coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारका कारण भ्रष्टाचार र बेथिति बढ्यो: उपेन्द्र यादव

काठमाडौं- संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै उनले सरकारको विकल्प खोज्नु पर्ने आवश्यकता रहेको बताएका छन्।  'मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ,' यादवले भने।

उनले एमाले आफूहरुको स्थायी सत्रु नभएको र राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले मुलुकमा बेथिती बढेको र एनसेलसँग अर्बौं लाभकर उठाउन नसकेको, र सरकारले आफ्ना कार्यकर्ताको नाममा करोडौं पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाए।

एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानविन गर्नुपर्ने उल्लेख गर्दै यादवले भने,‘यो ठूलो भ्रष्टाचार हो, अहिले अख्तियारलाई थन्क्याईहाले, अब कसले छानविन गर्छ ? मुलुकलाई लुटेर चुनाव गर्न खोजिँदैछ।’

यादवले सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भने,‘कहीँ नभएको जात्रा नेपालमा भनेजस्तै भएको छ, स्थानीय निर्वाचनको नाममा अहिलेको सरकारले उल्टो बाटो पछ्याईरहेको छ, सुल्टो बाटो भनेको पहिले केन्द्रीय संसदको चुनाव गर्नुपर्छ।’

उनले सरकारले स्थानीय तहको निर्वाचन पहिले गर्न खोजेर संघीयता र गणतन्त्रलाई सखाप पार्न षड्यन्त्र गरिरहेको आरोप लगाए। यादवले भने,‘पहिले संसदको निर्वाचन हुनुपर्छ, त्यस पछि प्रदेशको र अन्त्यमा स्थानीय तहको निर्वाचन हुनुपर्छ, अहिलेको संविधानले मधेसी, जनजाती, थारु, संघीयता पक्षधर र सिमाङ्कनको विषयलाई उपेक्षा गरेको छ, यो संविधान पुर्नलेखन नगरिएसम्म मुलुकको भलो हुँदैन।’

यादवले संविधान संशोधन नगरी समस्याको समाधान हुन नसक्ने बताउँदै संशोधनमार्फत समाधान गर्ने हो भने कुनै पनि विषयलाई थाँती राख्न नहुने बताए। उनले भने,‘कुनैपनि विषयलाई थाँती राख्नुहुँदैन्, यसले समस्यालाई झनै बल्झाउँछ, यदि सीमांकनको विवाद समाधान गर्नको लागि आयोग गठन गर्ने हो भने, यसलाई शक्तिशाली आयोग बनाउनुपर्छ, यदि सरकारले चाहेको हो भने संघीय आयोगलाई जिम्मा दिओस् न त?’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार टाउकोले टेकेर हिँडिरहेको आरोप लगाउँदै भने,‘ टाउकाले यात्रा कहाँसम्म गर्न सक्छ ?, हामी खुट्टाले हिँड्नको लागि सुझाव दिईरहेका छौँ, हिजो राजाले पनि यस्तो निर्वाचन नगरेका होईनन्, त्यस्तै आज सरकारले सेना परिचालन गरेर निर्वाचन गर्नु भनेको मुलुकलाई झन भड्खालोमा जाक्ने काम हो।’ यादवले सरकारले सेना लगाएर चुनाव गराउन खोजे त्यो प्रत्युत्पादक हुने चेतावनी दिए।

प्रकाशित: १२ चैत्र २०७३ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App