतिपय प्राक्टिकल गर्न पाए पनि के के नै हुन्थ्यो। भूगोल, सामाजिक तथा स्वास्थ्य शिक्षामा औंला, हात दुख्ने गरी पानाका पाना लेखे पनि नम्बर पाउनै गाह्रो।

जाँचकी सरले पनि स्केलले नापेर अंक दिन्छन् कि आफ्नो मुडअनुसार गर्छन्, भेउ पाउनै नसकिने। त्यसमाथि जाँचकीको कापी जँचाइबारे अनेक किस्सा सुन्न पाइने बजारमा। कोही जाँचकी हुन्छन् रे, अल्छी पाराका, टाढाबाट आफ्नो कोठाको टेबुल वा खाटमा उत्तरपुस्तिका फ्याँक्छन्। अनि, टेबुल वा खाटमा अडिए जति पास, भुइँमा झरेजति फेल। अर्काथरी जाँचकी यस्ता हुन्छन् रे– कापी जाँच्ने बेला श्रीमतीसँग झगडा परेको छ र रिसाएका छन् भने थोरै नम्बर दिन्छन्। यस्तो अनेका किस्सा सुन्न पाइन्थ्यो।

त्यो बेला सदरमुकामको जिल्ला शिक्षा कार्यालयमा वा कुनै परीक्षा केन्द्र विशेषमा बसेरै कापी जाँच्ने सिस्टम थिएन। जाँचकीले कापी जाँँच्न घरमै लान्थे।

म फेरि फर्किएँ, आजकै वास्तविकतामा। तिनीहरूका अनुहारमा मेरो अनुहार पो देखें। तिनीहरूको वर्तमानमा मेरो विगत पाएँ। लाग्यो, क्यालेन्डरका पाना मात्र खरर पल्टिएको हो, ४० को दशकमा पुगेको हो।

एक मन सन्तोषको सास फेरें, तिनीहरूले एसएलसीका लागि भ्याएसम्म तयारी गरेका होलान्। यिनीहरू पनि कुनै दिन सफल, सक्षम मान्छे बन्नेछन्। यिनीहरूका सन्ततिले चाहिँ तुलनात्मक रूपमा अलि गतिला स्कुलमा पढ्न पाउनेछन्। त्यो बेला आफ्नो सन्ततिको तयारीप्रति ढुक्क भए पनि मजस्तै विगतलाई सम्झी परीक्षा केन्द्र धाउनेछन्।

परीक्षा केन्द्रबाट बाहिरिने परीक्षार्थीको ढर्रा हेर्दा यो चाहिँ सरकारी, यो निजी भनेर ठ्याक्कै चिनिन्थ्यो। निजी स्कुलका विद्यार्थी बकाइदा स्कुल बसमा ल्याइन्थे, फर्काइन्थे। सरकारी स्कुलका विद्यार्थी टाढा–टाढाबाट हिँडेर आउँथे, हिँडेरै फर्कन्थे। परीक्षा केन्द्रसम्म आउन–जानमै कति समय खर्चिन्थ्यो, त्यसको लेखाजोखा थिएन।

कराते, भारोत्तोलन, बक्सिङ, जुडो लगायत खेलमा त विभिन्न तौल समूहमा वर्गीकरण गरी प्रतियोगिता हुन्छ। यो एसएलसीमा कति पक्षपाती व्यवहार? अंग्रेजी माध्यममा पढे–बढेका विद्यार्थी र एउटा साधारण प्यासेज पनि कनीकुथी अर्थ्याउनुपर्ने सरकारी परीक्षार्थीबीच एकै प्रतिस्पर्धा, समान प्रश्नपत्र।

मधेसको परिदृश्य झनै फरक छ, योपटक। आधाभन्दा बढी समय स्कुल बन्द भयो। आठ कक्षा पासवाला पार्टी नेताले आह्वान गरेको आन्दोलनमा सहभागी हुनुपर्‍यो, यी भविष्यका कर्णधार। सुनौलो भविष्यका लागि भनेर नारा दिएर आफ्नो स्वार्थसिद्धका लागि 'अलिअलि कुर्बानी त यिनीहरूले पनि गर्नुपर्छ' भन्छन् नेता भनाउँदाहरू।

मैले जति पनि कथा बुनेँ, त्यही पाँच मिनेटको भलाकुसारीकै परिणाम हो। पाँच मिनेट त्यति लामो अवधि होइन तर म चाहिँ डिभिडी प्लेयरजस्तै भइरहेको थिएँ, रिप्ले भएर घरीघरी चालीसको दशकमा पुगिराख्थें।

सबैभन्दा ठूलो हौवा त आइरन गेटकै रहेछ। थाहा छैन, किन भनिन्छ आइरन गेट अर्थात् फलामेढोका? कडा वा गाह्रो भएर पो हो कि? आफ्नो भावी जीवन कोर्ने प्रस्थान बिन्दुलाई त सुनौलो ढोका उर्फ गोल्डेन गेट पो भन्नुपर्ने? न सुनभन्दा फलाम चाहिँ कडा हुने भएर पो यसो भनिएको हो? जेहोस्, योपटक डी ग्रेड नै आए पनि एसएलसी फेलको लेबल लाग्नेछैन।

विष्णु पहरी, सन्तोष ब्लोन मैले आज भेटेका एसएलसी परीक्षार्थी हुन्। तीन दशक अगाडिको समयलाई मान्ने हो भने मेरो प्रतिरूप भन्दा फरक नपर्नेहरू। देशभरिका सरकारी स्कुलका प्रतिनिधि पात्र। तिनीहरूको फेस भ्यालुबाट थाहा हुन्छ सरकारी शिक्षाको स्तर।

शिक्षाविद्हरूको अनुमानलाई सही मान्ने हो भने योपटकको अक्षरांक ग्रेडिङ सिस्टमले अबदेखि एसएलसीको रिजल्टलाई कारण मानेर रूखको टोड्को, बुइँगलको दलान, कोठाको पंखा, मुसाको विषको प्याकेटलाई अन्तिम टार्गेट मानी पछ्याउनेछैन। हेरौं, मौसम तथा जलवायु विज्ञान विभागको मौसमी भविष्यवाणी जस्तो पो हुने हो कि यी शिक्षाविद्हरूको अनुमान?

प्रकाशित: १२ चैत्र २०७३ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App