८ वैशाख २०८१ शनिबार
ब्लग

जातीयताको विष

हालसालै नेपाली सेनाका एक अधिकृतले लेखेको 'के नेपाल साउथ सुडानजस्तो हुनसक्छ?' शीर्षक विश्लेषणले मलाई पनि सोच्न बाध्य बनाएको छ। सुडानमा जातीय लडाइँले बीस लखभन्दा बढीले ज्यान गुमाइसकेको र लाखौँ नागरिकहरु अझै पनि शिविरमा बस्न बाध्य छन्। हाम्रो देश जुन परिस्थितिबाट गुज्रिरहेको छ, यसले हामी पनि साउथ सुडानको हबिगत ब्यहोर्नुपर्ने आँकलन गर्न सकिन्छ। तर त्यो स्थिति आउनु हामी सबैका लागि दुर्भाग्य हुनेछ।

तराईदेखि हिमालसम्मका जनताले देशलाई अति नै माया गर्छन्। कञ्चनपुर घटनामा ज्यान गुमाएका गोविन्द गौतमदेखि सुस्तामा हरेकदिन भारतीयसँग लड्ने नेपाली दाजुभाइबाट पनि देशको सर्वभौमसत्तामाथिको हस्तक्षेप असह्य हुने पुष्टि हुन्छ। नेपाली जनतालाई आफ्नो देशको स्वाभिमान सबै भन्दा प्यारो छ, जुन कुराको लागि हाम्रो इतिहास पनि साक्षी छ।

यति हुँदाहुदै हामी उद्योगतिमा छौं। हामी पनि साउथ सुडानको बाटोमा लम्किरहेका छौं। जब देशमा आफ्नै दाजु-भाइहरु एकापसमा लड्न थाल्छन, तब देश गृहयुद्धमा फस्छ। त्यसको प्रभाव प्रत्यक्षरुपमा देशमा विकासमा पर्छ।

नेपालमा जातीय विभेदको कारणले मात्र देश पछि परेको भन्ने गर्छौं। बाहिरबाट हेर्दा त्यो केही हदसम्म सत्य पनि देखिन्छ। किनकि अहिलेसम्म एउटै वर्गले देश चलाइरहेका छन्। तर देशमा आर्थिक समृद्धि किन हुन सकिरहेको छैन? प्रश्नले यो कुराको पुष्टि गर्छ।

वास्तवमा भन्ने हो भने यहाँ जातभन्दा पनि दूरदर्शी नेताको अभावले यस्तो भइरहेको छ। विश्व इतिहास केलाउने हो भने हामीभन्दा धेरै पछि बनेका देशहरुले आर्थिक विकासमा कायापलट गरेका छन्। त्यहाँका नागरिकहरुले समान अधिकारको महसुस गरिरहेका छन्। 

हाम्रा नेताहरु भने यतिसम्म निच भए कि राजनीतिक स्वार्थले मानवता बिर्सेका छन्। नेपाली नेपालीबीच जातीयताको बिष घोलिदिएका छन्। जातीयता आफैँमा गलत कुरा भने हैन, देशमा रहेका नागरिककको आफ्नै भेषभुषा, संस्कृति हुनु त राम्रो कुरा हो तर देश विकास नहुनुको कारण जातीयता नै हो भन्नुचाहिँ गलत हो। जातीयताको कारण कहीँ कसैमा विभेद गरिन्छ भने त्यो गलत कुरा हो।

जातीयता नै समस्या हो?

हाम्रो देशमा जातीयता नभएर गरिबी समस्या हो। धेरै नेपाली छन् जसलाई दुई छाक टार्न धौधौ छ। गरिबीले जुम्लाका बाहुनदेखि लिएर पूर्वको राई अनि तराईको यादवलाई वैदेशिक रोजगारमा जान बाध्य पारिएको छ। नेताहरुले देशमा जातभन्दा पनि वर्गको विभेद छ भन्ने कुरा नबुझेका हैनन् तर निजी स्वार्थको लागि माथिको जात ले नै तिमीहरुलाई पछि परेका हुन् भन्ने भ्रम फैलाइएका छन्। सोझा जनताहरु त्यही कुरा स्वीकार गर्दै एकआपसमा रगतको प्यासी बनेका छन्।

समस्याको समाधान पनि पक्कै छ। तर जुन बेला वर्गबीचको विभेद अन्त्य गर्नपर्ने हो, त्यही बेला हामी जातीयतामा लडाइँमा अल्झिन्छौं। जातको नाममा हुने विभेदका लागि देशमा कानुन बनेको छ तर त्यसको कार्यन्वयन हुन सकेको छैन। कसैले जातीयताको आधारमा कसैको आत्मासम्मानमा ठेस पुर्‍याउँछ वा अधिकारबाट वञ्चिन गर्छ भने उसलाई सजायको भागिदार पनि बनाउनुपर्छ।

म आफैँ समाजले कथित तल्लो जातिको नाम भिराएको साथीहरुको घरमा बसेको छु। सँगै खाएको छु र उनीहरुमा पनि धेरैभन्दा धेरै प्रतिभा रहेको महसुस गरेको छु। त्यसैले मलाई लाग्छ प्रतिभा भन्ने कुरा जातिम हैन अवसरसँग जोडिएको हुन्छ। हामी सबैजना उत्तिकै प्रतिभावान छौं, बस हामीलाई अवसरको कमिमात्र छ।

शिक्षा नै यस्तो अस्त्र हो जसले हामीलाई अवसरको ढोका खोलोदिन्छ। शिक्षाले हामीलाई किताबी ज्ञानमात्र हैन सभ्य जीवन बाच्न सिकाउँछ, हामीलाई सहीगलतमा फरक सिकाउँछ। मलाई लाग्छ अब आउने हाम्रो भावी सन्ततीमा जातीय विभेद् हराउदै जानेछ किनकि म मेरो भावी सन्ततीलाई त्यही किसिमको शिक्षा दिनेछु।

त्यसैले हामी सबै नागरिक देशप्रेमी छौं। हामी सबै देशको हित अनि प्रगति चाहन्छौं। त्यसैले आफ्नो साथीभाइ, बुबा-आमा सबैलाई जातीय विभेदको अन्त्यको लागि जानेको कुरा बाडौं। सामाजिक सद्भाव भड्काउने कुनै पनि किसिमको कुरालाई बढावा नदिऊँ। कहीँ कतै जातीय विभेद पाउनुभयो भने त्यसलाई कानुनी दायरामा ल्याउ। आफूलाई शिक्षित बनाउ अनि वर्गबीचको खाडललाई पुर्ने काम गरौं।

प्रकाशित: १३ चैत्र २०७३ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App